अंकुश विष्ट न्यूरोडको एउटा स्टोरमा काम गर्छन्। उनीसँग फरक–फरक क्षेत्रमा काम गरेको अनुभव छ।
पाँच वर्षअघि रेस्टुराँबाट काम थालेका विष्टले कुरियर हुँदै कपडाको स्टोरसम्ममा काम गरेका छन्। पाँच वर्षमा ४ ठाउँमा काम गरेका उनले काम परिवर्तन गर्नासाथ नयाँ बैंक खाता खोले।
नयाँ ठाउँमा काम गर्न जाँदा तलब लिन नयाँ खाता खोल्नुको विकल्प नहुने उनी सुनाउँछन्।
‘काम चेन्ज गर्नासाथ अफिसले त्यो बैंकमा खाता खोलेपछि मात्रै तलब आउँछ भन्छ’, उनले भने, ‘तबल लिन भए पनि अर्को बैंकमा खाता खोल्नुपर्छ। अहिले मसँग चार बैंकको खाता छ। जुन बैंकमा तलब आउँछ, त्यो खाता मात्रै चलाउने गरेको छु।’
उनले अन्य बैंकको खाता बन्द पनि गरेका छैनन्। अब ती पुराना खातामा कति पैसा थियो त्यो पनि बिर्सिसकेको बताउँछन् उनी।
अछामका लोकेन्द्र भट्टले एटीएम बोक्ने रहरले ६ बैंकमा खाता खोलेका छन्। धेरै बैंकको एटीएम कार्ड बोक्ने रहरले उनले आधा दर्जन बैंकमा खाता खोले। चार बैंकमा न्यूनतम ५०० रुपैयाँ र दुई बैंकमा १०० रुपैयाँ न्यूनतम राखेर खाता खोलेका उनी अहिले एउटा बैंकमा मात्रै कारोबार गर्छन्।
इन्टरनेट बैंकिङ भएपछि उनको एटीएम बोक्ने धोको पूरा भइसकेको छ। अहिले उनलाई कुन बैंकमा खाता खोलेको थियो त्यो पनि पुरानो एटीएम हेर्दा मात्रै थाहा हुने बताउँछन्।
यी त प्रतिनिधि पात्र मात्रै हुन्। बैंकमा धेरै खाता खोल्ने र यतिकै छोड्ने प्रवृत्ति बढ्दो छ। कोभिडपछि निक्षेपकर्ताले यस्ता खाता निष्क्रिय हुनथालेको देखिन्छ। यतिबेला एउटै बैंकमा ५÷७ लाख खाता निष्क्रिय छन्।
ती खातामा अर्बौँ रुपैयाँ बेवारिसे देखिएको छ। कतिपय अवस्थामा सर्वसाधारणले धेरै खाता खोल्ने र पछि वास्ता नगर्दा खाता निष्क्रिय बनेका छन् भने केही बैंकहरूले कर्मचारीलाई टार्गेट दिएर खाता खोल्ने अभियानले गर्दा पनि बैंक खाता निष्क्रिय बन्ने गरेको छ।
२७ लाख खाता निष्क्रिय, १३ अर्ब बेवारिसे
वाणिज्य बैंकहरूमा २७ लाख खाता निष्क्रिय अवस्थामा छ। केन्द्रीय बैंकका अनुसार १० वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या नै २७ लाख ३२ छ। ती बैंक खातामा १३ अर्ब ३८ करोड ९४ लाख ६९ हजार ९२८ रुपैयाँ बेवारिसे अवस्थामा छ।
खाताका निक्षेपकर्ता लामो समयदेखि खातामा रहेको रकमबारे सोधखोजसमेत गर्न समेत आएका छैनन्। नेपाल राष्ट्र बैंकको ऐनमा लामो समयसम्म निष्क्रिय खाताको पैसा खिचेर प्रयोग गर्न पाउने व्यवस्था समेत छ।
केन्द्रीय बैंकले २० वर्ष अवधिसम्म पनि निष्क्रिय नै रहेका खाताको रकम खिचेर बैंकिङ विकासमा खर्च गर्नसक्ने प्रावधान छ।
कस्तो खाता हुन्छ निष्क्रिय?
सामान्यतया चल्ती र कल निक्षेप खातामा १ वर्षसम्म कारोबार नभए खाता निष्क्रिय भएको मानिन्छ। त्यस्तै, बचत खातामा ३ वर्षसम्म कुनै कारोबार नभएमा पनि निष्क्रिय मानिन्छ।
खातामा नगन्य रुपैयाँ हुँदा, निक्षेपकर्ता विदेशिँदा पनि निष्क्रिय हुन्छ । अझ पछिल्लो समय बैंकहरूले ‘सबैको बैंक खाता’ अभियानअन्तर्गत एक सय रुपैयाँमै पनि खाता खोलिदिने गरेका छन्। दुई वा दुईभन्दा बढी खाता रहेकाको पनि खाता निष्क्रिय हुन्छ।
अनलाइनबाट सक्रिय गराउन सकिन्छ, लाग्दैन शुल्क
कुनै पनि निष्क्रिय खाता सक्रिय गराउन शुल्क नलाग्ने व्यवस्था छ।
विद्युतीय माध्यम (अनलाइन)बाट पनि निक्षेपकर्ताले आफ्नो खाता सुचारु गर्न सक्छन्। निक्षेपकर्ताले चाहेमा खाता बन्द गर्न सक्छन् भने यसरी खाता बन्द गरेको समेत शुल्क लाग्दैन।
१० वर्षपछि शून्य मौज्दात रहेका खाता बैंकले बन्द गर्नसक्ने
पछिल्लो १० वर्षदेखि शून्य मौज्दातका (पैसा नभएका) खाता बैंकले सूचना जारी गरी बन्द गर्न सक्छन्।
बैंकबीच खाता खोल्ने तीव्र प्रतिस्पर्धा हुँदा पछिल्लो समय निष्क्रिय खाताको संख्या बढ्नथालेको एक बैंकरले बताए।
उनका अनुसार व्यावसायिक संस्थाहरूले बैंक खातामै तलब (पारिश्रमिक) भुक्तानी गरिदिने गरेका छन्, संस्था परिवर्तनका कारण पनि खाता निष्क्रिय हुुने गरेको छ।
कोभिडयता खाता निष्क्रिय हुने अवस्था व्यापक देखिएको उनले बताए।
के हुन्छ खाताको रकम?
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा खाता निष्क्रिय भएको ५ वर्ष नाघे यस्ता खाताबारे एकपटक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ।
बैंकहरूले पनि हरेक आर्थिक वर्षमा १० वर्षदेखि निष्क्रिय खाताको विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्ने हुन्छ।
बैंकहरूले सार्वजनिक रूपमा जानकारी गराउँदासमेत निक्षेपकर्ता वा उसका आफन्तले रकम नलगेमा २० वर्षपछि बैंकिङ विकास कोषमा जाने व्यवस्था छ। ऐनले कोषमा रहेको रकमको प्रयोग बैंकिङ क्षेत्रको विकासमा लगाउने उल्लेख गरेको छ।
‘तर हालसम्म यस्तो रकमको प्रयोग गरिएको छैन’, नेपाल राष्ट्र बैंकका सूचना अधिकारी तथा निर्देशक डिल्लीराम पोखरेलले भने, ‘यसलाई वित्तीय साक्षरताका लागि खर्चिँदा हुन्छ।’
सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकमा, कम हुने कृषि विकास बैंक
२० वाणिज्य बैंकमध्ये १० वर्षदेखि सबैभन्दा धेरै खाता निष्क्रिय हुनेमा राष्ट्रिय वाणिज्य बैंक छ।
बैंकका ५ लाख ५३ हजार २६९ वटा खाता निष्क्रिय छन्। उक्त खातामा ३ अर्ब ५० करोड रुपैयाँ बेवारिसे छ।
त्यस्तै, २० वाणिज्यहरूमध्ये कृषि विकास बैंकमा सबैभन्दा कम निष्क्रिय खाता छन्। यस बैंकमा ६९ खाता निष्क्रिय छन्। उक्त खातामा २ लाख ४९ हजार रुपैयाँ बेवारिसे छ।
कुन बैंकमा कति निष्क्रिय खाता?
नेपाल बैंकमा २ लाख ९४ हजार निष्क्रिय खाता छन्। जसमा २ अर्ब ४३ करोड बेवारिसे छ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकमा ५ लाख ५३ हजार, नबिल बैंकमा १ लाख १२ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा २ लाख १ हजार, स्टान्डर्ड चाटडर्ड बैंकमा १३ हजार ३२८ खाता, हिमालयन बैंकमा ९७ हजार, नेपाल एसबीआई बैंकमा १ लाख ४६ हजार, एभरेष्ट बैंकमा २ लाख १४ हजार, एनआईसी एसिया बैंकमा १६ हजार, माछापुच्छे« बैंकमा ८४ हजार, कुमारी बैंकमा ६४ हजार निष्क्रिय खाता छन्।
साथै, लक्ष्मी सनराइज बैंकमा ७५ हजार, सिद्धार्थ बैंकमा ३४ हजार, कृषि विकास बैंकमा ६९ खाता, ग्लोबल आईएमई बैंकमा २ लाख १६ हजार, सिटिजन्स बैंकमा ७८ हजार, प्राइम कमर्सियल बैंकमा ८४ हजार, एनएमबी बैंकमा १ लाख १३ हजार, प्रभु बैंकमा २ लाख ७९ हजार र सानिमा बैंकले १५ हजार ९१३ खाता निष्क्रिय छन्।
Shares
प्रतिक्रिया