ad ad

कारोबार


कोरोना महामारीः दोस्रो विश्वयुद्धपछि पहिलोपटक कीर्तिमानी दरमा घट्यो विश्वको कार्बन उत्सर्जन

कोरोना महामारीः दोस्रो विश्वयुद्धपछि पहिलोपटक कीर्तिमानी दरमा घट्यो विश्वको कार्बन उत्सर्जन

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ७:२३,

सन् २०२० मा विश्वमा कार्बन उत्सर्जनदरमा कीर्तिमानी गिरावट आएको छ। अध्येताहरुका अनुसार यो वर्षमात्रै ७ प्रतिशतले कार्बन उत्सर्जन घटेको हो।

यो दोस्रो विश्वयुद्धयताकै धेरै वार्षिक गिरावट हो। खासगरी कोरोना महामारीविरुद्ध विश्वका सरकारहरुले गरेका लकडाउनका कारण यस्तो सफलता हात परेको बताइएको छ।

फ्रान्स र बेलायतमा यस्तो गिरावट दर उच्च छ। ती दुवै देशले कोभिड संक्रमण रोक्न कडा र लामो लकडाउन गरेका थिए। तर चीनमा भने महामारीको प्रभाव क्रमशः घट्दै जाँदा यो वर्ष उत्सर्जन फेरि उच्च दरमा बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

यो वर्षको कार्बन गिरावट दरले यसअघिका सबै गिरावट दरको कीर्तिमान भंग गरेको बीबीसीले जनाएको छ।

ग्लोबल कार्बन प्रोजेक्ट टोलीका अनुसार यो वर्ष मात्रै २ अर्ब ४० करोड टन कार्बन उत्सर्जन घटेको छ। सन् २००९ मा विश्व आर्थिक मन्दीका बेला ५० करोड टनमात्रै घटेको थियो भने दोस्रो विश्वयुद्धका बेला १ अर्ब टन घटेको थियो।

युरोप र अमेरिकामा १२ प्रतिशतका दरले घटे पनि कुनै कुनै देशमा भने त्योभन्दा धेरैले कार्बन उत्सर्जन घटेको छ। फ्रान्सको कार्बन उत्सर्जन दर १५ प्रतिशतले र बेलायतको १३ प्रतिशतले घटेको बताइएको छ।

लकडाउन र प्रतिबन्धका कारण विश्वको हवाइ क्षेत्र यो वर्षको अन्तिमसम्म पनि प्रभावित भएका छन्। यो क्षेत्रको उत्सर्जन दर ४० प्रतिशतभन्दा तल रहने बताइएको छ।

अनुसन्धान टोलीले चीनमा यो वर्ष १.७ प्रतिशतले मात्रै कार्बन उत्सर्जन घट्ने अनुमान गरेको छ। तर कतिपय विश्लेषकले भने चीनमा आर्थिक क्रियाकलाप फर्किसकेको भन्दै उत्सर्जन दर बढिरहेको आशंका व्यक्त गरेका छन्।

सन् २०१० को सुरुतिर विश्व कार्बन उत्सर्जन दर ३ प्रतिशतबाट घटेर ०.९ प्रतिशत हाराहारीमा झरेको थियो। खासगरी कोइलालाई मुख्य ऊर्जा स्रोत मान्ने प्रचलनको विकल्प खोजिनथालेपछि यस्तो गिरावट देखिएको थियो।

यो वर्ष कीर्तिमानी दरमा घटे पनि सन् २०२१ मा पुनः कार्बन उत्सर्जन बढ्ने चिन्ता अनुसन्धाताहरुले गरेका छन्। वैज्ञानिकहरुले यो वर्षको कार्बन उत्सर्जनमा आएको कमीलाई स्वागत भने गरेका छन्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .