राजधानी उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प हुँदा समेत सेयरबजारमा त्यसको प्रभाव देखिएको छैन। आज कारोबारको तेस्रो घण्टा जारी रहँदा झण्डै डेढ अर्बको सेयर खरिदबिक्री भइसकेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से शून्य प्रतिशत वृद्धिदरमा रहँदा समेत ६० लाख कित्ता सेयर किनबेच भएको छ। उक्त किनबेचमा १ अर्ब ४६ करोडको कारोबार भएको हो। यो सामान्य अवस्थाको पूर्ण कारोबार हाराहारीकै खरिदबिक्री हो। यो समाचार तयार पार्दासम्म १ सय ८१ कम्पनीको सेयर किनबेच भएको छ। २४ हजार ४ सय ५० पटक त सेयर किनबेच भइसकेको छ।
उपत्यकामा निषेधाज्ञाको तेस्रो हप्ता आजदेखि सुरु भएको छ। निषेधाज्ञाको सुरुमा कारोबार रकम निकै कम भए पनि केही दिनयता बढेर चार अर्बसम्म पुगिसकेको छ। तेस्रो घण्टासम्म नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ता झुम्मिएका छन्। उक्त कम्पनीको २४ करोडको सेयर खरिदबिक्री भइसकेको छ।
प्रतिक्रिया