६ वर्षअघि भुटानी अभिनेत्री उग्येन छोडेन पहिलो पटक नेपाल आएकी थिइन्।
त्यतिबेला काठमाडौं उनका लागि एउटा नयाँ गन्तव्य थियो। भुटानमा उनको परिवारको कपडा पसल छ। आमा चिनियाँ कपडा भुटान लैजान नेपाल आइरहन्छिन्। उग्येन आमालाई सघाउन काठमाडौं आएकी थिइन्। ट्राभल एजेन्सीकी कर्मचारी उनलाई थिम्पु फर्किएपछि त्यही वर्ष फिल्मको अफर आयो।
सुरुमा उनले पत्याइनन् तर वास्तविकता त्यही थियो। पत्याउन करै लाग्यो। त्यसपछि सुरु भयो उग्येन छोडेनको फिल्मी यात्रा। सन् २०१४ मा उनले ‘लोक्सो’ र ‘जिजनांग’गरी दुइ फिल्ममा अभिनय गरिन्। जोंखा भाषाका यी दुई फिल्मले उनलाई नायिका बनाइदिए।
आमाको व्यापार चलिरहेकै थियो, उनी फुर्सद हुँदा कहिलै कहीँ नेपाल आउथिन्। निरन्तरको आवात–जावतले उनको मनमा काठमाडौंले ठाउँ पायो। माया गाढा बनायो। उनलाई नेपाल आफ्नै देश भुटानजस्तै लाग्न थाल्यो। यहाँका मान्छेहरु प्रिय, प्रेमिल लाग्न थाले।
‘थाहै नपाई मेरो मनमा नेपाल बस्यो’ उग्येन प्रफुल्लि हुँदै भन्छिन्, ‘त्यसैले त अहिलेसम्म म ९ पटक नेपाल आइसकेँ।’
फिल्म क्षेत्रमा लागेसँगै सामाजिक संजालमा जोडिएकी उनको फेसबुक पेजमा १८ हजार लाइक छ भने र इस्टाग्राममा १२ हजार फलोअर छन्। ८ लाख जनसंख्या भएको देशकी अभिनेत्रीका लागि यो संख्या ठूलै हो। भुटानमा ३ लाख हाराहारी फेसबुक प्रयोगकर्ता छन्।
अनौपचारिक माध्यम भाषा नेपाली रहेको भुटानमा अधिकांश मान्छे नेपाली बुझ्छन्। कलाकार हुनुभन्दा अगाडि नै राजेश हमालको फिल्म हेरेको उनले सुनाइन्।
‘म पहिल्यैदेखि राजेश हमालका फिल्महरु हेर्ने गर्थेँ। नेपाली सिने क्षेत्रको क्रेज देखेर दंग पर्थेँ’ उनी भन्छिन्, ‘नेपाली फिल्मप्रति मेरो चासो बढ्दै जानु र मप्रति पनि नेपाली फिल्मकर्मीको चासो बढ्नुले यतिधेरै निकट हुने अवसर जुर्यो।’
जीवनमै पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी उनी आफूले खुब रमाइलो गरेको बताउँछिन् । भन्छिन्, ‘मलाई निकै गजब अनुभव भयो। पल शाहसँग अभिनय गर्न पाउँदा निकै खुसी छु।’
म्युजिक भिडियोको सुटिङ गर्दा उनी नेपाली संस्कृति झल्कने पहिरनमा थिइन्। आफूलाई नेपाली पोशाकमा निकै रमाइलो लागेको उनले सुनाइन्।
‘म पहिल्यैदेखि नेपाली म्युजिक भिडियोहरु हेर्थेँ। आफू पनि त्यस्तै भिडियोमा काम गर्न पाउँदा मलाई निकै खुसी लागेको छ’ उग्येनले भनिन्, ‘यो मेरो लागि अविस्मरणीय क्षण नै हो।’
यस पटक उनले नेपालको फिल्म निर्माण तौर तरिका पनि बुझ्ने अवसर पाइन्। अभिनेत्री हुँदै निर्देशक भइसकेकी उनी नेपाल र भुटानबीच फिल्म निर्माण टेक्निकमा खासै फरक नरहेको बताउँछिन्।
‘नेपाल टेक्निकल्ली राम्रो रहेछ। नेपालमा फिल्म बनाउँदा रेड क्यामेराको प्रयोग हुँदोरहेछ भने भुटानमा निकै कम हुन्छ’ उनी भन्छिन्। अन्य फरक भनेको भाषा र संस्कृति मात्र रहेको उनको दाबी छ।
उग्येनका लागि यो पटकको नेपाल बसाइ किन पनि गज्जब भयो भने उनले २ नेपाली फिल्ममा अभिनयका लागि सहमति गरेकी छन्। एउटा फिल्मको सुटिङ यसै वर्ष असोजदेखि र अर्कोको माघतिर सुरु हुनेछ।
‘नेपालमा जस्तो भुटानमा फिल्मको क्रेज धेरै छैन’ उनी भन्छिन्, ‘मलाई राम्रो फिल्म खेलेर धेरै नेपालीको माया पाउनु छ।’
अब आफूले खेल्ने फिल्मको स्क्रिप्ट पढेपछि अझ राम्रो गर्न सक्ने आत्मविश्वास उनमा बढेको छ।
पछिल्लो समय उनी सामाजिक सञ्जालबाट नेपालीसँग नजिक भइरहेकी छिन्। पछिल्लो एक सातामा ५०० भन्दा धेरै नेपाली सामाजिक सञ्जालमा उनीसँग जोडिएका छन्।
‘कुन देशको मान्छेभन्दा पनि भावनात्मक सम्बन्ध महत्वपूर्ण हुँदोरहेछ’ उग्येन भन्छिन्, ‘नेपालीहरुले मलाई यति धेरै प्रेम दिनुभएको छ। म पनि त्यसको बदलामा यहाँहरुलाई प्रेम नै दिनेछु।’
***
उनलाई नेपालमा सबैभन्दा मन परेको भनेको यहाँको खाना होर्। नेपालको फरक संस्कृति र पहिरन पनि मन पर्छ। जाती, भाषा र धर्मअनुसारको पहिरन लगाएको देख्दा उनलाई अचम्म लाग्छ।
उग्येनलाई पनि साथीहरुले सारी, कुर्ता–सुरुवाललगायतका विभिन्न पोसाक उपहार दिएका छन्। उनलाई नेपालीले लगाउने हरेक पोशाकमा सजिन मन छ।
उग्येन भुटानको मध्यम वर्गीय परिवारमा जन्मिएकी हुन्। परिवारका सबै रोजगारीमा छन्। १८ वर्षको हुँदादेखि नै काम गर्न थालेकी उनी सानैदेखि आफूले समाज बुझ्न पाएको बताउँछिन् ।
‘आप्पालाई दुःख दिँदिन, आफ्ना लागि आफै पैसा कमाउँछु भनेर सानैदेखि काम गरेर पैसा कमाउन थालेकी हुँ’ उग्येन भावुक हुन्छिन्।
फिल्म उनको सपना थिएन। बरु उनी पत्रकार बन्न चाहन्थिन्। समयले उनलाई नायिका बनाइदियो। भुटानमा सबैमाझ चिनायो। अब उनको पहिचान दायरा अझ पराकिलो हुँदैछ। ‘म अहिले नै यहाँ पुग्छु भनेर सपना देख्दिनँ तर निरन्तर काम गरिरहन मन छ’, उनी भन्छिन्।
नेपाली रजतपटसँग सिक्किम, दार्जिलिङ क्षेत्रका नेपाली भाषी कलाकारको सधैँ भावनात्मक सम्बन्ध रहँदै आएको छ। निर्देशक तलसी घिमिरेदेखि निरुता सिंह, उत्तम प्रधान रजनी शर्मा नेपालमा सधैँ हिट छन्। उनीहरुले लामो समय यहीँ बिताए। दर्शकको मन मुटुमा आफूलाई स्थापित गरे। हाँसिमारा माथि भूटानबाट आएर नेपाल रजतपटमा उदाउने तर्खरमा रहेकी उनको योजना के छ त?
‘अहिले मलाई नेपाली दर्शकको मन जित्नुछ यो बाहेक धेरै कुरा अहिलै म भन्न सक्दिनँ’, उनले सुनाइन्।
प्रतिक्रिया