ad ad

कारोबार


आन्तरिक उडानमा यात्रुको चाप, बिहीबारबाट उडान थप हुँदै

आन्तरिक उडानमा यात्रुको चाप, बिहीबारबाट उडान थप हुँदै

नेपालखबर
असोज १४, २०७७ बुधबार ६:५४,

असोज ५ देखि खुलेको आन्तरिक उडानमा यात्रुको चाप बढ्दा उडान थप हुने भएको छ। २५ प्रतिशत मात्रै नियमित उडान हुँदा ९० प्रतिशत बढी यात्रु रहेको वायुसेवा कम्पनीले बताएका छन्।

यात्रु बढ्नुको मुख्य कारण हवाइ भाडा कम र स्वास्थ्य सुरक्षा राम्रो भएको वायुसेवा कम्पनीहरुको दाबी छ। आन्तरिक उडानमा बढी उडान गरिरहेका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले यात्रुको आउजाउ राम्रो भएको बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको आवागमन राम्रो हुँदा उडान थप गर्न लागेको बताएको छ।

सरकारले असोज १ देखि नै लामो दूरीको सार्वजनिक यातायात खोले पनि ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्थाले यात्रु हवाइ यात्रामा आकर्षण भएको हुनसक्ने वायुसेवा कम्पनीले बताएका छन्।

‘हवाइको भाडा एकदम न्यून रहेको अवस्थामा बसको भाडा बढेको छ। हवाइ यात्रा गर्दा छिटो पनि पुगिने र स्वास्थ्य सुरक्षामा पनि धेरै ध्यान दिएको हुँदा हवाइ यात्रु बढेको’ एयरलाइन्सको भनाइ छ।

buddha air udan

आन्तरिक उडानमा सबैभन्दा धेरै बजार हिस्सा भएको बुद्ध एयरले हाल २१ उडान गर्दै आएको थियो।

‘आजसम्मको उडानमा ९० प्रतिशत यात्रुका साथ उडान भएका छन्’, बुद्ध एयरका बजार प्रमुख रुपेश जोशीले भने, ‘अक्टोबर १ देखि २९ वटा उडान गर्न पाएका छौँ। दुई÷तीन दिनमा यात्रुको संख्या बढी थप भएका उडान पनि भरिन्छ।’

यति एयरलाइन्ले शतप्रतिशतसम्म यात्रु हुने गरेको बताएको छ।

‘कुनै ठाउँमा यात्रुको चाप बढी छ। सबै ठाउँमा ९० प्रतिशत बढी यात्रु छन्’, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘कुनै ठाउँमा फुल अकुपेन्सी रहेको छ। गन्तव्यअनुसार ९५÷९६ प्रतिशत यात्रु रहेका छन्।’

यति एयरलाइन्सले अक्टोबर १ देखि दैनिक १९ जहाज उडान भर्दै छ। ‘अहिलेसम्म कम उडान हुँदा अकुपेन्सी राम्रो थियो। भोलिबाट उडान थप भएसँगै यात्रुको आवागमन पनि बढ्नेछ’, बर्तौलाले भने।

यती एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले भोलिबाट १५ वटा उडानको अनुमति माग गरेको बताए। ‘अहिले हामीले सोचेभन्दा यात्रुको चाप राम्रै रहेको छ। भोलिबाट सबै हवाइ कम्पनीको जहाज थप हुँदा के हुन्छ भन्न सकिन्न’, मानन्धरले भने।

एयरलाइन्स कम्पनीले अहिले नाफा कमाउने समयभन्दा पनि कम्पनीको अस्तित्व जोगाउन हवाइ भाडा कम गरेको उनले बताए। आन्तरिक उडानमा यात्रुको चाप राम्रो हुँदा कोभिड १९ का करण ठूलो मारमा परेका कम्पनीलाई ठूलो राहत मिलेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .