मानुङकोट अर्थात् तनहुँको व्यास नगरपालिका ५ मा पर्ने मानहुँकोट डाँडासम्म पुग्न कुनै चिल्लो सडक बनेको छैन। न त डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर नै बनिसकेको छ। तर पनि मानिसहरुको एकाबिहानै भीड बढ्न थालेको छ।
कोरोना भाइरसको महामारीकै बीचमा नेपालमा थुप्रै पर्यटकीय सम्भावना बोकेका स्थलहरु प्रचारमा आइरहेकामध्ये एक हो मानुङकोट। प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ।
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा मानुङकोट पुग्ने कच्ची बाटोमा केही दिनयता सयौँ मोटरसाइकलको ट्राफिक जाम भएको दृश्यले सबैलाई अचम्म पारेको छ। पोखरा, काठमाडौं, चितवन, रौतहटबाट समेत थुप्रै मानिसहरु यहाँ घुम्न आइरहेका छन्।
मानिसहरु ताँती लगाएर यहाँ आउनुमा प्राकृतिक मनोरम दृश्य नै मुख्य कारण हो। भौतिक पूर्वाधार त बल्ल बन्ने तरखरमा छन्।
बिहानको कलिलो सूर्योदय र बेलुकीका सूर्यास्तको दृश्यले मानिसहरुको मन आह्लादित पार्ने त छँदै छ, बादलमाथि उभिएको मानुङकोटबाट देखिने हिमाल र मौसम खुलेपछि आँखामा कैद हुने दमौली बजार र वरपरका डाँडाहरुले पर्यटक तानिरहेको बुझ्न सकिन्छ।
बन्दै छ पक्की सडक
पोखराबाट ५५ किलोमिटर दूरीमा रहेको मानुङकोट दमौली बजारबाट ७ किलोमिटर, पृथ्वी राजमार्गको चापाघाटबाट ६ किलो मिटर पर छ।
मानुङकोट डाँडामा पुग्ने कालो बाटोको करिब २ किलो मिटर पिच भइसकेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा पूर्णरुपमा सडक निर्माण सकिनुपर्नेमा कोरोना महामारीको कारण बीचमा रोकिएको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए।
अचाक्ली भीडसँगै पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था
पछिल्ल्लो समय मानुङकोटमा पर्यटकको भीड बढेपछि आइतबार बसेको स्थानीय तहको बैठकले त्यहाँ जानका लागि पूर्वस्वीकृति लिनुपर्ने निर्णय गरेको छ। जथाभावी भीड बढेकाले पूर्वस्वीकृति लिएर मात्र जान सकिने वडा नं ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठले बताए।
‘त्यहाँ जाने एउटै मात्र बाटो भएकाले वडामार्फत नाम दर्ता सुरु गरेका हौं, अहिलेका लागि निकै चुनौतीपूर्ण छ। तर पनि हामीले नाम दर्ता गर्न सुरु गरिसकेका छौँ’, उनले नेपालखबरसँग भने, ‘विशेष गरेर टाढाबाट आने पर्यटकलाई लक्षित गरेर कसरी काम गर्ने भनेर छलफल पनि गरिरहेका छौँ। यसको लागि वडाका केही सदस्यहरुको नम्बर दिएर नाम दर्ता गर्ने व्यवस्था गर्नेछौँ।’
अन्य दिनभन्दा शुक्रबार र शनिबारका लागि विशेष ध्यान दिनुपर्ने देखिएको उनले बताए। अहिले कोरोना महामारीको कारण पनि स्वास्थ्य मापदण्डलाई पालना गर्नसकिएमा त्यति समस्या नआउने श्रेष्ठको भनाइ छ।
त्यस्तै नगर प्रमुख न्यौपानेले आफूहरुले यस ठाउँको विकास गरिरहेको बताउँदै त्योभन्दा सामाजिक सञ्जालबाट तीव्र प्रचार भएपछि चर्चा बढेको बताए।
उनले भने, ‘हामीले आगामी वर्षका लािग सोचेर काम गरिरहेका थियौँ तर सामाजिक सञ्जालको कारण अहिले आउजाउ बढेको छ।’
धार्मिक र पर्यटकीय गन्तव्यमा उभिँदै छ भ्युटावर
बिहानको समयमा देखिने सूर्योदयको दृश्यावलोकनका लागि अहिले भ्यु टावरको पनि निर्माण भइरहेको छ। नगरपालिकाले करिब २५ लाखको लागतमा बार लगाउने काम सम्पन्न गरिसकेको छ। हरेक वर्ष म्याराथन आयोजना भइरहने मानुङकोट कूटनीतिका विद्वान् यदुनाथ खनालको जन्मस्थल तथा आदिकवि भानुभक्त आचार्यको मावली गाउँ समेत हो।
ऐतिहासिक महत्व पनि बोकेको मानुङकोटमा सिद्धबाबाले ध्यान गरेको तपोभूमि पनि हो। सिद्धबाबा एउटा चिम्टाको सहारामा अडिएर ध्यान गरिरहेको किंवदन्ती पनि छ। बादलहरुको पनि ऐतिहासिक महत्व बोकेको मानुङकोटको इतिहास अध्ययनका लागि आफूहरुले काम सुरु गरिसकेको वडा नं ५ का अध्यक्ष श्रेष्ठले बताए।
एक्कासि चर्चा !
यो ठाउँबारे धेरैलाई थाहै थिएन। तर गएको करिब २ हप्तामा नै मानुङकोटले चर्चा बटुलेको छ, दैनिक ५ सयभन्दा बढी पर्यटक तान्नथालेको छ।
विशेष गरेर शुक्रबार र शनिबार भीड हुने मानुङकोटमा गत शनिबार मात्र ५ हजारभन्दा बढी पुगेका थिए। भौतिक पूर्वाधार निर्माण हुँदै गरेको मानुङकोटमा सिढी र शौचालय निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। ३७ लाखको लगानीमा भ्यु टावर निर्माण भइरहेको छ।
यस्तै पछिल्लो बैठकले सो स्थानमा चहलपहल बढेसँगै जग्गाको कारोवार पनि बढेकाले आगामी पुस मसान्तसम्मका लागि जग्गा स्वीकृति पनि बन्द भएको छ। अबको केही महिनामा त्यहाँ रहेको निजी र सार्वजनिक जग्गा छुट्याउने काम गरिने नगर प्रमुख न्यौपानेले बताए।
अहिले संघीय सरकारको योजनाअन्तर्गत सडक निर्माणको काम भइरहेको छ। मानुङकोट पुग्नका लागि दमौलीबाट केही पक्की र धेरै कच्ची बाटो पार गर्नुपर्ने हुन्छ। यहाँसम्म पुग्नका लागि अहिले सडक निर्माणको काम पनि भइरहेको छ।
पछिल्लो समय सवारी चाप बढेसँगै ट्राफिक जाम समेत हुनथालेको छ। यहाँ भौतिक पूर्वाधारको नाममा डाँडा छेउको भिरालो भागमा रेलिङ लगाइएको छ। ग्रामीण जनजीवनलाई नजिकबाट नियाल्नका लागि पनि यो ठाउँ राम्रो र आकर्षक पर्यटकीय गन्तव्य बन्नसक्छ। मगर जातिको बाहुल्य रहेको मानुङकोटमा पहिला ७०/८० घर थिए तर अहिले पानीको समस्याकै कारण ६/७ घर मात्रै छ।
भिडियो –
बिहानको समयमा देखिने सूर्योदय हेर्नका लागि शुक्रबार साँझ नै थु्रपै व्यक्तिहरु समूहमा पुग्ने र टेन्ट (पाल) टाँगेर बस्ने गरेका छन्। भीड बढ्दै गएसँगै यहाँ फोहोरको थुप्रो लाग्ने निश्चित छ।
त्यसको लागि स्थानीय निकायले समयमा नै ध्यान दिन जरुरी छ। मानुङकोट पुगेर फर्कनेहरुले जति जति प्राकृतिक सुन्दरताको चर्चा गर्छन्, त्यति नै फोहोर बढ्दै गएको भन्ने चिन्ता पनि व्यक्त गरिरहेका हुन्छन्।
Shares
प्रतिक्रिया