ad ad

कारोबार


अक्सिजनको आपूर्ति सहज बनाउन उपप्रधानमन्त्री पोखरेलले गरे निजी क्षेत्रसँग संवाद

अक्सिजनको आपूर्ति सहज बनाउन उपप्रधानमन्त्री पोखरेलले गरे निजी क्षेत्रसँग संवाद

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ६:३४,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले आज उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरुसँग प्रधानमन्त्री कार्यालयमा बैठकको आयोजना गरेका हुन्।

अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो।

बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ भने अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरु, अस्पतालबीच समन्वय गर्ने निर्णय भएको छ।

यसैगरी, छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ।

निजी क्षेत्रका ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अहिलेको समस्या आइपरेको हो।

काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योगहरु छन्।

१५ हजार लिटरभन्दा बढी माग भए पनि अहिले ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता रहेको छ।

निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पतालहरु यिनै उद्योगमा निर्भर हुनुपर्ने अबस्था छ।

सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले संकटको अवस्था रहेकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए।

‘महामारीसँग जुध्नका लागि राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘संकटको बेला भ्रमको खेतीहरु गर्ने पनि छन्, त्यस्तोबाट सचेत पनि हुनुपर्छ।’

सीसीएमसीले अक्सिजन ग्यासको विद्यमान समस्या समाधान गर्ने उद्देश्यले विभिन्न प्रयासहरु गरेको छ।

काठमाडौं उपत्यका र बनेपामा रहेका उद्योगहरुको अनुगमन गरी विवरण संकलन तथा समस्या र सम्भावना समेतको समीक्षा गरिएको छ भने सबै उद्योगहरुमा सुरक्षाकर्मी खटाइएको छ।

सरकारले अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण तथा सहयोग समेत गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .