ad ad

कारोबार


पर्वतको पर्यटकीय केन्द्र बन्दै एसियाकै ठूलो ढुंगा ‘मेहल’

पर्वतको पर्यटकीय केन्द्र बन्दै एसियाकै ठूलो ढुंगा ‘मेहल’

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ११:१८,

पर्वतको महाशिलामा रहेको एसियाकै ठूलो ढुंगा पर्यटकीय आकर्षणको केन्द्र बनेको छ।

खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो। सो क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेका छन्। करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुंगा पर्वत घुम्न आउने पर्यटकका लागि आर्कषणको केन्द्र बनिरहेको छ। 

महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ।

विगतमा प्रचार प्रसारको अभावका कारण यो ढुंगाको खासै चर्चा हुने गरेको थिएन। पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा सडक यात्रा गरेपछि महाशिला ढुंगा पुग्न सकिन्छ।

मोटरबाटोको सुविधा पुगे पनि पर्यटकहरु भने खासै पुगेको पाइँदैन। तर अहिले गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरु निर्माण र होमस्टे सञ्चालन गरिएको छ।

यस्तै महाशिला ढुंगालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’ समेत गठन गरिएको छ। गण्डकी प्रदेश सरकारले महाशिलामा पूर्वाधार निर्माणको लागि ८२ करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ। यसबाहेक पानी धारा निर्माणको लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको र सोही योजनाअनुरुप १ सय ८ धारा निर्माण सम्पन्न भइसकेको छ।

आन्तरिक र बाह्य पर्यटकका लागि महाशिला ढुंगा उत्कृष्ट गन्तव्य बन्न सक्छ। यसलाई उचित व्यवस्थापन गर्नको लागि गाउँपालिकाले काम गरिरहेको जनाएको छ। गाउँपालिकाले १ सय ८ फिट अग्लो भगवान शिवको मुर्ति निर्माणको काम अगाडि बढाउने योजनासमेत बनाएको छ।

दीर्घकालिन योजना अनुसार महाशिला क्षेत्रभित्र शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृत विद्यालयको स्थापना गर्ने, दुई सय ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउने लगायतका योजनाहरु पनि गाउँपालिकाले बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .