ad ad

कारोबार


‘फ्लप’ भयो हप्तामा दुई दिन विदा दिने प्रस्ताव

‘फ्लप’ भयो हप्तामा दुई दिन विदा दिने प्रस्ताव

वसन्त अर्याल
माघ ७, २०७७ बुधबार ११:४८,

नेपालको आन्तरिक पर्यटनलाई सघाउ पुग्ने भन्दै पर्यटन मन्त्रालयले तयार गरेको हप्तामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव अघि नबढ्ने भएको छ।

आफैँले तयार गरेको उक्त प्रस्ताव तत्काल अघि नबढाउने निष्कर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेको हो।

मन्त्रालयले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भन्दै उद्घाटन नै गरेको थियो तर महामारीका कारण भ्रमण वर्ष मनाउन सम्भव भएन। फलतः सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै नेपाल भित्रिए। लक्ष्य भने २० लाख पर्यटक भित्र्याउने थियो।

विदेशी पर्यटक तत्काल ल्याउन नसकिने निष्कर्ष निकाल्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उपायस्वरुप दुई दिन सार्वजनिक विदा दिन अध्ययन समिति बनाएका थिए।

अध्ययन गर्न गठित समितिले दुई दिन विदा उपयुक्त हुने निष्कर्ष निकाल्दै प्रस्ताव मन्त्रालयमा पेश गरेको थियो।

तर अहिले फेरि मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषद नलैजाने भएको हो।

‘दुई दिने प्रस्ताव तत्काल अघि बढ्दैन’, मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने, ‘अहिलेको अवस्थामा कर्मचारीलाई दुई दिन विदा दिँदा आन्तरिक पर्यटन चलायमान हुने देखिँदैन।’

उनले देशमा राजनीतिक गतिविधि बढ्दा नयाँ योजना लागू गर्ने अवस्था नभएको बताए।

‘अब चुनाव भयो भने कर्मचारी कहाँ खटाउँछन्, त्यहाँ जानुपर्छ। अहिले विदाको दिन थप हुने अवस्था देखिँदैन’, ती अधिकारीले भने।

चालू आर्थिक वर्षको बजेटमा सरकारले ‘देश दर्शन’ कार्यक्रम ल्याएको थियो। मन्त्रालयले देशदर्शन कार्यक्रमको निरन्तरता भन्दै दुई दिने विदा अवधारणा ल्याएको बताउँदै आएको थियो।

पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव कमलप्रसाद भट्टराईको नेतृत्वमा गठित उक्त समितिले अन्तर्राष्ट्रिय मान्यताअनुसार हप्तामा दुई दिन विदा दिन उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गरेको थियो।

उनले विश्वमा अधिकांश देशको अध्ययन गर्दा हप्तामा दुई दिन विदा दिने व्यवस्था रहेको भन्दै नेपालमा पनि दुई दिन विदा दिनु उपयुक्त हुने बताएका थिए।

अध्ययन रिपोर्टमा हप्तामा ४० घण्टा कार्य समय नघट्ने गरी पाँच दिनमात्रै कार्यालय सञ्चालन हुँदा सरकारको धेरै खर्च जोगिने अवस्था रहेको दाबी गरिएको थियो।

‘एक दिन सरकारी कार्यालयमात्रै बन्द हुँदा सवारी इन्धन, पानी, विद्युत् लगायतका क्षेत्रमा हुने खर्च बचत हुने देखाएको छ’, उक्त प्रस्तावमा भनिएको थियो।

अध्ययन समितिले दुई दिन विदाको व्यवस्था गर्दा आन्तरिक पर्यटनका गतिविधि बढाउन सकिने र सामाजिक तथा आर्थिक पक्ष समेत सबल हुने उल्लेख गरेको थियो।

मन्त्रालयका हालका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले भने प्रस्ताव मन्त्रालयमै छलफलमा रहेको बताए।

‘समितिले पेश गरेको विषयमा मन्त्रालयमै छलफल भइरहेको छ’, प्रवक्ता अधिकारीले भने, ‘कहिले प्रस्ताव पास हुन्छ भन्न सकिँदैन।’

समितिले तयार पारेको प्रतिवेदनमा १२७ देशको तथ्यांक अध्ययन गर्दा ११६ देशले हप्तामा दुई दिन विदा दिने देखिएको छ भने ११ देशले १ दिन विदा दिने गरेका छन्। यसअनुसार एसियाका ८८ प्रतिशत देशमा हप्ताको दुई दिन र १२ प्रतिशत देशले १ दिन विदा दिने व्यवस्था रहेको छ।

सार्कमा नेपालबाहेक सबै देशले हप्ताको दुई दिन विदा दिइरहेका छन्।

हाल नेपालमा सार्वजनिक क्षेत्रमा आइतबारदेखि बिहीबारसम्म बिहान १० साँझ ५ बजेसम्म र शुक्रबार १० देखि ३ बजेसम्म गरी हप्तामा ४० घण्टाको कार्य अवधि तोकिएको छ।

सार्वजनिक कार्यालय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुलाउँदा अहिलेजस्तै हप्ताको ४० घण्टा नै कार्यालय खुल्ने थियो।

हप्ताको ५ दिनमात्रै कार्यालयहरु खुल्दा सेवाग्राहीमा असर पर्छ कि पर्दैन भन्ने बारेमा भने केही अध्ययन गरिएको थिएन।

अधिकांश कामकारबाही ‘म्यानुअल्ली’ गर्नुपर्ने अवस्था हुँदा ५ दिन मात्रै कार्यालय खुल्दा सेवाग्राहीलाई झन् समस्या हुने विज्ञहरुले बताएका थिए।

‘सरकारले पहिले पनि हप्तामा दुई दिन विदा दिने व्यवस्था असफल भएको थियो’, पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘कर्मचारीलाई दुई दिन विदा दिए पनि घुम्न जाने अवस्था छैन। प्याकेज वा पारिश्रमिक बढाउनुपर्छ।’

पर्यटन मन्त्रालयकै अधिकारी समेत दुई दिन विदाले आन्तरिक पर्यटनको गतिविधिमा धेरै परिवर्तन नगर्ने बताउँछन्।

‘दुई दिनको विदाभन्दा हामीलाई वर्षमा एक हप्ता ‘टुर लिभ’ दिँदा उपयुक्त हुन्छ’, मन्त्रालयका एक कर्मचारीले भने।

पर्यटन व्यवसायीले भने सरकारी कर्मचारीको लागि मात्र नभई निजी क्षेत्रमा समेत दुईदिने विदा कार्यक्रम लागू पर्ने माग गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .