ad ad

कारोबार


तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुरु

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुरु

नेपालखबर
असोज ३, २०७७ शनिबार ६:४०,

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो।

प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य सुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। सो कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ।

‘प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेका छौँ, अब कामलाई तीव्रता दिन्छौँ’, घिमिरेले भने। उनका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ। प्रसारण लाइनको काम केही अगाडि नै सुरु गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको घिमिरेले जानकारी दिए।

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरु भारतीय सिमानामा आइसकेको छ। हिउँदको समय सुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेले जानकारी दिए।

प्रसारण लाइन निर्माणका लागि तनहुँतर्फको भागमा सात हजार ९२३ वटा रूख काट्नुपर्ने र चितवनतर्फको भागको पनि अध्ययन भइरहेको घिमिरेले जानकारी दिए। आयोजनाको प्याकेज दुईअन्तर्गतको विद्युत् गृहको पनि काम भइरहेको छ। उनका अनुसार ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै पावर हाउसको काम शुरु गरिएको छ। विद्युत् गृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो।

आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो। सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्यांकनको काम भइरहेको आयोजनाले जनाएको छ। पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एन्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए। पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ। खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र बर्खायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ। कूल १४० मेगावाट क्षमताको आयोजनाको लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ। जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .