टेक कम्पनी गुगलमा यस वर्ष पनि धेरै जनाले जागिर गुमाउने सम्भावना देखिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले कर्मचारीलाई पठाएको ज्ञापनपत्रमा सो जानकारी दिइएको हो।
बुधवार द भर्जमा प्रकाशित रिपोर्टमा कम्पनीको आन्तरिक मेमोका आधारमा यो दाबी गरिएको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार गुगलका एक प्रतिनिधिले सबै कर्मचारीलाई इमेल पठाइएको पुष्टि गरेका छन्। तर त्यसमा के छ भन्ने जानकारी दिन मानेनन्।
भर्जको रिपोर्टका अनुसार, यस मेमोमा पिचाईले कामलाई सरल बनाउन र गति दिन केही क्षेत्रमा कटौती गर्न सकिने बताएका छन्।
यसले कम्पनीहरूमा कामको बोझ कम गर्न आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर र अटोमेसनको चलन बढ्दै गएको अवस्थामा गुगलमा जागिर गुमाउने प्रक्रिया यस वर्ष पनि जारी रहने संकेत गर्छ।
ज्ञापनपत्रमा पिचाईले सबै कर्मचारीलाई भनेका छन्, ‘यी पदहरूमा कटौतीको स्केल गत वर्षजस्तै हुने छैन र प्रत्येक टोलीलाई असर पर्दैन। हामीसँग केही महत्त्वाकांक्षी लक्ष्य छन् र यो वर्ष हामी ठूला प्राथमिकतामा केन्द्रित हुनेछौँ।’
गत हप्ता गुगलले आफ्नो भ्वाइस असिस्टेन्ट युनिट, पिक्सेल स्मार्टफोनको हार्डवेयर टोली, नेस्ट, फिटबिट, विज्ञापन बिक्री टोली र अगमेन्टेड रियालिटी टोलीबाट धेरै कर्मचारी हटाउन सक्ने बताएको थियो।
गत वर्ष जनवरीमा गुगलको अभिभावक कम्पनी अल्फाबेटले विश्वभरका आफ्ना १२ हजार कर्मचारी अर्थात् ६ प्रतिशत कर्मचारी कटौती गर्ने योजना घोषणा गरेको थियो।
सेप्टेम्बर २०२३ सम्म विश्वभर १ लाख ८२ हजार ३ सय ८१ कर्मचारी कम्पनीमा काम गरिरहेका थिए।
Shares
प्रतिक्रिया