ad ad

कारोबार


हिमालयन बैंक मर्जर सम्बन्धमा बन्यो अध्ययन रिपोर्ट : यी बैंकसँग देखायो सम्भावना

हिमालयन बैंक मर्जर सम्बन्धमा बन्यो अध्ययन रिपोर्ट : यी बैंकसँग देखायो सम्भावना

दीपक भट्ट
फागुन १९, २०७७ बुधबार ५:५२,

हिमालयन बैंक लिमिटेड मर्जरमा जाने निर्णयसँगै अध्ययनको लागि बनाइएको उपसमितिले प्रतिवेदन तयार गरेको छ।

बैंककाे सञ्चालक समितिले सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर–एक्विजिसन (गाभिने वा प्राप्ति गर्नेसम्बन्धी) उपसमिति गठन गरेको थियो।

उक्त उपसमितिले सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन बुझाउने तयारी गरेको छ।

आगामी हप्ताभित्रै प्रतिवेदन सञ्चालक समितिमा बुझाउने गरी सबै कार्यहरु अघि बढेको नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका उपसमिति संयोजक थापाले जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘हामीले मोटामोटी अध्ययन सकिसकेका छौँ। म अहिले धनकुटातिर छु, त्यसकारण आगामी हप्ताभित्र यो रिपोर्ट सञ्चालक समितिमा पेश हुन्छ। समितिले रिपोर्टले देखाएको विषयवस्तुमा अध्ययन गरेर निर्णय लिनसक्नेछ।’

नेपाल राष्ट्र बैंकले बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएको छ। सोअनुरुप हिमालयन बैंकले मर्जरमा जाने निर्णय समेत गरेर त्यसको लागि अध्ययन गरेको हो।

‘क्रस होल्डिङ’ अर्थात् परस्पर सेयर लगानीका बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरको चर्चाहरु आए पनि आधिकारिक रुपमा निर्णायक छलफलचाहिँ अघि नबढेको थापाले बताए।

‘हाम्रो स्पष्ट धार नै अध्ययन गरिसकेपछि के देखाउँछ, त्यसपछि निर्णायक छलफल अघि बढाइने भन्ने थियो। सम्भवतः त्यसरी नै अघि बढिने कुरा छ’, उनले भने।

बैंकको सम्पत्ति, सेयर र ऋणका विषयहरुलाई लिएर उपयुक्त ‘मर्जर पार्टनर’को लागि बैंकले निर्णय लिने विषय प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनअनुसार हिमालयन बैंकसँग मर्जरको लागि सम्भावित सूचीमा ४ वटा बैंक परेका छन्। त्यसमा पहिलो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक, दोस्रो नम्बरमा सिभिल बैंक, तेस्रो नम्बरमा लक्ष्मी बैंक र चौथो नम्बरमा बैंक अफ काठमाण्डू छ।

थापा भने रिपोर्ट हेरेपछि मर्जरमा नजाने भन्ने विषयको निर्णय पनि सञ्चालक समितिले गर्नसक्ने बताउँछन्।

उनले भने, ‘तर इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने विषयको छलफल पनि अघि बढाउन सक्छ, बैंक अफ काठमाण्डुसँगको कुरा पनि अघि बढाउनसक्ने भयो। त्यो भनेको चाहिँ सर्वाधिकार सञ्चालक समितिलाई हुन्छ।’

यता मर्जर गम्भीर विषय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बताउँछन्।

‘हामीलाई केही महिनाअघि सिभिल बैंकले मर्जरको लागि इच्छुक छु भनेर पत्र पठाएको विषयमा नेप्सेले स्पष्टीकरण नै सोधेको थियो’, उनले भने, ‘त्यसकारण यही बैंकसँग नै मर्ज हुने भन्ने विषयलाई बाहिर ल्याएर छलफल गर्नुहुँदैन। त्यसले समग्र पुँजीबजारमा असर गर्छ।’

बैंकलाई बढी हानि नगर्ने र दुवै पक्षलाई फाइदा हुने अवस्था हेरेर मर्जर अघि बढ्ने उनको भनाइ छ।

कुन बैंकसँग बढी सम्भावना?
तर पनि पहिलो ‘टार्गेट’ भनेको चाहिँ इन्भेष्टमेन्ट बैंक नै रहेको उनले बताए।

हिमालयन बैंकमा सबैभन्दा बढी पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर छ। त्यस्तै कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ।

बैंकमा हिमालय शमशेर राणा, भीमबहादुर पाण्डे, पृथ्वीबहादुर पाण्डे, मोहनगोपाल खेतान, नरसिंहबहादुर श्रेष्ठको सुरुदेखि नै लगानी छ।

यीमध्ये केही व्यक्तिहरुको दोस्रो पुस्तामा सेयर हस्तान्तरण भएको छ भने केही व्यक्तिको नाम अहिले पनि बैंकको मुख्य सेयरधनीमा छ। हिमालय शमशेरको आभा इन्टरनेशनल कम्पनीमार्फतको सेयर शशीकान्त अग्रवालले खरिद गरिसकेका छन्।

त्यसो त सिभिल बैंकमा पनि सबैभन्दा धेरै कर्मचारी सञ्चय कोषको ८ दशमलव ५१ प्रतिशत सेयर हिस्सा छ। त्यसकारणले पनि सिभिल बैंकसँग मर्जरको सम्भावना देखिएको हो।

इन्भेष्टमेन्ट बैंक पृथ्वीबहादुर पाण्डे समूहको बैंक भनेर परिचित छ। उनीहरुसँग राणा समूहको पारिवारिक नाता समेत भएकोले बाहिर मर्जरको बढी चर्चा यही बैंकसँग हुने भन्ने छ।

त्यस्तै खेतान समूहको बैंकको रुपमा परिचित लक्ष्मी बैंकसँग पनि उत्तिकै सम्भावना देखिएको छ। खेतान समूहको हिमालयन बैंक र लक्ष्मी बैंक दुवैमा ठूलो लगानी रहेकोले पनि सम्भावनाको रुपमा हेरिएको हो।

बैंक आफ काठमाण्डू र हिमालयन बैंकका लगानीकर्ताहरु पनि जोडिएकोले यसलाई पनि सम्भावित ‘मर्जर पार्टनर’का रुपमा अध्ययनले देखाएको हो।

यो पनि–
कांग्रेस नेता सुनिल थापाको काँधमा हिमालयन–सिभिल बैंक मर्जर, हबिबको सेयर मुख्य चिन्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .