ad ad

कारोबार


निर्यात कमजोर हुनुमा व्यापारी कति दोषी? विदेशबाट आउन थाल्यो यस्तो गुनासो

निर्यात कमजोर हुनुमा व्यापारी कति दोषी? विदेशबाट आउन थाल्यो यस्तो गुनासो

दीपक भट्ट
माघ २१, २०७७ बुधबार १४:१२,

नेपालको वस्तु निर्यात वार्षिक १ खर्ब रुपैयाँबाट नाघ्न नसक्नुमा व्यापारीसमेत दोषी हुनसक्ने भन्दै सरकारले खोजी सुरु गरेको छ।

क्षणिक लाभको लागि गुणस्तरहीन वस्तु निर्यात गरेर नेपालको छाप नै धमिलो बनाउनमा व्यापारीसमेत सहभागी हुनसक्ने आशंकापछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन थालनी गरेको हो।

पहिलो चरणको लागि मन्त्रालयले विदेशका व्यापारी तथा कुटनीतिक नियोगहरुसँग छलफल गरिरहेको छ। त्यसक्रममा मन्त्रालयले धेरै देशहरुबाट आएको गुनासोसमेत टिपोट गरिसकेको छ।

मन्त्रालयका एक अधिकारीकाअनुसार गतहप्ता भएको छलफलमा जापान, डेनमार्क जस्ता देशरुबाट धेरै गुनासो आएको छ। हस्तकलाका वस्तु, गलैँचा, तयारी पोषाक जस्ता वस्तु निर्यात गर्दा नेपालका केही सिमित व्यापारीहरुले गुणस्तरहीन सामान पठाउने गरेको र त्यसले गर्दा समग्र निर्यातलाई नै असर गरेको छलफलमा गुनासो आएको हो।

ती अधिकारीले भने, ‘विशेष गरि जापान, डेनमार्कतिर पहिलो चरणमा राम्रो गुणस्तरको वस्तु निर्यात गर्ने र त्यसपछि भने गुहणस्तरहिन वस्तु निर्यात गरेर क्षणिक लाभ लिने गरेको गुनासो धेरै मात्रामा आएको हो।’

छलफलमा जापानी आयतकर्ताहरुले त नेपाली व्यापारीहरुको यस्तो गतिविधिले नेपाली वस्तु नै वन्देज गर्नुपर्ने स्थिति पनि आउनसक्ने चेतावनी दिएका थिए।

गत हप्ता भएको छलफलपछि पुनः मन्त्रालयले नेपाली व्यापारीलाई समेत छलफलको लागि बोलाएको छ। बिहीबार डाकिएको छलफलमा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारी तथा निर्यात गर्ने व्यापारीहरुबीच छलफल हुनेछ।

छलफलमा व्यपारीहरुलाई स्पष्टिकरण समेत सोध्ने तयारी सरकारी पक्षको छ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा नेपालको कुल वस्तु निर्यात ५० अर्ब ६ करोड रुपैयाँ बराबरको मात्रै रहेको छ, जबकी वस्तु आयात ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ बराबरको छ।

गन्तव्यका आधारमा भारततर्फको निर्यात र तेस्रो मुलुकहरुमा हुने निर्यात थोरै बढेको छ भने चीन तर्फको निर्यातमा ५५.२ प्रतिशतले गिरावट आएको छ।

चालू आर्थिक वर्षमा जस्तापाता, उनी, गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

पाँच महिना अर्थात मंसिर मसान्तसम्म वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको तथ्याङ्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .