ad ad

कारोबार


विधान संशोधन अघि नै उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

विधान संशोधन अघि नै उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

दीपक भट्ट
भदौ २३, २०७६ सोमबार १३:३२,

आगामी कात्तिक २९ गते नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाको मिति तय भएको छ। विशेषगरी विधान संशोधनको लागि उक्त साधारणसभा बस्नलागेको हो।

महासंघले गठन गरेको विधान संशोधन कार्यदलले (जसको संयोजक महासंघका विशिष्ट सदस्य चण्डीराज ढकाल थिए) ३५ बुँदे संशोधनको प्रस्ताव पेस गर्ने भएको छ। उक्त मस्यौदा सबै कार्यकारिणी सदस्यहरुले समेत पाइसकेका छन्।

यसपटकको विशेष साधारणसभामा अझै विशेष हुने देखिएको छ। वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने व्यवस्था यसपटक परिमार्जन गर्न खोजिएको छ। ३५ बुँदायुक्त उक्त संशोधन प्रस्तावको १०औँ बुँदामा यो व्यवस्था हटाई निर्वाचनको माध्यमबाट मात्रै अध्यक्ष चुनिने व्यवस्था गर्न भनिएको छ। हालकी अध्यक्ष भवानी राणा पनि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि २०७३ चैत २८ मा स्वतः अध्यक्ष भएकी थिइन्। पशुपति मुरारका अध्यक्ष हुँदा विधान संशोधन गरी स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो। एक कार्यकालमा नै यो व्यवस्था परिमार्जन गर्न प्रस्ताव गरिएपछि महासंघभित्र नै यो विवादित बनेको छ।

एकातर्फ विधान संशोधन गर्न चाहने प्यानल रहेको छ भने अर्कोतर्फ नचाहने प्यानलै देखापरेको छ। त्यसको कसरत पहिले भइरहेको पनि छ। विधान संशोधन गराउनसक्ने शक्ति भने जिल्ला तथा नगरमा छ। त्यसकारण यी दुईको ध्यान जिल्ला नगरका सदस्यहलाई फकाउने देखिएको छ।

जिल्ला तथा नगरमध्ये आधाआधीमा हाल महाधिवेशन भइरहेको छ। महासंघ सचिवालय महानिर्देशक गोपाल तिवारीका अनुसार तीन वर्षे कार्यकाल रहने जिल्ला नगरको आधाभन्दा बढीको यही वर्ष अर्थात् आगामी पुससम्ममा नयाँ नेतृत्व चयन हुनुपर्नेछ। 

विधान संशोधन भर्सेस निर्वाचनः कसको मत कति?
महासंघको देशभर ९२ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ छन् र यी सदस्यको मतको भार कुल ५० प्रतिशत हुन्छ। वस्तुगतमा ९१ वटा सदस्य छन्। उनीहरुको मतभार २० प्रतिशत र एसोसिएटमा ६ सय ७ सदस्य छन्। उनीहरुको मतभार ३० प्रतिशत रहन्छ।

जिल्लामा विशेषगरी विधान संशोधन गर्न लागिपरेको चण्डीराज ढकालको बढी प्रभाव रहने आँकलन गरिँदै आएको छ। यस वर्ष भने महासंघका वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा पनि उत्तिकै सक्रिय देखिएका छन्। उनी महाधिवेशन मात्रै नभई जिल्ला नगर उद्योगीहरुले गर्ने सामान्य कार्यक्रममा समेत पुग्नथालेका हुन्। जुम्लाको व्यपार मेला, दमक उद्योग वणिजय संघको साधारणसभामा उनको उपस्थिति देखिनु यसैको उदाहरण हो।

golxa 1दमक उद्याेग वाणिज्य संघकाे साधारणसभामा गाेल्छा।

ढकालको मत तान्दै गोल्छा
गोल्छा समूहमा खुलेर लागेका महासंघका कार्यकारिणी एक सदस्यले नेपालखबरसँग कुरा गर्दै गोल्छाको सक्रियता विधान संशोधनभन्दा पनि चैत २८ गते हुने महासंघको केन्द्रीय महाधिवेशनको तयारीअनुसार बढेको बताए। ‘विधान त संशोधन हुने नै देखिइसकेको छ’, ती सदस्यले भने, ‘महासंघलाई नै आफ्नो गरिखाने व्यवसायको रुपमा लिएका चण्डीराज ढकालले ठूलो राजनीति गरेर विधान संशोधन गराएपछि निर्वाचनमा भने सदस्यहरुको मत लिएर गोल्छा अघि बढ्न लाग्नुभएको हो।’ उनी निर्वाचनमा आउने आफ्नो जस्तोसुकै प्रतिपक्षीलाई पनि हराउने गरी तयारीमा लागेको उनको भनाइ छ।

जिल्लातिर तपाईंको उपस्थिति रहनुलाई कुन अर्थमा लिने भनेर नेपालखबरले गोल्छालाई गरेको प्रश्नमा शेखर गोल्छाले भने, ‘चैतमा हुने महाधिवशेनमा जिल्लाका सदस्यहरु उत्साहित छन्। तर म हाल चीनमा रहेको र सबै कुरा बताउन नसक्ने स्थितिमा रहेको छैन।’

संशोधन प्रस्तावमा अरु के–के छन्?

golxa 3हालकाे विधानकाे व्यवस्था ।
संशोधनअन्तर्गत पहिलो बुँदामा निवर्तमान अध्यक्ष पनि पदाधिकारीको रुपमा राख्नुपर्ने प्रस्ताव गरिएको छ। हाल अध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष र महानिर्देशक पदाधिकारीमा रहने व्यवस्था छ। संशोधनको लागि आएको प्रस्तावमा उद्योग वणिज्य महासंघअन्तर्गत प्रदेश जिल्ला नगर तहमा खुलेका संघहरुलाई जनाउनेमा प्रदेश अनावश्यक रहेकोले हटाउने समेत प्रस्ताव भएको छ।

प्रदेश महासंघ छुट्टै हुने भएकोले उद्योग वाणिज्य संघमा प्रदेश आवश्यक नभएको उल्लेख छ। त्यस्तै वार्षिक सभा एक महिनाअघि निर्वाचन गर्ने मिति, प्रतिनिधिहरुबारे समेत जानकारी गराउनुपर्नेमा अब वार्षिक प्रतिवेदन समेत ३० दिनअघि नै उपलब्ध गराउनुपर्ने उल्लेख छ। उक्त प्रस्ताव गरिनुमा कुनै प्रतिवेदनमा आउने विषयहरु पहिले नै जानकारी गराउँदा गल्तीहरु सच्याउन सकिने आधार संशोधन कार्यदलले उल्लेख गरेको छ।

विधान संशोधनको प्रस्तावको बुँदा नं ३१ मा वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार बन्नको लागि समान उद्देश्य बोकेका संघ/संस्थामा आबद्ध नभएको हुनुपर्ने तथा सल्लाहकार पनि हुन नहुने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .