ad ad

कारोबार


तिलोत्तमामा युवालाई विनाधितो सहुलियत कर्जा

तिलोत्तमामा युवालाई विनाधितो सहुलियत कर्जा

प्रकाश न्यौपाने
असोज ३, २०७७ शनिबार ९:२४,

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई विनाधितो सहुलियत कर्जा दिन सुरु गरेको छ।

युवालाई उत्पादनमा जोडी स्वरोजगार बनाउने उद्देश्यले विनाधितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति चार लाख रुपैंयाँसम्म कर्जा उपलब्ध गराउने छ।

नगर प्रमुख बासुदेव घिमिरेले पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको र प्रस्ताव पेश गरेका झण्डै सात सयमध्येबाट छनौट भएका ८७ जनालाई कर्जा दिन थालिएको जानकारी दिए। नगरपालिकाले सुरुमा १५ जना लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण शुभारम्भ गरेको छ।

‘कर्जाको सदुपयोग गरी दिगो रुपमा व्यवसाय गर्न म युवाहरुलाई आग्रह गर्छु’, उनले भने, ‘धितो राख्न नसक्ने निम्न आय भएकाहरुलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो। यसले युवाहरुलाई उद्यमशीलतामा लाग्न प्रेरित गर्ने छ।’ प्रस्ताव पेश गरेकाहरुमध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंकका प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले बताए।

एनले भने, ‘तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप ८ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना बनाएका छौं, यस अवसरको भरपूर्ण उपयोग गर्न म युवाहरुलाई आग्रह गर्छु। मूलतः विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ। हालका लागि कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ३.९९ प्रतिशत, महिलाको हकमा वार्षिक २.९९ प्रतिशत छ।

कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले बताएको छ। महिला, दलित, पछाडि पारिएको वर्ग—समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइएको उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताइन्। उनले भनिन्, ‘यसले विदेशबाट फर्केर होस् वा स्वदेशमै रहेका नागरिकले केही गरौं भन्ने उद्देश्य राखेमा आर्थिक अभावमा भौतारिनु पर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .