भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन्।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडि बढाउन सकिने बताएका हुन्।
उनले बजेटको सिलिङ नबढेमा कुनै नयाँ काम अगाडि बढाउन नसकिने भएकाले सरकारको नीति तथा कार्यक्रममा पनि केही नलेखे हुने बताए। उनले आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताए।
उनले नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको बताए। उनले १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनाहरुलाई बजेट छुट्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सिलिङ नथपिएमा नयाँ काम केही पनि गर्न नसकिने बताए।
उनले यति नै बजेटको सिलिङ भएमा पुराना काम मात्रै सक्नेगरी अगाडी बढ्नुपर्ने अवस्था रहेको बताए। अन्यथा बजेटको आकार बढाउनुपर्ने उनको भनाइ छ। उनले बजेटको सिलिङभन्दा बाहिर गएर काम गर्न नसक्दा सांसदहरुले माग गरे अनुरुपको सडक तथा पुलहरु निर्माण गर्न नसकिएको बताए।
उनले चालू आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको बताए। उनले ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि बताए।
Shares
प्रतिक्रिया