ad ad

कारोबार


संकटमा सिटामोलको मूल्य बढाउन औषधि उद्योगीहरुको लबिङ

संकटमा सिटामोलको मूल्य बढाउन औषधि उद्योगीहरुको लबिङ

दीपक भट्ट
जेठ ४, २०७८ मंगलबार १२:२१,

औषधि उद्योगीहरुले कोरोनाको दोस्रो लहरले देशै आक्रान्त भइरहेका बेला औषधिको मूल्यवृद्धि गराउन उद्योग मन्त्रालय र औषधि व्यवस्था विभागमा तीव्र लबिङ थालेका छन्।

कोरोना बिरामीहरुलाई सबैभन्दा धेरै आवश्यक पर्ने औषधि सिटामोलको मूल्य बढाउन उद्योगीहरुको दौडधूप बढेको हो।

औपचारिक रुपमा चुपचापजस्तो देखिएका उद्योगीले अनौपचारिक रुपमा भने व्यापक लबिङ गरिरहेको स्रोतले जनाएको छ। उनीहरुले नेपालमा कोरोना संक्रमण दर बढिरहेकै बेला उत्पादन घटाएर मूल्यवृद्धिको लबिङ गरेका हुन्।

सरकारले २०६४ सालमा सिटामोल मूल्य तोकेको थियो। सोहीअनुसार प्रतिट्याबलेट १ रुपैयाँमा पाउने गरी बिक्रीवितरण गर्न उद्योगीलाई भनिएको थियो। सोहीअनुसार अहिले पनि प्रतिट्याबलेट १ रुपैयाँमै सिटामोल बिक्रीवितरण भइरहेको छ।

यसरी मूल्य तोकेको १४ वर्षपछि अहिले अत्यधिक मात्रामा सिटामोल खपत भइरहेको मौका छोप्दै उद्योगीहरुले सिटामोलको मूल्यवृद्धि गर्नलागेका हुन्।

अहिले कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्दै उनीहरुले २०६४ सालको दररेटमा बिक्रीवितरण गर्न नसकिने बताएका छन्।

अहिले अन्तर्राष्ट्रिय बजारमा सिटामोलको कच्चा पदार्थको रुपमा प्रयोग हुने पारासिटामोलको धूलोलाई उद्योगीहरुकै भनाइमा प्रतिकिलो ११ अमेरिकी डलर पर्ने गरेको छ।

उनीहरुका अनुसार गत वर्ष यस्तो धूलो प्रतिकिलो ३ डलरमै पाइने गरेको थियो।

यसको कच्चा पदार्थ ल्याइने भारतीय बजारमा पारासिटामोलको धूलो प्रतिकिलो अहिले १ हजार भारतीय रुपैयाँ पर्ने गरेको उद्योगीहरुको दाबी छ।

उनीहरुले कच्चा पदार्थको मूल्य बढेपछि आफूले गरिरहेको उत्पादन समेत घटाइसकेका छन्।

आफ्नो उत्पादन घटाउँदै मूल्यवृद्धि गर्न पाएमात्रै साबिकको उत्पादन गर्ने मनसायका साथ लबिङ थालिएको हो। मूल्यवृद्धिबारे उनीहरुले नेपाल सरकारलाई समेत अनौपचारिक रुपमा जानकारी गराएका छन्।

सिटामोलको धेरैजसो कच्चा पदार्थ नेपाली औषधि उत्पादकले चीनबाट आयात गर्ने गरेका थिए।

तर गत वर्षदेखि कोरोना महामारीका कारण चिनियाँ दुवै नाका बन्दप्रायः छ। सोही कारण चीनबाट कच्चापदार्थ आयात हुन सकिरहेको छैन।

परिणामतः अहिले कच्चापदार्थका लागि नेपालको एउटै विकल्प भारत रहेको छ। भारत तथा अन्तर्राष्ट्रिय बजारमा नै पारासिटामोलको धूलोको मूल्य ४ गुणासम्म बढेको छ। त्यो ६ महिनाको अन्तरमा बढेको मूल्य हो।

कच्चा पदार्थको मूल्य ह्वात्तै बढेपछि सरकारी उद्योग नेपाल औषधि लिमिटेडबाहेक नेपालका अधिकांश निजी उद्योगहरुले आफ्नो उत्पादन घटाइसकेका छन्।

नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले सिटामोलको मूल्य बढाउनुपर्ने माग भइरहेको स्वीकारे।

उनले नेपालखबरसँग भने, ‘अहिले १ रुपैयाँ प्रतिट्याबलेट बिक्री गर्दै आएकोमा अब १ रुपैयाँ ७० पैसा कायम गर्नुपर्ने माग राखिएको छ। जुन अहिले बढेको कच्चा पदार्थअनुसार त हुँदैन तर सामाजिक उत्तरदायित्व रकमको समेत यसमा खर्च गर्न पाउँदा ठीक हुने देखिन्छ।’

यसरी मूल्यवृद्धि गर्न सरकारसम्म उद्योगीहरुले जानकारी पुर्याएपछि सरकारी पक्षले पनि यसमा छलफल थालेको छ। उद्योगीहरुले सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम हाललाई यही सिटामोल उत्पादनको घाटामा मिलान गर्न माग राखेका छन्।

उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सिटामोलको उत्पादन कम हुनु र मूल्यवृद्धि हुन खोज्नुलाई गम्भीर रुपमा लिएको बताउँछन्।

उनले भने, ‘उद्योगीहरुले औपचारिक रुपमा मूल्यवृद्धि गर्ने नै भन्नेसम्मको जानकारी त दिएका छैनन्। तर पनि कच्चा पदार्थको मूल्य बढेको र त्यहीअनुसार मूल्य वृद्धि हुने भन्ने सुन्नमा आएको छ। हामी त्यसो हुन दिँदैनौँ।’

उद्योगीहरुलाई सामाजिक उत्तरदायित्वबापत खर्च गर्ने रकम भने यसमै खर्च गर्न अनुरोध गर्ने उनले बताए।

‘उद्योगीहरुले अहिलेको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै मूल्य बढाउनुहुँदैन’, उनले थपे।

सरकारी उद्योगबाट प्रतिदिन ३ लाख ट्याबलेट उत्पादन
नेपाल औषधि लिमिटेडले पनि सिटामोल उत्पादन गर्दै आएको छ। यस उद्योगलाई पनि कच्चापदार्थको मूल्यवृद्धिको असर परेको छ। तर कम्पनीले संकटको समय भन्दै आफ्नो उत्पादन घटाएको छैन।

कम्पनीका सूचना अधिकारी टीकाराम अर्यालका अनुसार सिटामोलको कच्चापदार्थको रुपमा प्रयोग हुने पारासिटामोल धूलोको मूल्य उच्च रुपमा बढेको छ।

‘हामीले मूल्य घट्ला र कच्चा पदार्थ खरिद गरौँला भनेर केही दिन हेर्यौँ तर झन् झन् बढ्दै गएाको छ’, उनले भने, ‘मूल्य बढेकै भए पनि कच्चा पदार्थ खरिद गरेर उत्पादन बढाउने योजनामा छौँ।’

कम्पनीले अहिले प्रतिदिन ३ लाख ट्याबलेट उत्पादन गरिरहेको उनले जानकारी दिए। तर निजी क्षेत्रले उत्पादन घटाउँदा कम्पनीलाई ठूलो ‘लोड’ परिरहेको उनको भनाइ छ।

‘हामीसँग अहिले कुनै दिन हाम्रो उत्पादन स्टक हुन पाउँदैन’, उनले थपे, ‘जति उत्पादन गर्छाैँ, त्यो बजारमा पुगिहाल्छ। मागअनुसार नै उत्पादन गर्न भ्याइनभ्याइ छ।’

बजारमा मूल्य बढ्ला र अभाव होला भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि कम्पनीको उत्पादन बढाउने योजनामा छ।

त्यहीअनुसार उद्योग सचिव स्तरमा नेपाल औषधि लिमिटेडलाई मन्त्रालयले निर्देशन समेत दिइसकेको छ।

बरु औषधि लिमिटेडलाई अनुदान उपलब्ध गराउने योजनामा सरकार अघि बढेको छ।

सोहीअनुसार आज मंगलबार नै अर्थमन्त्री विष्णु पौडेलसँग औषधि लिमिटेडलाई अनुदान उपलब्ध गराउने विषयमा आफूले छलफल गरेको उद्योग सचिव अर्जुन पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .