ad ad

कारोबार


पेट्रोलियम पाइपलाइनको कारण आयल निगमको डेढ अर्ब जोगियो

पेट्रोलियम पाइपलाइनको कारण आयल निगमको डेढ अर्ब जोगियो

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ०:३८,

नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको कारण झण्डै डेढ अर्ब रुपैयाँ बचत गरेको छ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड बचत भएको हो। प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेको हो। पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ।

पाँच वर्षदेखि नाफामा
लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि (पाँच वर्ष यता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/०७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा नौ अर्ब ४५ करोड, २०७४/०७५ मा तीन अर्ब ५८ करोड, २०७५/०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/०७७ मा १२ अर्ब ८७ करोड नाफा कमाएको छ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई दश अर्ब पूँजी वृद्धि गरेर एघार अर्ब पु¥याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .