पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा पर्छ- वनहरा पुल। केही महिनायता राजमार्गको वनहरा पुल क्षेत्रको दृश्य फेरिएको छ।
अरू बेला शान्त रहने यो क्षेत्र अहिले गुलजार बनेको छ। राजमार्गमा लहरै टहरा राखिएका छन्। अनि टहरामुनि तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् त कोही बिक्रीमा व्यस्त।
राजमार्गमा ‘तर्बुजा मेला’ लागेजस्तै दृश्य देखिन्छ। कृष्णपुर नगरपालिका–२ बंककी ५० वर्षीया नथ्थु बडायकलाई राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न थालेको दुई दशक बितिसक्यो।
उनी अनडैयाबाट आरक्ष विस्तारका क्रममा विस्थापन भइन्। अनि उनलाई बस्न र खेतीपातीका लागि जमिन भएन। त्यसपछि वनहरा नदीको बगरमा तर्बुजा खेती गरेर जीविकोपर्जन गरिरहेकी छिन्– उनी।
‘आरक्ष विस्थापित कसैले जमिन पाए, कसैले पाएनन्, मैलेँ जमिन नपाएपछि बस्न खानलाई केही थिएन’, उनी भन्छिन्, ‘यो सिजनमा बगरमा तर्बुजा खेती गर्छु, अरू बेला मजदुरी गरेर घरखर्च चलेको छ।’
वाणीका जगदेव राना पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिन्छन्। उनले वनहरा नदीको बगरमा ५ कठ्ठा क्षेत्रमा तर्बुजा खेती गरेका छन्।
‘यो सिजनमा दुईसाता भयो तर्बुजा बिक्री गर्न थालेको, अहिलेसम्म १५ हजारको बिक्री गरेँ’, उनले भने, ‘दैनिक हजारदेखि २ हजारसम्मको बिक्री हुने गरेको छ।’
जगदेवको परिवार नै बगरमा तर्बुजा खेती गर्नमा खटिने गरेका छन्। कक्षा ८ मा पढ्न छोरा पनि विद्यालयबाट फर्केपछि तर्बुजा बिक्री गर्न थापेको टहरामै पुग्छन्।
वनहरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्त कमैया र आरक्ष पीडित छन्। वनहरा पुल क्षेत्रमा करिब सय जनाले अहिले तर्बुजा बेच्न त्रिपाल टाँगेर अस्थायी टहरा बनाएर बसेका छन्।
चैत अन्तिम सातादेखि जेठसम्म तर्बुजा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्। ‘सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे, उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ’, जगदेव भन्छन्, ‘अहिले बगरमा भारतीय छैनन्।’
बंककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तर्बुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्छन्।
सुरुमा घरमै खानलाई मात्रै तर्बुजाको खेती गर्थे, उनी। आम्दानी राम्रो हुन थालेपछि ७ वर्षयता तर्बुजाको व्यावसायिक खेती गरिरहेको मानबहादुर सुनाउँछन्।
‘बर्खामा मजदुरी गरेर घरखर्च चलेको छ’, उनले भने, ‘प्रत्येक वर्ष तर्बुजा बिक्री गरेर ३०/४० हजारसम्म बचत हुने गरेको छ।’
छोराछोरीको विद्यालयको खर्चलगायत खाद्यान्न खरिद गर्न तर्बुजा बिक्री गरेको पैसाबाटै जोहो गर्ने गरेको उनले बताए। मल, बीउबिजन गरेर ३०/४० हजार रुपैयाँ तर्बुजा खेतीमा लगानी लाग्ने गरेको छ।
मानबहादुरको परिवारका ६ सदस्य नै खेतीमा जुट्ने गरेका छन्। माघदेखि बगरमा तर्बुजा खेतीका लागि तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि तर्बुजा बिक्रीका लागि ल्याउने बजारमा ल्याउने गरिन्छ।
तर्बुजाप्रति केजी रु. २५ देखि ४० रुपैयाँसम्म बिक्री गर्ने गरिएको छ। बेला बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको किसानको गुनासो छ। वनहराको बगरमा तर्बुजा खेती गर्ने उनीहरू अन्यत्र बिक्री गर्दा राम्रो मोल पाउँदैनन्।
‘अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन, ढुवानीको पनि खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै बसेर तर्बुजा बेच्छौँ’, कमला रानाले भनिन्।
राजमार्गमा ‘तर्बुजा मेला’, हेर्नुहोस् तस्बिरहरू :
Shares
प्रतिक्रिया