ad ad

कारोबार


जसले बाँचुन्जेल वीरगन्जका व्यवसायीलाई अभिभावकत्व दिइरहे

जसले बाँचुन्जेल वीरगन्जका व्यवसायीलाई अभिभावकत्व दिइरहे

दीपक भट्ट
भदौ १५, २०७७ सोमबार १३:५७,

आइतबार रात छिप्पिँदै गए पनि नजिकिँदो पूर्णिमाको जुन आकाशमा धपक्क चम्किँदै गएको थियो। तर जब रातको १२ बज्यो वीरगञ्जका व्यवसायीहरुमा भने एक्कासि आकाशबाट 'चम्किलो जुन' हराएकाे अनुभूति भयाे।

प्रसंग हो वीरगन्जका चिरपरिचित उद्योगी चिरञ्जीवीलाल सरावगीको। समयले सोमबार छोइसकेको थियो, जब ग्रान्डी अस्पतालमा उपचाररत उनको निधन भयो।

७५ वर्षीय सरावगीको निधनसँगै वीरगन्जका उद्योगीले एक असल अभिभावक गुमाएकाे बताएका छन्। सरावगी वीरगन्ज महानगरपालिकाका हालका प्रमुख विजय कुमार सरावगीका पिता हुन्। चिरञ्जीवीलालको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

उनको निधनले उद्योग व्यवसाय क्षेत्रमा नै ठूलो क्षति पुगेकाे उद्योगी बाबुलाल चाचानले बताए। बाबुलाल चिरञ्जीवीलालसँग लामो समय सहकार्य गरेका उद्योगी हुन्।

‘चिरञ्जीवीलालको निधनले यस क्षेत्रलाई ठूलो क्षति पुगेको छ। उनीबाट हामी व्यवसायीले निरन्तर पाउने सुझाव र सल्लाह अब गुमाएका छौँ’, बाबुलालले भने, ‘अथवा भनौँ हामी वीरगन्जका व्यवसायीले आफ्नो महत्वपूर्ण अभिभावक गुमाएका छौँ।’

बाबुलालकै शब्द सापटी लिने हो भने चिरञ्जीवीलाल जहिले पनि उद्योग व्यवसायलाई लगानी गर्ने ठाउँ भन्दै व्यवसायीलाई ढाडस दिन्थे। लगानी र बुद्धिमत्ताले नै सफलता दिलाउँछ भन्नेमा दह्रिलो विश्वास जगाउँथे।

चिरञ्जीवीलालले व्यवसायलाई त माथि लगे नै आफ्ना सहकर्मीहरुलाई पनि व्यवसयामा थप लगानी गर्न प्रेरित गरेको बाबुलाल सम्झिन्छन्।

वि.सं. २००१ सालमा नै वीरगन्ज उद्योग वाणिज्य संघ स्थापना भइसकेको थियो। वि.सं. २०२५ सालमा चिरञ्जीवीलाल संघमा आबद्ध भएका थिए। संघमा रहेर उनले व्यवसायीलाई परेको समस्या हल गर्न ठूलो मद्दत गरे। जसकारण वीरगञ्जका पुराना व्यवसायीहरुमाझ पनि चिरञ्जीवीलाल एक सम्माननित उद्योगी थिए।

त्यसो त संघमा रहेर राम्रो काम गरेको फल उनले पाएको बाबुलाल बताउँछन्। वि.सं. २०५० सालमा उनी संघको अध्यक्ष बनेका थिए। लगातार दुई कार्यकाल अध्यक्षमा निर्वाचित भए। उनको पालामा नै वीरगन्ज उद्योग वाणिज्य संघले स्वर्णजयन्ती मनायो।

उनका पुर्खाहरु नै व्यवसायमा लागिसकका कारण चिरञ्जीवीलालले सुरुमा त्यसैलाई निरन्तरता दिएको बाबुलालको भनाइ छ।

नेपालमा उनले नै पहिलोपटक साबुन फ्याक्ट्री खोलेका हुन्। उनको परिवार राइस मिल र कपडा व्यापारमा तल्लीन भएको अवस्थामा उनले आफ्नै पहलमा साबुन फ्याक्ट्री सञ्चालनमा ल्याएका थिए।

पछि उनले आफ्नो व्यवसाय फराकिलो बनाउने क्रममा प्लाष्टिक फ्याक्ट्री र केमिकल उद्योगहरु पनि सञ्चालनमा ल्याएका थिए। साथै विदेशबाट ट्रेडिङको समेत काम गरे। जुन पेशा उनका छोराहरुले अहिले पनि निरन्तरता दिइरहेका छन्।

सनफ्लावर र भटमासको तेल आयातनिर्यातबाट सरावगी ग्रुप अहिले अग्रणी व्यापारिक घरानाका रुपमा स्थापित छ।

बाबुलाल भन्छन्, ‘उनी सम्पूर्ण मारवाडीको समेत अभिभावक हुन्। मारवाडी परिषद्को केन्द्रीय अध्यक्ष रहिसकेका उनी सबै मारवाडीलाई व्यापार व्यवसाय नै अघि बढाउन प्रेरित गरिहन्थे।’

उनको मृत्युको कारण धेरैले कोरोना भनेर पनि आशंका गरिरहेका छन्। बाबुलाल भन्छन्, ‘साउन २२ गते उनमा कोरोना संक्रमण देखिएको हो। २ गतेको परीक्षणमा कोरोनामुक्त भएका थिए। मुटु र मिर्गौलामा समस्या पहिलेदेखि नै थियो। जसको कारण नै आज उपचारको क्रममा मृत्यु भएको हो।’

चिरञ्जीवीलाल लायन्स कलबको गभर्नर समेत भएका थिए। लामो समय लायन्समा आबद्ध हुँदा पनि उनले सामाजिक कामहरु धेरै गरेका छन्। उनले आफ्नै योजनामा पनि विभिन्न सहयोगहरु उपलब्ध गराउनेदेखि सामाजिक संस्थाहरुको भवन निर्माणमा समेत योगदान पुर्‍याएका छन्।

उनी २००२ सालमा जन्मिएका थिए। उनका मेयर सरावगीसहित दुई छोरा, एक छोरी गरी तीन सन्तान छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .