सेयरबजारमा आज ४ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से आज ८.२७ र सेन्सिटिभ सूचक २.३२ अंकले बढेको हो।
आज २०४ कम्पनीको ९८ लाख ८३ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ३९ हजार ४ सय १० पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा संलग्न १२ समूहमध्ये विकास बैंक, जलविद्युतको सूचक रातो भए पनि बाँकी समूहको हरियो छ।
सेयरबजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोडको, पुनर्बीमा कम्पनीको ३५ करोडको, ग्लोबल आईएमई बैंक प्रोमोटर सेयरको २२ करोडको, हिमालयन डिस्टिलरीको १८ करोडको, नेपाल टेलिकमको १३ करोडको कारोबार भएको छ। यो आजको सर्वाधिक कारोबार हो।
त्यस्तै आज लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन् भने प्रभु बैंक प्रोमोटर सेयरका लगानीकर्ताले पनि १० प्रतिशत कमाएका छन्। यसबाहेक नारायणी विकास बैंक लिमिटेड, हिमालयन डिस्टिलरीलगायतका कम्पनीको सेयर पनि बढेको छ।
माथिल्लो तामाकोशीका लगानीकर्ताले भने आज ९.८७ प्रतिशत गुमाएका छन्। रसुवागढी र साञ्जेन जलविद्युतका लगानीकर्ताले पनि क्रमशः ८.६१ प्रतिशत र ६.४३ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ।
Shares
प्रतिक्रिया