बुटवल उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख–उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ। पाँचदलीय गठबन्धनमा रहेको जसपाले छुट्टै उम्मेदवारी दिएको हो।
बुटवलमा जसपाबाट प्रमुखमा सुरज हिताङ र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। वडातहको उम्मेदवारी भोलि गर्ने सो पार्टीले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालय, बुटवलमा प्रमुख र उपप्रमुखले आइतबार पहिलो उम्मेदवारी दर्ता गराएका हुन्।
रुपन्देहीका दक्षिणतर्फका ६ पालिकामा दुई दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने र अन्यमा गठबन्धन गर्ने कांग्रेससँग सहमति भएको थियो। तर अरु पालिकामा पनि जसपाले आफ्ना उम्मेदवार उठाउन लागेको हो।
पाँच दलीय सत्तागठबन्धनले बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख पाएको थियो।
यता, नेकपा (एमाले)सँग तालमेल गरेको जनमुक्ति पार्टीले बुटवलमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ। एमाले भने आज निर्वाचन अधिकृतको कार्यालय पुगेको छैन। पालिका प्रमुखहरुको उम्मेदवारी टुंगिएको भए पनि वडा तहका केही मिलाउन बाँकी रहेकाले भोलि दिउँसो मात्र उम्मेदवारी दर्ता गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवालीले बताए।
कांग्रेस सहितका अन्य गठबन्धन दलले भने उम्मेदवारको सूची अझै सार्वजनिक गरेका छैनन्। अहिले छलफल चलिरहेको र भोलि विहान मनोनयन दर्ता हुने कांग्रेस बुटवलका उपसभापति ज्योती भण्डारीले बताए।
प्रतिक्रिया