ad ad

कारोबार


अर्थ मन्त्रालयमा खतिवडाका साढे दुई वर्षः सर्वसाधारणले अनुभूति गर्न नपाएको विज्ञता

अर्थ मन्त्रालयमा खतिवडाका साढे दुई वर्षः सर्वसाधारणले अनुभूति गर्न नपाएको विज्ञता

दीपक भट्ट
भदौ १९, २०७७ शुक्रबार ७:१२,

तत्कालीन एमाले–माओवादी गठबन्धनको बलियो सरकारको नेतृत्व गरेपछि अर्थ, गृहजस्ता आकर्षक मन्त्रालयका ढोका खोल्न कुरिरहेका प्रभावशाली नेताहरुलाई चकित पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई अर्थमन्त्री नियुक्त गरे।

खतिवडा बाहिर चिनिएका बौद्धिक व्यक्तित्व थिए तर पार्टीको केन्द्रीय सदस्य समेत थिएनन्।

आर्थिक क्षेत्रका लागि उनी अपरिचित त थिएनन् तर मन्त्रीकै रुपमा आउँदा सबैले आश्चर्य व्यक्त गरे। खतिवडाले २०७४ फागुन १४ गते अर्थमन्त्रीको सपथ लिएका थिए।

आर्थिक, मौद्रिक क्षेत्रमा आफ्नो अनुभव र योग्यताको आधारमा अर्थ मन्त्रालय चलाउँदा यसअघिका अर्थमन्त्रीले भन्दा खतिवडाले नयाँ छाप छाड्ने अपेक्षा धेरैको थियो।

यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्षलगायत पदमा रहेर राम्रो छवि बनाएका कारण उनले नियुक्ति पाएपछि धेरैले उनको योग्यताबारे प्रश्न नै उठाउन सकेनन्।

राष्ट्रियतासँग जोडिएका विषयमा लिएका अडान आदिका कारण प्रधानमन्त्री ओलि पनि त्यतिबेला समाजका बिभिन्न तप्कामा लोकप्रिय थिए नै, जसले गरेका निर्णयमा पार्टीमा र सार्वजनिक रुपमा पनि धेरै प्रश्न उठान चाहेनन्। ओलीले गरेको खतिवडाको चयनलाई धेरैले ‘राइट पर्सन इन राइट प्लेस’ को रुपमा समेत अर्थ्याए।

त्यसमाथि तत्कालीन एमालेको चुनावी घोषणापत्र मुख्यतः डा खतिवडाले लेखेको हुँदा उनले नै मन्त्रालयको बागडोर सम्हाल्दा त्यसको कार्यान्वयन हुने धेरैको अपेक्षा थियो। सायद प्रधानमन्त्री ओलीले त्यही कुरा भनेर पार्टीमा उनको विपक्षमा प्रश्न उठ्न दिएका थिएनन्।

अर्थमन्त्री खतिवडाले सुरुमा ल्याएका बिभिन्न योजना तथा कार्यक्रमप्रति धेरैको प्रतिक्रिया सकरात्मक नै थियो।

मन्त्री भएपछिको उनको पहिलो निर्णय नै नेपालको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउने र वित्तीय कारोबारमा प्रविधिकरण गर्ने भन्ने थियो।

उनले आफूले पद सम्हाल्नुअघिको अर्थतन्त्रको चिरफार र आफ्ना योजनाहरु प्रस्तुत गर्दै श्वेतपत्र नै जारी गरे।

यसरी नेपालको अर्थतन्त्रमा श्वेतपत्र जारी भएको यो दोस्रो पटक हो। यसअघि धेरै पहिले पंचायती शासन फेरिँदा अर्थतन्त्रको अवस्थामाथि तत्कालीन सरकारले श्वेतपत्र जारी गरेको थियो।

खतिवडाले जारी गरेको श्वेतपत्रको निष्कर्षले त्यतिबेलासम्मको आर्थिक स्थितिलाई निकै नकारात्मक ढंगले प्रस्तुत गरेकोप्रति भने धेरैले असहमति जनाए। त्यतिबेला देशको ढुकुटी टाटै पल्टिएको र त्यसअघिका सरकारहरुले ठीकसँग काम नगर्दा त्यसो हुन गएको निष्कर्ष श्वेतपत्रमा देखिन्थ्यो।

खतिवडाले अर्थतन्त्रमा सुधार ल्याउने बलियो प्रतिबद्धता व्यक्त गरेका थिए।

तर काम गर्दै जाँदा उनले देखाएको कार्यशैलीबाट भने क्रमशः उनको आलोचना हुन थाल्यो। त्यस्तो आलोचना पहिले राजनीतिक क्षेत्र, अझै नेकपाभित्रैबाट हुनथाल्यो र विस्तारै व्यवसायी र सर्वसाधारणसम्म विस्तार भयो।

साढे दुई वर्ष अर्थमन्त्री रहँदा खतिवडाले तीनवटा बजेट ल्याइसकेका छन्। लगातार तीन वटा बजेट ल्याउन पाउने बिरलै अर्थमन्त्रीमा पर्छन् उनी। सुरुको वर्षको बजेटमा उनले कुनै लोकप्रिय कार्यक्रम ल्याउन सकेनन् र, सबैले ठीकठीकै खालको बजेट आएको प्रतिक्रिया दिए। त्यतिबेला उनले पहिलो बजेटलाई आर्थिक सुधारको आधार तयार गर्ने कार्यक्रमको रुपमा अर्थ्याए।

विकास खर्चमा भएन सुधार
विकास बजेटलाई राम्रोसँग खर्च गर्न नसक्नु नेपालको एउटा प्रमुख समस्या रहँदै आएको छ। बिभिन्न प्रयासका बाबजुद पनि लामो समयदेखि यो समस्या सुल्झिन सकेको छैन। खतिवडाले श्वेतपत्रमा यो कुरा उल्लेख गरे। तर उनको पहिलो वर्षको बजेट खर्च पनि विगतको सरकारको हाराहरीमा नै सिमित रह्यो।

अर्थमन्त्री खतिवडाले दोस्रो बजेट सार्वजनिक गर्दा भने बजेट खर्च गराउने गरी केहि योजना नै सार्वजनिक गरे। बजेट खर्चमा सुधार गर्न उनले मुख्यतया दुई वटा कुरा उल्लेख गरेका थिए। पहिलो, कुनै पनि आयोजना प्रमुखले राम्रो काम गरेको वा उसको काम मुल्याङ्कनमा ९० प्रतिशत भन्दा माथिको अंक देखिएमा उनीहरुको सरुवा नगर्ने।

दोस्रो, कुनै आयोजना प्रमुखले काम गर्न नसकेको खण्डमा कर्मचारीबाहेकको व्यक्ति समेत आयोजना प्रमुखको रुपमा सरकारले नियुक्त गरेर सो आयोजनालाई गति दिने।

तर यी कार्यक्रमा उनले कहिँ कतै कार्यान्वयन गर्न सकेनन्। आयोजना प्रमुखहरुको सरुवा पनि भइरह्यो र बाहिरबाट कसैलाई नियुक्ति पनि गरिएन।

अझ यो वर्षको विकास खर्च त झनै कमजोर भयो। कोरोना महामारीको असर नेपालमा नपर्दा अर्थात चैत ११ गतेसम्म आइपुग्दा सरकारले ३० प्रतिशत पनि विकास बजेट खर्च गर्न सकेन।

यो वर्षको बजेट आउँदासम्म खतिवडा धेरै नै आलोचित बन्न पुगे।

यो वर्ष विद्युतीय गाडीमा कर बढाउने र चकलेटमा घटाउने जस्ता निर्णयले खतिवडालाई ठूलो विवादमा तान्यो। यो विषय संसदमा समेत ठूलो एजेण्डाको रुपमा बहस भयो।

यो वर्ष कोभिडका कारणले गर्दा फरक ढंगको बजेट ल्याउनुपर्ने बाध्यता नै थियो। सोहिअनुसार उनले बजेटमा राहत र अनुदानका कुराहरु समावेश गरे।

तर त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अन्योल अहिलेसम्म हटेको छैन।

महामारीका कारण धेरै उद्योग व्यवसाय चैतदेखि नै बन्द छन्। उनीहरुलाई सरकारले समयमा नै राहत दिन सकिरहेको छैन।

जसको प्रभाव आमजनतासम्म पुगेको छ।

बजेटमार्फत् सरकारले घोषणा गरेको ५० अर्ब रुपैयाँको पुर्नउत्थान कोषको पैसा सरकारले अहिलेसम्म जुटाउन सकेको छैन।

त्यसको वितरण कहिले हुने हो, त्यो अन्योलमा नै छ। व्यवसयाीले पाउने ठूलो राहत भनेको पुर्नकर्जा हो। त्योपनि नेपाल राष्ट्र बैंकले गरेको आवेदनअनुसार कात्तिकको अन्तिम अथवा मंसिरमा मात्रै व्यवसायीले पाउनसक्ने संकेत देखिएको छ।

अरुको कुरा नसुन्दा बिग्रियो
केही राम्रा कार्यक्रम र योजना बनाएर काम गरे पनि अरु कसैको कुरा नसुन्ने प्रवृतिका कारण खतिवडा सफल हुन नसकेको उनलाई नजिकबाट चिन्ने अर्थतन्त्रका विज्ञहरु बताउँछन्।

‘पञ्चायतकालमा पनि दुईजना विज्ञ अर्थमन्त्री भए। एकजना भेषबहादुर थापा र अर्का थिए, यादवप्रसाद पन्त’, अर्थविद् डा केशव आचार्य भन्छन्, ‘भेषबहादुर थापा त पूर्व गभर्नर नै थिए। तर उनीहरुको स्वभाव र खतिवडाको स्वभाव भने फरक छ।’

आचार्यका अनुसार थापा र पन्त आफुले जानेको विषयमा समेत धेरैसँग परामर्श गर्थे। कुनै निर्णयबाट पछिसम्म पर्नसक्ने प्रभावको विषयमा गहन छलफल गर्थे। भेटघाट र व्यवहारमा सरल र सहज थिए।

‘हरेक विषयमा आफैंले मात्रै हात हालेर हुँदैन, अरुको पनि राय परामर्श लिनुपर्छ। खतिवडा आउँदा हरेक पेशा व्यवसायीले धेरै आशा नै गरेका थिए। उनी आफैं पनि राम्रो छविका व्यक्ति नै हुन्’, आचार्य थप्छन्, ‘तर उनको स्वभावको कारण राम्रो गरेर सर्वसाधरणलाई महसुस गराउन सकेनन्।’

आफूलाई मन परेका र आफन्तको सानो समुहबाट मात्र चल्ने आरोपबाट खतिवडा मुक्त हुन सकेनन्।

खतिवडाले राष्ट्र बैंकमा रहेका आफ्नै ज्वाइँलाई आर्थिक सल्लाहकार बनाएर अर्थमन्त्रालय ताने।

सल्लाह लिनभन्दा पनि काम सिकाउन उनलाई अर्थमन्त्रालय ल्याएको धेरैले आँकलन गरे। यसमा सर्वत्र आलोचना हुँदा पनि खतिवडाले कुनै वास्ता गरेनन्।

राम्रो काम गर्न खोज्दाखोज्दै पनि अरुको कुरा नसुन्ने स्वभावका कारण उनी आफ्नो निर्णयमा नै चुक्न थाले। विद्युतीय गाडी र चकलेटसम्बन्धी करको निर्णय त्यसको एउटा उदाहरण हो, जसले गर्दा उनले गरेका केहि राम्रा काम पनि छायाँमा पर्यो।

आर्थिक क्षेत्रलाई बढी कडाइमात्र गर्ने भन्ने उनको छविका कारण अर्थतन्त्रको ऐना मानिने सेयरबजार निरन्तर घटि नै रह्यो। अर्थमन्त्रीबाट खतिवडा बाहिरिने चर्चा हुँदा बढ्ने सेयरबजार उनको निरन्तरताको खबरले ओरालो लाग्ने ट्रेण्ड देखियो।

केहि राम्रा काम गरे
खतिवडाले साढे दुई वर्षको कार्यकालमा केहि राम्रा र महत्वपूर्ण काम गरेका छन्।

नेपालमा कति कामदार रहेका छन्, कुन उद्योगी, कुन व्यवसयाीले कति कामदारलाई तलव खुवाइरहेका छन् भन्ने जानकारी राष्ट्रलाई नै थिएन।

नेपालमा कति मजदुर छन् भन्ने तथ्याङ्क अनुमानित मात्रै थियो। तर उनले तलव दिन प्यान कार्ड अनिवार्य गरेपछि नेपाली उद्योगधन्दा, व्यापार व्यवसाय गर्नेले राखेको मजदुरको संख्या र उनीहरुले कर्मचारीको तलवमार्फत् गर्ने कर छलिमा धेरै नियन्त्रण भएको छ।

खतिवडाले नै भ्याट फिर्ताको नियम हटाइदिए। केहि उद्योगीले त्यसको विरोध त गरे तर यो आवश्यक कदम थियो। जनताले तिरेको भ्याटमार्फतको पैसा उद्योगीलाई जाने नेपालको त्यो प्रचलन हट्यो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .