ad ad

कारोबार


कुन बैंकले सेयरधनीलाई कति लाभांश दिँदैछन्?

कुन बैंकले सेयरधनीलाई कति लाभांश दिँदैछन्?

दीपक भट्ट
साउन १९, २०७६ आइतबार ७:१७,

गत आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण हालसम्म नौवटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नेपाल बैंक लिमिटेडबाहेक सबै बैंकले आफ्नो नाफामा वृद्धि गरेका छन्। नेपाल बैंकले गत वर्षको तुलनामा ६० करोड रुपैयाँ कम नाफा कमाएको छ।

अन्य बैंकले भने अघिल्लो वर्षको तुलनामा आफ्नो नाफामा वृद्धि गरेको ती बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणले देखाएका छन्। हालसम्म सार्वजनिक भएको वित्तीय विवरण हेर्दा सबैभन्दा बढी नाफा कमाउने बैंकमा एभरेष्ट बैंक अगाडि छ। उक्त बैंकले तीन अर्ब चार करोड रुपैयाँ नाफा कमाएको छ।

उक्त बैंकले सेयरधनीहरुलाई जम्मा दुई अर्ब १८ करोड रुपैयाँ वितरण गर्नसक्ने जनाएको छ। तर नेपाल बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ वितरण गर्नसक्ने उल्लेख गरेको छ। नेपाल बैंकले १३ अर्ब ३४ करोड रुपैयाँ आफ्नो जगेडा कोषमा रहेको र त्यसको पनि केही रकम वितरण गर्ने देखाएको छ।

यस्तो छ बैंकहरुको वित्तीय स्थिति

bank nafa table2 11

एभरेष्ट बैंक
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा खुद नाफा १८ प्रतिशत बढाएको छ। गत आर्थिक वर्षमा एभरेष्टले तीन अर्ब चार करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लोे वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५८ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष ४६ करोड ४४ लाख रुपैयाँ नाफा बढेको एभरेष्टले गत बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। प्रतिसेयर खुद सम्पत्ति दुई सय १८ रुपैयाँ पुगेको छ। बैंकले एक खर्ब २९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप परिचालन गरी एक खर्ब चार अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ। गत आर्थिक वर्षमा गरेको खुदनाफाबाट एभरेष्टले सेयरधनीलाई दुई अर्ब १८ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने वित्तीय विवरणमा उल्लेख छ। बैंकको निष्क्रिय कर्जा घटेर शून्य दशमलव १६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा शून्य दशमलव २० प्रतिशत थियो। निक्षेप लागत ६ दशमलव २१, सीसीडी रेसियो ७५, आधार दर ८ दशमलव १२ र ब्याजदर अन्तर ४ दशमलव २९ प्रतिशत रहेको छ।

नेपाल बैंक
नेपाल बैंकले गत आवमा दुई अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। एनएफआरएस प्रणालीअनुसार बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा बैंकको नाफा दुई अर्ब ६१ करोड रहेको छ। यो नाफा बैंकको गत वर्षभन्दा ६० करोडले कम हो। २०७५ असार मसान्तसम्मको अवधिमा बैंकले तीन अर्ब २१ करोड नाफा आर्जन गरेको थियो। नौ अर्ब ८१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। नाफा र जगेडा कोषमा भएको रकम समेत गरेर तीन अर्ब ४५ करोड रुपैयाँ सेयरधनीलाई लाभांश बाँड्न सकिने बैंकले विवरणमा उल्लेख गरेको छ। बैंकले एक खर्ब १७ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गर्दा सीसीडी रेसियो ७० प्रतिशतमा कायम राखेको छ। बैंकको खराब कर्जा २.५८ प्रतिशत छ भने आधार ब्याजदर ७.९८ प्रतिशत छ। स्प्रेडदर ४ दशमलव ४५ प्रतिशत कायम गरेको बैंकको कस्ट अफ फण्ड ५ दशमलव ५० प्रतिशत छ। यो अवधिमा बैंकले प्रतिसेयर आम्दानी २७ दशमलव १५ रुपैयाँ पुर्याएको छ।

ग्लोबल आईएमई बैंक
त्यस्तै ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब ७८ करोड पुगेको छ। बैंकले गत आर्थिक वर्षमा ३८ प्रतिशतले नाफा बढाएको देखिएको छ। बैंकले २०७५ असार मसान्तमा २ अर्ब १ करोड नाफा आर्जन गर्नसकेको थियो। ग्लोबलको लाभांश वितरण गर्नसक्ने नाफा भने द्युर्य अर्ब ४२ करोड रुपैयाँ रहेको छ। १० अर्ब ३१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा तीन अर्ब २१ करोड रुपैयाँ रहेको छ। बैंकले एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर एक खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ। बैंकको सीसीडी रेसियो ७८ दशमलव ६९ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा शून्य दशमलव ५५ प्रतिशत छ भने कस्ट अफ फण्ड ७ दशमलव १८ प्रतिशत छ। आधार ब्याजदर ९ दशमलव ५४ प्रतिशत रहेको बैंकको स्प्रेडदर ४ दशमलव ४७ प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २७ दशमलव ११ रुपैंयाँ हुँदा प्रतिसेयर नेटवर्थ १५८ दशमलव ६२ रुपैयाँ रहेको छ।

सानिमा बैंक
सानिमा बैंकले गत आवमा दुई अर्ब २४ करोड नाफा आर्जन गरेको छ। अघिल्लो वर्षका तुलनामा उक्त बैंकले ३२ प्रतिशतले नाफा वृद्धि गरेको हो। २०७५ असार मसान्तमा बैंकले १ अर्ब ६८ करोड नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा भने एक अर्ब २४ करोड रुपैयाँ रहेको छ। सानिमाले गत आर्थिक वर्षमा आठ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब २५ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक वर्षमा ८९ अर्ब निक्षेप संकलन गरेर ८१ अर्ब कर्जा लगानी गरेको छ। बैंकको सीसीडी रेसियो ७७ दशमलव ९१ प्रतिशत छ। शून्य दशमलव आठ प्रतिशत मात्रै खराब कर्जा रहेको बैंकको आधार ब्याजदर ९ दशमलव ४७ प्रतिशत र स्प्रेडदर चार दशमलव ३५ प्रतिशत छ। त्यस्तै, कस्ट अफ फण्ड सात दशमलव ३९ रहँदा प्रतिसेयर आम्दानी २८ दशमलव चार रुपैयाँ छ ।

प्रभु बैंक
प्रतिशतको हिसाबमा हेर्ने हो भने सबैभन्दा धेरै नाफा बढाउने बैंकमा प्रभु बैंक देखा परेको छ। प्रभु बैंकको नाफा गत आर्थिक वर्षमा एक सय ४४ प्रतिशतले वृद्धि भएको हो। २०७५ असार मसान्त अवधिमा ८३ करोड रुपैयाँ मात्रै नाफा कमाएको प्रभु बैंकले २०७६ असार मसान्त अवधिमा भने २ अर्ब ३ करोड नाफा आर्जन गर्न सफल भएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा रकम २०७५ असार मसान्तभन्दा एक अर्ब २० करोड बढी हो। नाफाबाट सेयरधनीलाई एक अर्ब ७३ करोड ३८ लाख रुपैयाँ लाभांश वितरण गर्न सकिने देखिएको वित्तीय विवरणमा उल्लेख छ। प्रभु बैंकले असार मसान्त अवधिमा एक सय १२ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ। चैत मसान्तमा ९७ अर्ब निक्षेप संकलन गरेको बैंकले तीन महिनामा त्यसलाई बढाएर एक खर्ब १२ अर्ब पुर्याएको हो। यो अवधिसम्ममा बैंकले ८६ अर्ब कर्जा लगानी गरेको छ। प्रभुको खराब कर्जा २ दशमलव ३१ प्रतिशत छ भने आधार ब्याजदर ९ दशमलव ३६ प्रतिशत छ। बैंकको स्प्रेडदर भने ४ दशमलव ७० प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव १८ रुपैयाँ छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकको नाफा एक अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा २६ करोडले बढी नाफा आर्जन भएको छ। २०७५ असार मसान्तमा बैंकले जम्मा एक अर्ब २२ करोड नाफा आर्जन गर्न सफल भएको थियो। बैंकको लाभांश अर्थात् वितरणयोग्य नाफा भने एक अर्ब ११ करोड रुपैंयाँ कायम भएको छ। आठ अर्ब ३७ करोड चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा दुई अर्ब ७७ करोड रुपैयाँ छ। सिटिजन्सले गत आर्थिक वर्षमा ७० अर्ब निक्षेप संकलन गरेर ६२ अर्ब कर्जा लगानी गरेको छ। सिटिजन्सको प्रतिसेयर आम्दानी १७ दशमलव ७९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ कायम छ। बैंकको आधार ब्याजदर ११ दशमलव ७८ प्रतिशत कायम हुँदा स्प्रेडदर भने तीन दशमलव ८४ प्रतिशत छ। जुन राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि कम हो। राष्ट्र बैंकले बढीमा चार दशमदव चारको स्प्रेडदर हुनुपर्ने व्यवस्था गरेको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षभरिमा एक अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा ३६ प्रतिशतले नाफा बढाएको हो। एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकले खुद ब्याज आम्दानी २९ प्रतिशतले बढाएर तीन अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको हो। गत वर्ष यस्तो आम्दानी दुई अर्ब ७३ करोड रुपैयाँ थियो। बैंकको निक्षेप संकलन १७ दशमलव ५५ प्रतिशतले बढ्दा ऋण लगानी भने १५ दशमलव ६९ प्रतिशतले बढाएको छ। बैंकले एक वर्षमा ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ७५ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको यो वर्षको वितरणयोग्य नाफा भने एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको खराब कर्जा शून्य दशमलव ४४ प्रतिशतबाट शून्य दशमलव ३७ प्रतिशतमा झरेको छ। आधार ब्याजदर पनि ११ दशमलव ०६ प्रतिशतबाट १० दशमलव ३७ प्रतिशतमा झार्न सफल भएको छ। बैंककाे स्प्रेडदर ४ दशमलव २७ प्रतिशतमा कायम रहेको छ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले गत आवमा १३ प्रतिशतले नाफा बढाएको छ। बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणमा दुई अर्ब ३० करोड ३६ लाख रुपैयाँ कमाएको देखिएको हो। अघिल्लो आवमा बैंकले दुई अर्ब दुई करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकले गत आर्थिक वर्षको चौँथो त्रैमासिक अवधिसम्ममा खुद ब्याज आम्दानी १४ दशमलव ६५ प्रतिशतले बढाएर चार अर्ब ७४ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ। त्यस्तै बैंकले वितरणयोग्य नाफा भने एक अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ। सञ्चालन नाफा १३ दशमलव४८ ले बढेर तीन अर्ब १३ करोड ३९ लाख पुग्दा बैंकको प्रतिसेयर आम्दानी दुई रुपैयाँ एक पैसाले बढेर २७ रुपैयाँ २६ पैसा पुगेको वित्तीय विवरणले देखाएको छ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि गत आवमा नाफा बढाउन सफल भएको छ। बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार बैंकको नाफा नाफा २१ प्रतिशतले बढेर दुई अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको बैंकको नाफा एक अर्ब ९० करोड ४० लाख रुपैयाँ थियो। सिद्धार्थ बैंकले यसबाट सेयरधनीलाई एक अर्ब ६५ करोड २० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्नेछ। बैंकको खुदब्याज आम्दानी चार अर्ब ६७ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ४३ करोड रुपैयाँ गरेको थियो। सिद्धार्थको निष्क्रिय कर्जा अनुपात घटेर शून्य दशमलव ७५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ दशमलव ९ प्रतिशत थियो। निक्षेप लागत ७ दशमलव ५४, आधारदर १० दशमलव ५७, कर्जा र निक्षेप ब्याजदर अन्तर अर्थात् स्प्रेडदर ४ दशमलव ०७ प्रतिशत कायम रहेको बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ। त्यस्तै बैंकको औसत प्रतिफल १६ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .