ad ad

कारोबार


हङकङको कम्पनीले थप ३० लाख डलरको हिसाब मागेपछि सरकारको शरणमा सोल्टी होटल

हङकङको कम्पनीले थप ३० लाख डलरको हिसाब मागेपछि सरकारको शरणमा सोल्टी होटल

दीपक भट्ट
पुस १९, २०७७ आइतबार ७:३४,

सोल्टी होटलको १० प्रतिशत सेयर स्वामित्व बेचेको हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले पहिले नै गरेको लगानी रकमको सावाँ र ब्याजको हिसाबकिताब पनि खोजेको छ।

आफ्नो १० प्रतिशत सेयर बिक्रीबापतको करिब ८० करोड रुपैयाँ लिएर २०७७ जेठ–असारमा बाहिरिएको उक्त कम्पनीले अहिले फेरि ३० लाख अमेरिकी डलरको हिसाबकिताब माग गरिरहेको सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए।

वि.सं. २०५४ सालमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले नेपालका विभिन्न स्थानमा होटल सञ्चालन गर्ने भन्दै ३० लाख डलर ल्याएको थियो। सोल्टी होटलकै चेनका रुपमा नेपालको पर्यटकीय गन्तव्यलाई हेरेर विभिन्न स्थानमा होटलहरु खोल्ने गरी उक्त लगानी नेपाल भित्र्याइएको थियो।

यसका लागि हङकङको कम्पनीले सोल्टीसँग थप होटल सञ्चालनसम्बन्धी सम्झौता समेत गरेको थियो। त्यहीअनुसार नेपालगन्ज र विराटनगरमा जग्गा खरिद गरिएको थियो।

यो योजनाअनुसार नेपालगन्जमा होटल सञ्चालनमा नै आयो भने विराटनरमा किनिएको जग्गामा होटल निर्माण भएन। अरु स्थानमा जग्गाको लागि बैना भए पनि खरिद भने भइसकेको थिएन। त्यतिबेला माओवादी र सरकार पक्षबीच युद्ध चलिरहेको थियो।

सोल्टी होटलमा तत्कालीन राजपरिवारकै लगानी रहेको र त्यही होटल जग्गा खरिदको लागि आएको भन्ने खुलेपछि जग्गा खरिदकर्ताहरु माओवादीको आँखामा परेका थिए र कतिपय ठाउँबाट लखेटिएका थिए।

पछि शान्ति प्रक्रिया सुरु भएपछि पनि यो योजना कार्यान्वयनमा आउन सकेन। अहिले हङकङको कम्पनीले त्यही बेलाको ३० लाख अमेरिकी डलरको हिसाब सोल्टीसँग माग गरेको हो। हङकङको कम्पनीले अहिले त्यो बेलादेखिको ब्याजसहितको हिसाब दिनुपर्ने माग गरेको छ।

हङकङको कम्पनीले त्यस बेलाको पैसा माग गरिरहेको जानकारी दिए।

‘त्यो बेला नेपाल भित्र्याएको ३० लाख डलरको हिसाव हङकङको कम्पनीले माग गरेको छ’, सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले नेपालखबरसँग भने, ‘के कसरी दिन सकिन्छ, त्यसबारे अहिले छलफल भइरहेको छ।’

२०५४ सालदेखिको ३० लाख डलरको ब्याजसहितको रकम विदेशी लगानीकर्ताले माग गरेपछि सोल्टी होटल सरकारको शरणमा पुगेको छ। सोल्टीका लगानीकर्ता रविभक्त श्रेष्ठले पनि लगानीस्वरुप आएको पैसा फिर्ता दिनुपर्ने भए पनि के कसरी दिने भनेर छलफल भइरहेको बताए।

‘त्यो दिनुपर्ने नै पैसा हो तर के कसरी जाने भनेर सरकारी निकाय र आन्तरिक रुपमा होटलमा पनि छलफल भइरहेको छ’, श्रेष्ठले भने, ‘त्यो धेरै ठूलो विषय हैन।’

उद्योग विभागमा भने सोल्टी होटलले त्यस बेलादेखिको ब्याजसहितको रकम दिन नसकिने जानकारी गराइसकेको छ।

लगानीको लागि आएको पैसा पूर्ण रुपमा लगानी नभएकोले के कसरी हिसाबकिताब गर्न सकिन्छ भन्दै होटलले विभागलाई सहजीकरण गरिदिन निवेदन हालेको हो।

निवेदन परेपछि उद्योग विभागले आफुसँग रहेको हङकङको कम्पनी र सोल्टी होटलका कागजातहरु अध्ययन गरिरहेको छ। विभागका एक अधिकारीले दुवै पक्षको लगानीसम्बन्धी फाइलहरु अध्ययन गरिरहेको जानकारी दिए।

‘त्यसरी लगानी विस्तार गर्ने भनेर ल्याएको पैसाको उल्लेख्य कागजातहरु त फेला परेको छैन’, ती अधिकारीले भने, ‘तर दुवै पक्षले स्वीकार गरिसकेको अवस्थामा यसलाई सल्टाउन केही सहज देखिएको छ।’

विभाग अहिले विदेशी लगानीकर्ताले पैसा नै फिर्ता गर्ने सोच बनाएको र जुन उद्देश्यले पैसा आएको हो, त्यसमा लगानी नभएकोले सकेसम्म सावाँ रकम दिने गरी सहजीकरण गर्न लागिपरेको छ।

विभागका ती अधिकारीले भने, ‘विदेशी लगानी आएर पुनः फिर्ता हुने विषय आफैँमा राम्रो कुरा होइन तर यो त लगानी नै नभएको भनिएको छ।’

‘लगानी नभएपछि नेपाली कम्पनीले त्यसको प्रतिफलसमेत दिनसक्ने कुरा त भएन’, उनले भने।

विभागले दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भइरहेको तर कानुनी रुपमा पूर्ण दस्तावेजहरु नभएकोले अप्ठ्यारो परिरहेको जनाएको छ।

‘विभागले मध्यस्थता गर्ने हो, त्यहीअनुसार छलफल गरिरहेका छौँ’, विभागका अधिकारले भने।

यो पनिः
पूर्वराजा शाह ग्रुपको दबाबपछि हङकङको कम्पनीले ८० करोडमा सोल्टीको सेयर बेचेको खुलासा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .