ad ad

कारोबार


रुपन्देहीको ‘ड्रिम प्रोजेक्ट’ तिनाउ र दानव कोरिडोर निर्माण सुरु

रुपन्देहीको ‘ड्रिम प्रोजेक्ट’ तिनाउ र दानव कोरिडोर निर्माण सुरु

प्रकाश न्यौपाने
मंसिर १०, २०७७ बुधबार १२:२,

तिनाउ र दानव नदीलाई समेटेर रुपन्देहीमा कोरिडोर निर्माण सुरु भएको छ। कोरिडोरको बुधबार नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन्।

आफ्नो चुनावी घोषणापत्रमा समेत यो परियोजनालाई महत्वका साथ समावेश गरेका पौडेलले आयोजनालाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा अगाडि सारिएको बताए। कोरिडोरको शिलान्यास गर्दै मन्त्री पौडेलले रुपन्देहीमा कुनै पनि विकास आयोजना अधुरा रहन नदिने र आर्थिक, पर्यटन, सांस्कृतिक र वाणिज्यको केन्द्र बनाउने गरि योजना अगाडि बढाइने आश्वासन दिए।

मन्त्री पौडेलले अहिले संचालन भइरहेका र अगाडि सारिएका आयोजनाहरु सम्पन्न हुँदा रुपन्देही विकासमा सबैभन्दा अब्बल बन्ने र रुपन्देहीको महत्व अझै बढ्ने उल्लेख गर्दै निर्वाचनको बेला जनतासँग गरिएका प्रतिबद्धता र घोषणापत्र एकएक गरि कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

‘यहाँका हरेक आयोजनामा बजेट अभाव हुन दिइँदैन, पार्टी र मैले निर्वाचनका बेला गरेका सबै प्रतिबद्धता पूरा गर्छौ’, उनले भने।

अर्थमन्त्री पौडेलले अहिलेको सरकारले एकपछि अर्को राष्ट्र र जनपक्षीय निर्णय गर्दै नतिजा र परिणाममुखी काम गरेर देखाउने बताए। बुटवल बजारको बीच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारै किनार बन्ने करिडोरको निर्माणपछि भारतीय सिमासँग जोडिएको रुपन्देहीको मर्चवारलाई बुटवलसँग जोडिन सहज हुने विश्वास उनले गरे।

कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुँदै आएको तिनाउ नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ।

हाल तिनाउको बहाव क्षेत्र समेत अतिक्रमण गरि बस्ती बसाइएको छ। सडक निर्माणको क्रममा बहाव क्षेत्र छाडेर नदीको जगदेखि नै पर्खाल लगाइने भएकाले नदी कटान तथा अतिक्रमणको समस्या हट्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ।

हाल नदीको किनारसम्मै घरटहरा बनाई बस्ती बसेकाले सडक निर्माणका क्रममा घरटहरा हटाउनु पर्ने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ। कोरिडोरका लागि ७ सय ५ वटा घरटहरा हटाउनुपर्ने र त्यसका लागि बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र सैनामैना नगरपालिकाले लिखित प्रतिवद्धता समेत गरिसकेको कार्यालयले जनाएको छ।

तिनाउ र दानवलाई दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यसहित रुपन्देहीका कोरिडोर निर्माण सुरु भएको छ। पर्यटन विकासका लागि समेत महत्वपूर्ण मानिएको यो महत्वकांक्षी कोरिडोर अन्तर्गत सडक निर्माण बुधबारदेखि सुरु भएको हो।

गत असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउतर्फ बुटवल उपमहानगर बसपार्कपछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगरघाटसम्म र दानवपट्टी बेलबासको झोलुङ्गे पुलदेखि नयाँ गाउँको पुलसम्म काम हुने डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर कृष्ण कुँवरले बताए।

कोरिडोरको पहिलो चरणमा ५० किलोमिटर सडकको डीपीआर तयार पारिएको छ। योमध्ये अहिले तिनाउतर्फ साढे आठ र दानव नदीतर्फ तीन किलोमिटर सडक निर्माण सुरु गरिएको कुँवरले जानकारी दिए।

निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार २२ मिटर चौडाइको सडक क्षेत्रमध्ये किनारतर्फको १० मिटर ग्रिनरी अर्थात् रुख रोपेर हरियाली बनाइने र बाँकीमा १२ मिटरमा सडक संरचना हुने इन्जिनियर कुँवरले जानकारी दिए। तिनाउ कोरिडोर निर्माणमा ५२ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने बताइएको छ।

कोरिडोरको किराँतेश्वर मैनाचुली अविसा जेबिले ३६ महिनामा निर्माण सम्पन गर्ने गरी ठेक्का सम्झौता गरेको छ। यस्तै दानव कोरिडोर निर्माणका लागि १९ करोड ४२ लाख रुपैयाँमा २७ महिनामा सक्ने गरी लामा बानियाँ जेबीले ठेक्का सम्झौता गरेको कुँवरले बताए।

तिनाउ र दानव नदीका दुवै किनरामा बन्ने यो सडकले बुटवलदेखि मर्चवारसम्मलाई जोड्नेछ। कोरिडोरअन्तर्गत ५० किलोमिटर सडक निर्माणको डीपीआर तयार भइसकेको छ। तिनाउ कोरिडोरमा बुटवलबाट अमुवासम्म साढे १७ किलोमिटरका दरले दुवैतर्फ ३५ किलोमिटरको सडकको डीपीआर तयार भएको कुँवरले जनाए।

यस्तै, दानव कोरिडोरमा बुटवलबाट कर्शाघाटसम्म साढे ७ किलोमिटरका दरले दुवैतर्फको १५ किलोमिटरको लागि डीपीआर तयार भएको हो। डीपीआर भएका दुवै कोरिडोरको ५० किलोमिटर सडकका लागि ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको कुँवरले जनाए।
‘थप बजेट आए कोरिडोरको अन्य क्षेत्रको पनि निर्माण प्रक्रिया अघि बढाउँछौं’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .