राजेन्द्र सुन्दासले १५ वर्षदेखि काठमाडौंमा माइक्रो चलाउँदै आएका छन्।
साढे १ दशक डिजेल माइक्रो चलाएका उनी २ महिनायता विद्युतीय माइक्रो हाँकिरहेका छन्।
डिजेल र विद्युतीयको तुलनामा विद्युतीय माइक्रोबाट नै बढी फाइदा रहेको उनले सुनाए। डिजेल हाल्ने खर्च विद्युतीय माइक्रोमा बचेकाले पनि उनी मख्ख देखिन्छन्।
‘मैले चलाएको विद्युतीय गाडी २५० किलोमिटर बढी गुड्छ’, सुन्दासले नेपालखबरसँग भने, ‘काठमाडौंबाहिर लैजाँदा पनि सहजै रहेछ।’
अहिले सिन्धुली–बर्दीबासको सडक खण्डमा विद्युतीय माइक्रोको हिस्सा बढ्दै गएको छ भने काठमाडौं–चितवन सडकखण्डमा पनि बढिरहेको उनले बताए।
‘अब नयाँ माइक्रो खरिद गर्नेले ढुक्क भएर विद्युतीय नै लिँदा हुन्छ। खर्च जोगिन्छ’, उनले थपे, ‘डिजेल माइक्रोभन्दा तेब्बर बढी कमाइरहेको छु।’
काठमाडौंको सुन्धाराबाट एकताबस्ती रुटमा अहिले विद्युतीय माइक्रो सञ्चालन हुनथालेका छन्।
सुन्दास मात्र हैन, अन्य विद्युतीय सवारी हाँक्नेहरु पनि पछिल्लो समय काठमाडौंमा विद्युतीय माइक्रोको संख्या बढ्दै गएको बताउँछन्।
‘विस्तारै चलाउँदा एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने रहेछ’, काठमाडौंमा किङलङको माइक्रो चलाउने अर्का चालक भन्छन्, ‘फास्ट चार्जरबाट १ घण्टामै फुल हुन्छ। घरको सामान्य चार्जरबाट करिब ८ घण्टा लाग्ने रहेछ।’
सार्वजनिक यातायातको रुपमा अहिले किङलङ र केवाईसीका विद्युतीय भ्यानको बिक्री बढेको छ। भन्सार विभागको तथ्यांकले पनि किङलङ र केवाईसीका विद्युतीय भ्यान बढी भित्रिने गरेको देखाउँछ।
नेपालमा सबैभन्दा बढी कात्तिक महिनासम्म १५९ वटा मिनी र माइक्रोबस भित्रिएका छन्। यिनमा ११ देखि १४ सिटसम्मका १३४ वटा छन् भने १५ देखि २५ सिटसम्मका २५ वटा भित्रिएको भन्सार विभागले जनाएको छ।
तातोपानी नाकाबाट मात्रै केवाईसी ब्रान्डका भी ५ मोडल ८० वटा भित्रिएका छन्। कात्तिकमा रसुवागढी नाकाबाट किङलङका २४ वटा १४ सिटे माइक्रो भित्रिएका छन्।
सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको किङलङ र केवाईसी काठमाडौं उपत्यकासहित लामो दूरीमा समेत चल्नथालेका हुन्। सीजी मोटर्ससँगै विशाल ग्रुप, एमएडब्ल्यू ग्रुप, दिगो ग्रुपलगायतले पनि विद्युतीय माइक्रो बिक्री गर्दै आएका छन्।
केवाईसीका ११ सिटे भ्यान काठमाडौं–कुलेखानी–हेटौंडा–सिमरा–पथलैया हुँदै वीरगन्जसम्म गुड्नथालेका छन्। यता काठमाडौंबाट चितवन हुँदै नवलपरासीसम्म र पूर्वमा काठमाडौंदेखि गाईघाटसम्म विद्युतीय माइक्रो चल्न थालेको व्यवसायी बताउँछन्।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातबाहेक केवाईसीका विद्युतीय भ्यान विद्यालयहरुले प्रयोग गरिरहेका छन्।
सीजी मोटर्सले बिक्री गरिरहेका विद्युतीय गाडीमा ६० किलोवाट र ४१.८६ किलोवाट आवर क्षमताका ब्याट्री छन्। ११ सिटे गाडीको अधिकतम माइलेज ३०० किमि, गति १०० र ग्राउन्ड क्लियरेन्स १८० एमएम छ।
चिनियाँ ब्रान्ड किङलङका १४ सिटे माइक्रो रहेका छन्। ती गाडी एक पटकको चार्जमा ३०० किमिसम्म गुड्छन्।
सीजी मोटर्सका मार्केटिङ हेड किरण आचार्यले २ वटा ब्रान्डको बलियो उपस्थिति रहेको बताए। सीजी मोटर्सले बिक्री वितरण गर्दै आएको विद्युतीय माइक्रोबसहरू काठमाडौंका विभिन्न रुटहरूमा सञ्चालनमा आएका छन्।
बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणाअनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक सवारीका साधन विस्थापित गरी विद्युतीयलाई बढावा दिन लागिएको कम्पनीले जनाएको छ।
‘पछिल्ला २ वर्षमा विद्युतीय माइक्रोमा बढी आकर्षण देखिएको छ’, आचार्यले भने, ‘यात्रु र सवारी धनी दुवैलाई फाइदा हुँदा डिजेलका माइक्रो विस्थापन हुँदै छन्।’
सीजी मोटर्सका अनुसार एउटा माइक्रो बसले दैनिक १५० देखि २०० किलोमिटर चल्दा ५ हजारदेखि ७ हजार रूपैयाँको डिजेल खपत गर्छ।
यस हिसाबले काठमाडौंमा सञ्चालनमा रहेका ३ हजार डिजेल माइक्रोबस विस्थापित हुँदा दैनिक २ करोड १० लाख रूपैयाँबराबरको डिजेल बचत हुन्छ। विद्युतीय सवारी साधनको ब्याट्री र वारेन्टी डिजेल सवारीको तुलनामा दोब्बर छ।
सीजीले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ माइक्रो बस १४ र १९ सिटे गरी दुई मोडेलमा नेपाली बजारमा उपलब्ध छन्। सीएटीएलद्वरा निर्मित ब्याट्रीको प्रयोग भएको छ। १८० एमएम ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको सडकका लागि उपयुक्त छ। हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिने स्किम पनि सीजी मोटर्सले ल्याएको छ।
किङलङका १४ सिटे गाडीको मुल्य ५६ लाख ५० हजार रुपैयाँ छ भने १९ सिटे गाडीको मूल्य ८३ लाख ५० हजार रुपैयाँ तोकिएको छ। केवाईसीका गाडीको मूल्य ४५ लाख ५० हजार रुपैयाँ छ।
नेपालभर ३० भन्दा धेरै ठाउँमा चार्जर स्थापना भइसकेको र ५० ठाउँमा तत्कालै चार्जर थप जडान गर्ने तयारी सीजी मोटर्सले गरेको छ।
सीजीका काठमाडौंमा ३ ठाउँबाट सर्भिस सुविधा लिन सकिनेछ। चक्रपथमा हरेक ५ किलोमिटरमा एउटा चार्जर राख्ने अन्तिम तयारी भइरहेको समेत सीजीले जनाएको छ।
नयाँ गाडी लिन चाहने ग्राहकलाई कम्पनीले ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने समेत जनाएको छ।
भिडिओ
(तस्बिर र भिडिओ : सरोज बैजू)
प्रतिक्रिया