ad ad

निर्वाचन विशेष


देउवाकै गृहप्रदेशमा सत्ता गठबन्धन छिन्नभिन्न (नौवटै जिल्लाको विवरण)

देउवाकै गृहप्रदेशमा सत्ता गठबन्धन छिन्नभिन्न (नौवटै जिल्लाको विवरण)

गोकुल जोशी
बैशाख १४, २०७९ बुधबार ९:१०, महेन्द्रनगर

पाँच दलीय सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा गठबन्धन छिन्नभिन्न भएको छ। 

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनलाई निरन्तरता दिने समझदारी गरेका दलबीच भागबन्डामा सहमति नजुटेको हो। 

भागबन्डामा सहमति जुटेका केही ठाउँमा दोहोरो उम्मेदवारी दिएर सहमति कार्यान्वयन हुन सकेको छैन। 

‘गठबन्धन गर्ने सहमति भएका केही ठाउँमा दोहोरो उम्मेदवारी परेको छ’, नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी इन्चार्ज गरिमा शाहले भनिन्, ‘त्यसैले सहमति कार्यान्वयन हुन नसकेको छैन। छलफल चलिरहेकाले सहमति कार्यान्वयनमा हामी दृढ छौँ।’

प्रदेशका ९ जिल्लामध्ये कैलाली र बझाङमा मात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ। कञ्चनपुर, डोटीमा एकीकृत समाजवादी र माओवादी केन्द्र तथा दार्चुलामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ।

अन्य जिल्लामा पालिकापिच्छे एकीकृत समाजवादी–माओवादी केन्द्र, माओवादी केन्द्र–कांग्रेस, कांग्रेस–एकीकृत समाजवादी गठबन्धन भएको छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको बझाङ र कैलालीका केही ठाउँमा तालमेल भाँडिएको छ ।

कैलाली
सुदूरपश्चिमको एक मात्र उपहानगरपालिका रहेको कैलालीका स्थानीय तहमा सत्ता गठबन्धनलाई चुनावमा निरन्तरता दिन दलहरू सहमत छन्। 

गठबन्धनको प्रदेशस्तरीय नेतृत्वको समझदारीमा गरिएको भागबन्डामा असहमति जनाउँदै स्थानीयस्तरका नेताहरूले गठबन्धन भाँडेका छन्। 

१३ स्थानीय तहमध्ये ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ। ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्रले पाउने र २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीले पाउने सहमति तीन दलले गरेका थिए।

केन्द्रको सहमतिअनुसार धनगढी उपमहानगरपालिकामा उम्मेदवारी परेको छ तर अन्य पालिकामा यो कार्यान्वयन भएको छैन।

भागबन्डाअनुसार नेपाली कांग्रेसको भागमा परेको जानकी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पनि उम्मेदवार उठाएको छ।

जानकीमा अध्यक्षमा कांग्रेसका परशुराम कठरियाले उम्मेदवारी दर्ता गराउँदा माओवादी केन्द्रले विष्णुकुमारी बमलाई उम्मेदवार बनाएको छ। यहाँ माओवादी केन्द्रले उपाध्यक्ष पाए पनि कांग्रेसबाट उमा महतोलाई उठाएको छ भने माओवादी केन्द्रले जयबहादुर दहित र एकीकृत समाजवादीकी चन्द्रादेवी कामीलाई उम्मेदवार बनाएको छ।

एकीकृत समाजवादीको भागमा परेको चुरे गाउँपालिकामा पनि गठबन्धन भाँडिएको छ। चुरेमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले छुट्टाछुट्टै उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

अध्यक्षमा नेपाली कांग्रेसका टीकाराम ढुङ्गाना जैशी, माओवादी केन्द्रका टेकबहादुर रजबार र एकीकृत समाजवादीका लोकबहादुर सारु तथा उपाध्यक्षमा कांग्रेसकी धनादेवी थापा, माओवादीकी गिलादेवी सिजाल मगर र एकीकृत समाजवादीकी कृष्णाकुुमारी खत्रीले उम्मेदवारी दिएका छन्।

गौरीगंगा नगरपालिकामा समेत सहमति कार्यान्वयन हुन सकेको छैन। माओवादी केन्द्रले मेयर पाएको गौरीगंगामा कांग्रेसले उपमेयर उठाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले सहमति तोड्दै उपमेयरमा आफ्नो उम्मेदवार उठाएको छ।

गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका, चुरे गाउँपालिका र कैलारी गाउँपालिकामा पनि सत्तारुढ गठबन्धनको सहमतिअनुसार उम्मेदवारी दर्ता भएन। 

ढिला गरेर सहमति जुटेका कारण केही स्थानीय तहमा उम्मेदवारी दर्ताका क्रममा कार्यान्वयन नभएको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट बताउँछन्। 

‘सहमतिमा ढिलाइ हुँदा हामीले तल्लो तहमा समयमै सन्देश पठाउन सकेनौँ, त्यसैले धेरै ठाउँमा समस्या देखिएको छ’, कांग्रेस सभापति भट्टले भने, ‘सहमति कार्यान्वयन गर्न सबै दृढताका साथ उभिन्छौं। उम्मेदवारी फिर्ता लिने समय बाँकी रहेकाले सहमतिअनुसारकै उम्मेदवार रहन्छन्।’

कञ्चनपुर
कञ्चनपुरमा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ। 
सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस भने यहाँका ९ वटै स्थानीय तहमा एक्लै चुनावी मैदानमा होमिएको छ।
माओवादी र एकीकृत समाजवादीको वाम गठबन्धनको भागबन्डामा ५ स्थानीय तह प्रमुख माओवादी केन्द्र र ४ स्थानीय तह प्रमुख एकीकृत समाजवादीको भागमा परेको छ।

माओवादी केन्द्रले कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा प्रमुख पाएको छ।

एकीकृत समाजवादीको भागमा वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका र पुनर्वास नगरपालिकाको प्रमुख परेको छ।

डडेल्धुरा
सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसका सभापति देउवाको गृहजिल्लामा गठबन्धन भाँडिएको छ।
भागबन्डामा सहमति नजुटेपछि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आआफ्नै उम्मेदवार उठाएका छन्।
‘सत्ता गठबन्धन कायम रहन सकेन। हामी एक्लाएक्लै चुनाव लड्दै छौं। उम्मेदवार मनोनयन दर्ता गराएका छौँ’, एकीकृत समाजवादी डडेल्धुराका अध्यक्ष तारा जोशीले भने, ‘अजयमेरुमा माओवादीसँग हाम्रो तालमेल भएको छ।’

बैतडी
बैतडीका ३ पालिकामा मात्र सत्ता साझेदार दलहरुले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेका छन्। वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले जितेका डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल छ। 

पञ्चेश्वरमा कांग्रेसलाई अध्यक्ष, समाजवादीलाई उपाध्यक्ष, दोगडाकेदारमा कांग्रेसलाई अध्यक्ष, माओवादीलाई उपाध्यक्ष र डिलासैनीमा माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष दिएको छ। अन्य केही पालिकामा भने माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको छ। 

दार्चुला
दार्चुलामा एकीकृत समाजवादीलाई छाडेर नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन्। 
९ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ५ स्थानीय तहमा प्रमुख र नेकपा माओवादी केन्द्रले ४ स्थानीय तहमा प्रमुख पाएको छ। 

बझाङ
बझाङका १२ स्थानीय तहमध्ये ७ नेपाली कांग्रेसलाई, ३ नेकपा एकीकृत समाजवादी र २ स्थानीय तह नेकपा माओवादी केन्द्रलाई दिने गठबन्धनमा सहमति भएको थियो। तर सहमति कार्यान्वयन हुन सकेन। 

जिल्लाको वित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसले गठबन्धन तोडेर एकल प्रतिस्पर्धामा उत्रिएको छ। ‘हामी गाउँपालिकामा एक्लै लड्दै छौँ। गठबन्धन मान्य छैन’, नेपाली कांग्रेस वित्थडचिर गाउँ कार्य समितिका सभापति चक्र अधिकारीले भने, ‘छुट्टै उम्मेदवारी दर्ता गराएका छौँ।’

कांग्रेसले गठबन्धनको सहमति कार्यान्वयन नगरेपछि वित्थडचिरमा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन्।

डोटी
डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल छ। भागबन्डाअनुसार ९ स्थानीय तहमध्ये माओवादी केन्द्रले ५ र एकीकृत समाजवादीले ४ स्थानीय तह पाएको छ। यहाँ कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ।

बाजुरा र अछाम
यी दुई जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तीन दलीय गठबन्धन छैन। अछाममा सत्ता साझेदार तीनै दल एक्ला एक्लै प्रतिस्पर्धामा छन्। बाजुरामा पालिकाअनुसार केही ठाउँमा गठबन्धन  छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .