ad ad

कारोबार


क्लिनफिड नीति कार्यान्वयन छ महिना स्थगित गर्न सरकारलाई इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनको पत्र

क्लिनफिड नीति कार्यान्वयन छ महिना स्थगित गर्न सरकारलाई इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनको पत्र

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ११:३२,

भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ)ले नेपाल सरकारलाई पत्र पठाउँदै क्लिनफिड नीति कार्यान्वयन छ महिना स्थगित गर्न आग्रह गरेको छ।

आईबीएफले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई पत्र लेख्दै वर्तमान महामारीको कारण उक्त नीति कार्यान्वयन छ महिना स्थगित गर्न आग्रह गरेको हो।

‘नेपाल सरकारको विज्ञापन (नियमन) ऐन २०७६ अनुसार हामीले बुझेअनुसार अक्टोबर २६ (कात्तिक १०) देखि यो नीति कार्यान्वयनमा आउनेछ’, उसले पत्रमा भनेको छ, ‘अहिले महामारीले विश्व नै आक्रान्त भइरहँदा भारत र नेपालमा पनि यसको व्यापक प्रभाव परेको छ, लकडाउनका कारण यसअघि छुट्याइएको छ महिना बितिसकेको छ। यस्तो अवस्थामा यो नीति कार्यान्वयन छ महिना स्थगित गर्न आग्रह गर्छौँ।’

पूर्ण वा आंशिक लकडाउनका कारण आफ्ना सदस्यहरु बाहिर निस्किन समेत नपाएको र यस्तो अवस्थामा प्राविधिक परीक्षणलगायतमा चुनौती देखिएकाले उक्त अवधिसम्म नीति कार्यान्वयन स्थगित गर्न आईबीएफले आग्रह गरेको छ।

आईबीएफका राधाकृष्णनले लेखेको पत्रमा कोरोना महामारीका कारण सिर्जित अवस्था सामान्य भएपछिको छ महिनासम्म क्लिनफिड नीति कार्यान्वयन स्थगित गर्नुपर्ने अनुरोध गरिएको छ।

यता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीले भने आईबीएफको पत्रबारे अनभिज्ञता प्रकट गरे। उनले भने, ‘अहिले मलाई यो पत्र आएको थाहा छैन, पछि कुरा गरौँला।’

उक्त पत्रको बोधार्थ आईबीएफले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतको सूचना तथा प्रसारण मन्त्रालयका सचिव अमित खेर र भारतकै परराष्ट्र मन्त्रालयका सहसचिव अरिन्दम बाग्चीलाई पनि दिएको छ।

नेपालमा क्लिनफिड लागू गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मै एक वर्षमा लागू गर्ने प्रावधान ल्याएको थियो। विज्ञापन ऐन–२०७६ अनुसार आगामी कात्तिक ८ देखि क्लिनफिड लागू गर्नुपर्ने हुन्छ।

नेपाल विज्ञापन संघले मुलुकको विज्ञापन उद्योगमा अर्बौं रुपैयाँ थपिने हुँदा यसलाई छिटो लागू गर्न तारन्तार माग गर्दै आएको छ।

अहिले ऐनमा क्लिनफिड लागू गर्ने समय तोकिएकाले यसको कार्यान्वयन हुनेमा केही विश्वास बढेको छ। सरकारले केवल टेलिभिजनहरुलाई कार्यान्वयनको लागि पत्राचार गरिसकेको, क्लिनफिड मेसिन ल्याइसकेको र अनुगमन समेत गर्न सुरु गर्ने बताइसकेको छ।

यसको कार्यान्वयन हुने तयारी नेपालमा अघि बढिरहँदा कोरोना महामारी आईबीएफको लागि अर्को निहुँ बनेको हो।

क्लिनफिड लागू गर्न तयारी गर्नुपर्ने र विदेशी च्यानलसँगको सम्झौता नवीकरण गर्ने समय लाग्ने भएकाले ऐनमै तोकेर वर्ष दिनको समयावधि दिइएको थियो। उक्त ऐन पारित भएको कात्तिक ७ गते एक वर्ष पुग्दै छ।

विगतका सरकारले क्लिनफिड लागू गर्ने प्रयासमा विभिन्न अवरोध समेत आएका थिए। सरकार २०७४ असार १ देखि क्लिनफिड लागू गर्ने भनेर घोषणा गरे पनि पछि हटेको थियो।

त्यो बेला मुलुकमा सञ्चालनमा रहेका केबल टेलिभिजन महासंघहरूले समेत विरोध जनाएका थिए। साथै, भारतीय संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले क्लिनफिड नीति लागू नगर्न सरकारलाई दबाब समेत दिएको थियो।

उसले सञ्चार मन्त्रालयमै पुगेर यो नीति लागू नगर्न ‘लबिङ’ नै गरेको थियो।

के हो क्लिनफिड?
सामान्य अर्थमा क्लिनफिड भनेको विज्ञापन नभएको टेलिभिजन कार्यक्रम हो । संसारभर दुई किसिमका टेलिभिजन कार्यक्रम (च्यानल) हुन्छन् । पहिलो हो क्लिनफिड र अर्को हो एड्भरटाइजिङ फिड। निःशुल्क च्यानल (फ्रि एयर) पनि प्रचनलमा छ।

हामीले अहिले लागू गर्न खोजेको क्लिनफिड च्यानल हो। यो हेरेबापत शुल्क तिर्नुपर्छ। यसमा विज्ञापन आउँदैन। अर्को, एड्भरटाइजिङ फिडमा च्यानल हेरेबापत शुल्क तिर्नुपर्दैन तर विज्ञापन बज्छन् । अहिले हामीले हेरिरहेको च्यानल भनेको एड्भरटाइजिङ फिड हो जसमा विज्ञापन आउँछन्।

तर, हामी अहिले दोहोरो मारमा छौं। विज्ञापनसहितको च्यानल हेरेबापत पैसा नतिर्नुपर्ने हो तर हामीले यसको शुल्क समेत तिर्नुपरेको छ। त्यसैले नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन्। हामीले एकातिर विदेशी च्यानल हेरेबापत पैसा पनि तिर्नुपरेको छ र अर्कोतिर विज्ञापन पनि हेरिरहनुपरेको छ।

यदि ती विदेशी च्यानल निःशुल्क हेर्न पाइने हो भने विज्ञापन राख्न पाउने अधिकार पनि हुन्छ। हामीले हेरिरहेका नपाली च्यानलहरू निःशुल्क छन्। हामीले ती च्यानल हेर्न शुल्क तिर्नुपरेको छैन। यसैकारणले उनीहरुले विज्ञापन बजाउन पाउँछन्। विज्ञापन व्यवसायीहरुका अनुसार चलेका र ठूला च्यानलले विज्ञापनसहितका निःशुल्क र सशुल्क विज्ञापनरहित दुवै कार्यक्रम बनाउने गरेका छन्।

कानुनको प्रावधानअनुसार कात्तिक ८ देखि क्लिनफिड लागू भयो भने विज्ञापनरहित च्यानल हेर्न पाइनेछ। अहिले तिरिरहेको शुल्क निरन्तर हुनेछ। क्लिनफिड लागू भएको अवस्थामा कुनै पनि विदेशी कम्पनीले नेपाली उपभोक्तामाझ विज्ञापन बुझाउन चाहेमा नेपालका सञ्चार माध्यमलाई सिधै उक्त विज्ञापन उपलब्ध गराउनुपर्नेछ।

यस्तो परिपाटी बसेमा विदेशी ठूला कम्पनी, बहुराष्ट्रिय कम्पनीले नेपालमै आएर नेपाली विज्ञापन एजेन्सी, कलाकार र यहीको भूमि प्रयोग गरेर विज्ञापन बनाउने विश्वास छ। जसले गर्दा नेपाली मिडिया, कलाकार, एजेन्सी, लेखकदेखि विज्ञापनसम्बन्धी सबै पक्षलाई फाइदा पुग्ने आशा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .