ad ad

निर्वाचन विशेष


चुनावले छोएन छाङरु र तिंकरलाई, नेपाली भूमिमै जान अझै भारतको अनुमति

चुनावले छोएन छाङरु र तिंकरलाई, नेपाली भूमिमै जान अझै भारतको अनुमति

गोकुल जोशी
बैशाख १४, २०७९ बुधबार १९:३२, महेन्द्रनगर

स्थानीय तह चुनावको प्रक्रिया सुरु भएसँगै गाउँ–गाउँमा चुनावी माहोल तातेको  छ। उम्मेदवारहरु गाउँ–गाउँमा गएर मतदाता रिझाउनमा व्यस्त छन्। 

देशभर नै चुनावी माहोल तातेको बेला भारतीय अतिक्रमित कालापानी क्षेत्र अन्तर्गत पर्ने दार्चुलाको व्याँस गाउँपालिका–१ स्थिती छाङरु, तिंकरबस्ती भने सुनसान छन्। 

बिकटबस्ती छाङरु र तिंकरमा कुनै पनि राजनीतिक कार्यक्रम आयोजना गरिएका छैनन्। देश चुनावमय भएका बेला यी बस्तीलाई अझै चुनावले छोएको छैन। चिसो छल्न छाङरु र तिंकरबासी सदरमुकाम खलंगा झरेकाले अहिले गाउँ मानवविहीन भएका हुन्। 

‘छाङरु र तिंकरबासी खलंगामा छन्। त्यसैले अहिले त्यहाँ कुनै कार्यक्रम भएका छैनन्,’ नेपाली कांग्रेसबाट व्याँस गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका दिलिप बुढाथोकीले नेपालखबरसँग भने, ‘अन्य ठाउँको मतदाता भेटघाट गरिरहेका छौँ।’ 

तिंकर र छाङरुका सौका समुदायका बासिन्दा हिउँदका छ महिना पशुचौपाया समेत ल्याएर खलंगा बसाइँ सर्छन्। स्थानीय भाषामा उनीहरु यसलाई ‘कुञ्चा’ सर्नु भन्छन्।

अहिले तिंकर र छाङरुबासीका घरमा ताल्चा लागेका छन्। अब उनीहरु छाङरु र तिंकरतर्फ जाने तयारी गर्न थालेका छन्। नेपाली भूमिमा बाटो नहुँदा भारतीय पक्षको अनुमति माग गरेर छाङरु र तिंकरबासीलाई सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता छ। 

‘छाङरु र तिंकर जानका लागि स्थानीयले अनुमति माग गरेका छन्। हामीले ७÷८ सय अनुमतिका लागि धार्चुला प्रशासनलाई सिफारिस गरेका छौँ,’ दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले नेपालखबरसँग भनिन्, ‘६०-७० प्रतिशत अनुमतिको काम सकिएको जानकारी प्राप्त भएको छ।’

सदरमुकाम झर्न नेपाली बाटो प्रयोग गरे चार दिनसम्म जोखिमपूर्ण पैदल यात्रा गर्नु पर्ने हुन्छ। भारतले गाडी गुड्ने बाटो निर्माण गरेकोले सो बाटोबाट एक दिनमै सदरमुकाम खलंगा पुग्न सकिने स्थानीय बताउँछन्।

खलंगादेखि छाङरुसम्म नेपाली भूमिबाट सेनाले बाटो निर्माण गरेको छ। तर उक्त बाटो निकै जोखिमपूर्ण छ। त्यसैले छाङरु र तिंकरबासी आफ्नै भूमि जानका लागि भारतको अनुमति माग्नुपर्ने बाध्यतामा छन्।

स्थानीय तह निर्वाचनका लागि व्याँस गाउँपालिका–१ मा दुई निर्वाचन केन्द्र तोकिएका छन्। निर्वाचन कार्यालय दार्चुलाका अनुसार तिंकरको मोती महिला संघ आधारभूत विद्यालय केन्द्रमा २३१ र छाङरुको कैलाशवती आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ जना मतदाता रहेका छन्।

छाङरु र तिंकरमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। 

‘हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिन्छ। गाउँपालिका केन्द्रमा मतगणना हुन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी साउँदले भनिन्।

दार्चुलामा भएको कांग्रेस र माओवादी केन्द्रको चुनावी गठबन्धन अनुसार व्याँस गाउँपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख माओवादीको भागमा परेको छ। कांग्रेसबाट दिलिप सिंह बुढाथोकी अध्यक्षमा दोहोरिन चाहेका छन्। 

उपाध्यक्षमा माओवादीका विनोद सिंह कुँवरको उम्मेदवारी परेको छ। यस्तै, नेकपा एमालेका तर्फबाट अध्यक्षमा मंगलसिंह धामी र उपाध्यक्षमा चन्द्रा कुँवरको उम्मेदवारी परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .