बजारमा तरलता फालाफालको अवस्थामै राष्ट्र बैंकले भने १ अर्ब ५० करोड बजारमा पठाउने भएको छ।
बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपमा लगानी गर्न लागेको हो।
बैंकले एक वर्षका अवधिका लागि निक्षेपमा लगानी गर्न लागेको हो। बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड, विकास बैंकहरुमा २२ करोड ५० लाख र वित्त कम्पनीहरुमा ७ करोड ५० लाख रुपैयाँ निक्षेपमा राख्न लागेको छ।
दशैँमा पैसाको माग बढ्ने आकलनका बीच राष्ट्र बैंकले निक्षेपमा लगानी गरेको हो।
राष्ट्र बैंकको पैसा निक्षेपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ भने न्यूनतम पुँजीकोष कायम भएको तथा निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ।
यीबाहेक राष्ट्र बैंकले थप ९ वटा शर्तसहित निक्षेप लगानीका लागि आवेदन दिनुपर्ने उल्लेख गरेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले भदौ २६ गते बेलुकी ७ बजेसम्म ब्याजदरसहितको प्रस्ताव पेस गर्नुपर्नेछ।
Shares
प्रतिक्रिया