ad ad

कारोबार


टेलिकमले ल्यायो बालबालिका पढाउने सस्तो सेवा

टेलिकमले ल्यायो बालबालिका पढाउने सस्तो सेवा

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १३:१६,

नेपाल टेलिकमले विद्यालय शिक्षालाई सघाउने गरी सस्तो दरको सेवा ल्याउने भएको छ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउन टेलिकमले सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको हो।

यस अन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड मोबाइल ‘पाठशाला युसिजी सिम’ निःशुल्क उपलब्ध गराउन लागेको छ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज्ड युजर ग्रुप (युसिजी) मा आबद्ध गरी मासिक जम्मा ९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ ।

सो प्रिपेड सिमकार्डबाट शिक्षक–विद्यार्थी र अभिभावकबीच असीमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने छ।

कर्पोरेट युजर ग्रुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गर्ने, प्रत्येक विद्यालयका यी फोन नम्बरलाई युसिजी सेवामा आवद्ध गराउने र यो सेवा वापतको शुल्क नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको छ।

यदि कुनै विद्यालयका विद्यार्थी, शिक्षक र परिवारको एक सदस्यसँग नेपाल टेलिकमको सिम नभएको अवस्थामा माग बमोजिम कम्पनीले सिम निःशुल्क उपलब्ध गराउने छ।

यो सेवा अन्तर्गत प्रत्येक विद्यार्थी र शिक्षकले निःशुल्क प्राप्त गर्ने सिमकार्डका लागि शिक्षक र विद्यार्थीको नागरिकता र परिचयपत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकप्रति फोटो उपलब्ध हुनुपर्दछ।

विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन्।

विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराइने ‘पाठशाला युसिजी सिम’ विद्यालयले रितपूर्वक भरिएको फारममा स्थानीय निकायबाट सिफरिश लिई नजिकको नेपाल दुरसञ्चार कम्पनीको कार्यालयबाट एकमुष्ट लिन सक्नेछन्।

त्यसैगरी कम्पनीले प्राविधिक दृष्टिकोणले सम्भव भएसम्म सहुलियत दरमा टोल फ्रि नम्बर समेत उपलब्ध गराउने जनाएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्टरनेट सेवा नपुगेका सार्वजनिक विद्यालयहरुको गाउँपालिका सहितको नामावली संकलन गरेर पठाएपछि नेपाल टेलिकमले विद्यालयमा वैकल्पिक माध्यम वायरलेस ब्रोडब्यान्ड प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराउन अध्ययन गरी पाइलटिङ गर्ने र उक्त स्थानहरुमा आफ्नो कार्ययोजना अनुसार मोबाइल र एफटीटीएच विस्तार गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .