ad ad

कारोबार


उखु किन्न झोलामा नगद बोकेर खेतमै पुग्न थाले चिनी उद्योगी

उखु किन्न झोलामा नगद बोकेर खेतमै पुग्न थाले चिनी उद्योगी

शैलेन्द्र महतो
माघ ६, २०७७ मंगलबार १४:१२,

उखु खेती घटेपछि चिनी मिलहरुले किसानबाट नगदमै उखु खरिद गर्न थालेका छन्। देशभरीमै यसवर्ष उखु खेती ह्वात्तै घटेपछि उद्योगीबीच उखु खरिद गर्न हानाथाप भइरहेको छ।

महोत्तरीको गौशाला– १ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु लिएको दश दिनमै किसानलाई भुक्तानी दिन थालेको छ। उखु बालीलाई नगदे बाली भनिन्छ तर, वर्षभरि मिहिनेत गरेर नगदमा उब्जाउने उखु उद्योगलाई उधारोमा बिक्री गर्न किसान बाध्य छन्।

गत वर्षहरुमा वर्षदिनसम्म पनि उखुको रकम किसानले पाउन सकेका थिएनन्। तर, यसवर्ष उखु खेती नै घटेपछि उद्योगीको निद्रा हराएको छ। उनीहरु उद्योग चलाउन नगदमै उखु किनिरहेका छन्। चिनी मिलका कर्मचारीहरु झोलामा रुपैयाँ बोकेर गाउँमै काँटा गरेर नगद भुक्तानी गरिरहेका उखु उत्पादक संघ रामनगरका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए।

‘खेती घटेपछि मिलमा अहिले दैनिक उखु अभाव भइरहेको छ। मिल फुल स्पीडमा चल्न पाएको छैन,’उनले भने, ‘महोत्तरीमा हरेकवर्ष ३५ लाख क्वीन्टल उखु उत्पादन हुन्थ्यो। अहिले खेती घटेर १५ लाख क्वीन्टलमा आयो।’

उद्योगपतिले उद्यारोमा उखु लिएर भुक्तानी दिन तीन वर्षसम्म किसानलाई झुलाउनु, सरकारले अनुदान दिन झण्झटिलो प्रक्रिया लागू गर्नु, उखु किसानको समस्यामा सरकार उदासिन हुनु, उखु उत्पादनमा लागत बढ्दै जानु तर, उखुको मूल्य घटदै जानु, जलवायु परिवर्तन भएर समयमा वर्षात् नहुनु जस्ता कारणले उखु खेती ४० प्रतिशतले घटेको हो।

अध्यक्ष कुशवाहाले भने ‘उखुको अभावमा अहिले १२ घण्टा चिनी मिल चल्छ, १२ घण्टा बन्द हुन्छ।’

महोत्तरी गौशाला स्थित एभरेष्ट चिनी मिलले यस वर्षको क्रसिङ्ग सिजनमा हालसम्म ७ लाख ८० हजार क्वीन्टल क्रसिङ्ग गरेको छ। हालसम्म झण्डै ३० करोड रुपैयाँ किसानको बैंक खातामा भुक्तानी पठाइसकेको मिलाका जीएम कृष्णचन्द्र दासले जानकारी दिए।

गतवर्ष उखुको मूल्य सरकारले दिने प्रति क्विन्टल ६५ रुपैयाँ अनुदानसहित ५ सय ३६ रुपैयाँ थियो। कृषि मन्त्रालयले हालै त्यसमा ८ रुपैयाँ थप्दै यसवर्ष उखुको मूल्य प्रति क्विन्टल ५ सय ४४ रुपैयाँ सिफारिस गरेको छ।

तर, किसानहरुले उखुको लागत मूल्य (रोपनी, कटानी, ढुवानी) बढेकोले सरकारले दिने अनुदानसहित प्रति क्वीन्टल ६ सय १७ रुपैयाँ माग गरेका छन्।

हालसम्म उखुको मूल्य यसवर्षका लागि तय भएको छैन। किसानहरुले मिललाई गतवर्षकै मूल्यमा उखु बुझाउन बाध्य छन्। मिलले अनुदान बाहेक उद्योगले तिर्नुपर्ने प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँको दरले भुक्तानी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .