ad ad

कारोबार


चीनको शाङहाईमा अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरु, ६ वटा नेपाली कम्पनी सहभागी

चीनको शाङहाईमा अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरु, ६ वटा नेपाली कम्पनी सहभागी

चेतनाथ आचार्य
कात्तिक १९, २०७७ बुधबार १६:२१,

बुधबार साँझ तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो चीनको शाङहाईमा सुरु भएको छ। सो एक्स्पोसँगै होङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्चको पनि उद्घाटन भएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ बजार विश्वका लगानीकर्ताहरुका लागि आकर्षणको केन्द्र भएको बताए।

भिडियोमार्फत सम्बोधन गरेका सीले चीन आर्थिक रुपमा अझै खुला हुने कुरा दोहोर्याएका छन्। चीनले कोरोना महामारीको रोकथाममा प्रभावकारी कदम चालेको बताउँदै निर्धारित योजनाबमोजिम उक्त विश्वव्यापी आयात व्यापार एक्स्पोको आयोजना गरेको कुरामा उनले जोड दिए।

कोरोना महामारीका कारण विश्वमा पूर्व निर्धारित महत्वपूर्ण कार्यक्रमहरु स्थगित भइरहेका बेला चीनले विशाल जनसमुदाय भेला हुने आयात एक्स्पोलाई भने पूर्वकार्यतालिकामै संचालन गरेको छ। यस कुराले चीनको इच्छा शक्ति र कोरोना नियन्त्रणमा आत्मविश्वास आश्चर्य लाग्दो देखिन्छ।

गत सेप्टेम्बरमा आयोजित चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलापछि चीनले आयोजना गरेको यो अर्को अफलाइनमा प्रत्यक्ष सहभागी भएको अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक कार्यक्रम हो।

कोरोना महामारीकै कारण जापानले ओलम्पिक खेलकुदलाई अनिश्चित समयका लागि स्थगित गरिसकेको छ। संयुक्त राष्ट्रसंघको महासभा पहिलोपकट अनलाइन भिडियो सम्बोधन गरेर सम्पन्न भएको अवस्थामा चीनले विशाल जनसंख्या सहभागी गराएर दोस्रोपटक यस खालको जमघट गरेको हुनाले विश्व अर्थजगत उत्साही बनेको छ।

अन्तर्राष्ट्रिय उत्पादनलाई चिनियाँ बजारमा पहुँचको अवसर दिने यस एक्स्पोको पहिलो उद्देश्य हो। विशेष गरी खुला अर्थतन्त्रमा चीनले विगत एक दशकमा थुप्रै कानुन र नीतिहरु संशोधन गरेर खुकुलो बनाउँदै आएको छ।

चीन संसारकै सबैभन्दा ठूलो उपभोक्ता भएको बजार हो। बुधबार साँझ सम्बोधनमा पनि चिनियाँ राष्ट्रपति सीले यही कुरामा जोड दिए। राष्ट्रपति सीका अनुसार एक अर्ब चालीस करोड जनसंख्या भएको चीनमा मझौला आम्दानी भएका चिनियाँको संख्या ४० करोडभन्दा बढी छ जुन विश्वमा सबभन्दा ठूलो उपभोक्ता शक्ति भएको विशाल बजार हो।

चीनले आगामी १० वर्षमा २२ खर्ब अमेरिकी डलरको आयात गर्ने बताउँदै राष्ट्रपति सीले यस्तो अवसर विश्व बजारलाई उपलब्ध गराउने जानकारी दिए। उनले दोस्रो एक्स्पोमा चीनले घोषणा गरेको वैदेशिक खुलापनलाई विस्तार गर्ने अनेकन कदमहरू चौतर्फी रूपमा व्यवहारमा उतारी सकेको स्पष्ट पारे। खुला र सहयोगको बाटोमा हिँड्ने चिनियाँ नीतिमा कुनै परिवर्तन नभएको भन्दै विभिन्न देशहरूसँग हातमा हात मिलाएर साझा रूपमा जोखिम तथा चुनौतिको सामना गर्ने कुरामा चीनको अडान प्रस्तुत गरे।

चीनले खुलापन, सहयोग, एकता तथा साझा विजयको विचार लिएर चौतर्फी रूपमा खुलापनलाई विस्तार गर्दै अझ प्रभावकारी रूपमा स्वदेशी तथा विदेशी बजारलाई सम्पर्क गर्ने र मुख्य स्रोत वितरण गर्ने कुरामा राष्ट्रपति सीले जोड दिए। चिनियाँ बजारलाई विश्व बजारसँग जोड्न्, बजार वितरण गर्ने र चिनियाँ बजारलाई सबैको बजार बनाएर अन्तर्राष्ट्रिय जगतमा अझ बढी सकारात्मक शक्ति थप्ने औँल्याए।

सम्बोधनका क्रममा उनले आर्थिक रुपमा अझै खुला हुने कुरामा केही नीतिहरुको घोषणा पनि गरेका छन्। अन्तर्देशीय व्यापार सम्बन्धी नकारात्मक सूची हटाउने, डिजिटल अर्थतन्त्रमा जोड दिने र इन्टरनेट क्षेत्रको खुलापनको विस्तार गर्ने जस्ता नयाँ कदम सार्वजनिक गर्ने कुरा उनले घोषणा गरेका हुन्। चीनले खुलस्त तथा पारदर्शी रुपमा विदेश लगानी सम्बद्ध कानुनी प्रणालीको सुधारमा निरन्तरता दिँदै बौद्धिक सम्पत्ति सर्वाधिकारको संरक्षणको प्रवर्द्धन गर्नुका साथै विदेशी कम्पनीको बैधानिक हकअधिकारको संरक्षणमा जोड दिएको उनले बताए। अझ बढी मुलुकसँग उच्च मापदण्ठडको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न चीन इच्छुक रहेको पनि उनले औँल्याए।

Shanghai Expo2020

विगत तीन वर्षदेखि आयातलाई मुख्यविषय बनाएर चीनले अन्तर्राष्ट्रिय आयात मेलाको आयोजना गर्दै आएको छ। सामान्यतः हरेक देशले निर्यातलाई प्राथमिकता दिने चलन छ। चीन पनि निर्यातमुखी मुलुक हो। यस्तो अवस्थाम विश्व अर्थतन्त्रको ध्यान तान्न र लगानीकर्ताहरुलाई आकर्षित गर्नका लागि चीनले आयात मेलाको आयोजना गर्न थालेको हो।

चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई विश्वको एक मात्रै उच्चस्तरीय अन्तर्राष्ट्रिय सहयोग चौतारोका रुपमा लिइन्छ। गत वर्षको तुलनामा यो पटकको एक्स्पोको प्रदर्शनीको क्षेत्रफल तीस हजार वर्गमिटरले बढाइएको छ। विश्वका पाँच सयवटा अग्रशक्तिशाली उद्योग व्यवसायको लागि छुट्ट्याइएको प्रदर्शनी क्षेत्रफल पनि गत वर्षकोभन्दा १४ प्रतिशतले बृद्धि भएको छ।

यसपटकको एक्स्पोमा पहिलो पटक अनलाइन मार्फत प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था पनि मिलाइएको छ। विश्वको जुनसुकै कुनामा बसेर पनि एक्स्पोको अवलोकन गर्न सकिनेछ।

चीन सरकार र शाङहाई नगर सरकारले संयुक्त रुपमा आयोजना गरेको यो एक्स्पोमा कृषि, सवारी साधान, औषधि र सेवा व्यापार आदि गरी ६ वटा प्रदर्शनी भागहरु रहेका छन्। विश्वका ५७ वटा मुलुकका १३९ वटा भन्दा बढी कम्पनीहरु एक्स्पोमा सहभागी छन्। एक्स्पोले महामारीका कारण आर्थिक मन्दी फैलिएको विश्व अर्थतन्त्रमा उत्साह थप्ने विश्वास गरिएको छ।

सन् २०१८ मा आयोजित पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा ५७ अर्ब ८३ करोड अमेरीकी डलरको कारोबार भएको थियो भने सन् २०१९ मा आयोजित दोस्रो एक्स्पोमा ७१ अर्ब १३ करोड अमेरीकी डलरको कारोबार भएको थियो।

नेपालले पनि अघिल्ला दुई संस्करणमा सहभागिता जनाएको थियो। यसपटक नेपालबाट ६ वटा कम्पनीहरु सहभागी भएको बेइजिङस्थित नेपाली दूताबासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपालखबरलाई बताए।

अत्यन्त प्रतिकूल अवस्थामा पनि नेपाली व्यवसायीले यसपटक भाग लिनु आफैँमा महत्वपूर्ण छ। ती कम्पनीका व्यवसायीहरु दुई सातासम्म ग्वाङजाउमा क्वारेन्टिनमा बसेर मंगलबार मात्र शाङहाई पुगेका हुन्।

उनीहरुले नेपाली हस्तकलाका सामान, थाङ्का, पस्मिना लगायतका सामानहरु एक्स्पोमा प्रदर्शनी गरेको लम्सालले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .