ad ad

कारोबार


सिंगापुरबाट रिपोर्ट आएपछि खुल्नेछ एटीएम ह्याकिङको खास रहस्य

सिंगापुरबाट रिपोर्ट आएपछि खुल्नेछ एटीएम ह्याकिङको खास रहस्य

दीपक भट्ट
भदौ २७, २०७६ शुक्रबार १२:१७,

यही भदौ १४ मा नेपालमा भएको एटीएम ह्याकिङको घटनाको रिपोर्ट आगामी नोभेम्बर ३० मा अर्थात् आगामी मंसिर १४ गते आउने भएको छ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)का प्रमुख कार्यकारी अधिकृत प्रविन क्षेत्रीले सिंगापुरबाट आएको टोलीले अध्ययन गरिसकेको जनाउँदै प्रयोगशाला परीक्षणपछि रिपोर्ट सार्वजनिक हुने जानकारी दिएका हुन्।

नेपालका बैंकहरुको एटीएम सिस्टम ह्याक गरी ह्याकरले नेपाल र भारतबाट करिब तीन करोड रुपैयाँ ह्याक गरी निकालेका थिए। यसबारे अध्ययन अहिले पनि भइरहेको छ। नेपालबाट मात्रै ह्याकरले १ करोड ८९ लाख निकालेका थिए भने अन्य रकम भारतमा नेपाली बैंकको नै एटीएम प्रयोग गरी निकालिएको थियो।

सीईओ क्षेत्रीले सिंगापुरमा घटनाबारे प्राप्त विवरणको अध्ययन भइरहेको जानकारी दिए। उनले नेपालखबरसँग भने, ‘नेपालमा आएर उनीहरुले एक चरणको अध्ययन गरी आवश्यक सूचनाहरु लिएर गएका छन्। उनीहरुले नोभेम्बर ३० मा अन्तिम रिपोर्ट दिने बताएका छन्।’

उक्त ह्याकिङ प्रकरणको प्राविधिक अध्ययन गर्न नेपालमा विज्ञ नभएपछि नेपाल राष्ट्र बैंक र नेप्सले सिंगापुरबाट विज्ञ टोली बोलाएका थिए। सिंगापुरबाट आएको विज्ञ टोलीले प्रारम्भिक अनुसन्धान गरेको राष्ट्र बैंकले जनाएको छ। तर नेपालमा उनीहरुले कसरी अध्ययन गरे भन्ने जानकारी उपलब्ध भएको छैन।

atam chinese arrestedएटीएम ह्याक प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरू।

सोही कारण विज्ञ टोली प्रयोगशाला परीक्षण (ल्याब टेष्ट) गरेर पत्ता लगाउने गरी सिंगापुर फर्किएको क्षेत्रीले बताए। विज्ञ टोलीले आफ्नो प्रारम्भिक प्रतिवेदनमा ह्याकिङ भिसामा भएको हो वा नेप्समा भएको भन्ने खुट्याउन नसकेको र सोबारे नेप्स र राष्ट्र बैंकलाई जानकारी दिएको छ।

उनीहरुले अब त्यसलाई पत्ता लगाउन हाइटेक ल्याबमा सिंगापुरमा नै गएर गर्नुपर्ने बताएपछि राष्ट्र बैंक तथा नेप्सको सहमतिमा टोलीलाई पठाइएको छ। सीईओ क्षेत्रीका अनुसार अब सिंगापुरमा भएको ल्याब परीक्षणको जानकारी नेप्सलाई निरन्तर दिने भएको छ। साथै त्यो जानकारी अमेरिकामा रहेको भिसा सिस्टमलाई समेत दिनेछ। के कस्तो उपलब्धि भइरहेको छ, त्यो जानकारी यी दुई संस्थाले निरन्तर पाउने उनले बताए।

नेपालका ११ वटा वाणिज्य बैंकहरु नेप्समा आबद्ध भएर भिसा सिस्टमको एटीएम चलाइरहेका छन् भने अन्य बैंकले आफैँ भिसासँग सम्पर्क रहने गरी भिसा कार्ड चलाइरहेका छन्। नेपाली बैंकमा भएको एटीएम ह्याक भने नेप्समा आबद्ध भएका बैंकको नक्कली एटीएम कार्ड प्रयोग गरी नेप्समा आबद्ध नभएका बैंकको एटीएम बुथबाट पैसा निकालिएको थियो।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले समेत अध्ययन गरेको थियो। उक्त अध्ययनले नै ३ करोड ५८ लाख रुपैयाँ चोरी भएको पुष्टि गरेको थियो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वको छानबिन समितिले बुझाएको प्रतिवेदनले ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको देखाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .