ad ad

कारोबार


अब चीनबाट पनि पेट्रोलियम पाइपलाइन, यही वर्ष अध्ययन थालिने

अब चीनबाट पनि पेट्रोलियम पाइपलाइन, यही वर्ष अध्ययन थालिने

दीपक भट्ट
साउन २२, २०७७ बिहिबार १२:३३,

सरकारले चीनबाट पाइपलाइनबाट तेल ल्याउने योजना बनाएको छ। यहि वर्ष चीनबाट पेट्रोल पाइपलाइन जडान गर्ने संभावनाबारे अध्ययन थालिने गरि सरकारले योजना बनाएको हो।

त्यसका लागि चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी प्रारम्भिक सम्झौताको तयारी सुरु गरिएको हो।

नेपाल आयल निगमको संचालक समितिले पास गरेको नीति तथा कार्यक्रमअनुसार चालू आर्थिक वर्षमा नै चीनको केरुङ्गदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गरिने भएको हो।

त्यसैगरि नेपाल आयल निगमले १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी भण्डार क्षमता विस्तारको काम पनि अघि बढाउने भएको छ।

चालू आर्थिक वर्षदेखि कम्तिमा एक महिनाको लागि मौज्दात हुनेगरी आफ्नो क्षमता विस्तारको प्रक्रिया अघि बढाउने भएको हो।

नेपाल आयल निगमको संचालक समितिले पास गरेको नीति तथा कार्यक्रमअनुसार कम्तिमा एक महिनालाई पर्याप्त हुने गरी भण्डारण क्षमता बिस्तार गर्न प्रथम चरणमा चितवन, झापा, सर्लाहीमा भण्डारण गृह निर्माणको कार्य आरम्भ गरिने जनाइएको छ।

सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाइने उल्लेख छ।

यसैबर्ष नेपालगञ्जमा रहेको निगमको जग्गामा पेट्रोल पम्प तथा झापा र धनुषामा रहेको निगमको जग्गामा ग्याँस बोटलिङ्ग प्लाण्ट निर्माणको कार्य सुरु गरिने बताइएको छ।

देशका अन्य स्थानमा पेट्रोल पम्प तथा ग्याँस बोटलिङ्ग प्लाण्ट निर्माण तथा सञ्चालन गर्न जग्गा व्यवस्था लगायतका आवश्यक प्रक्रिया सुरु गरिने पनि उल्लेख छ।
यसको अर्थ निगमले अब आफ्नै ब्राण्डको ग्यास विक्रि वितरण गर्न लागेको हो।

लुम्बिनीको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलहरूमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिने उल्लेख गरिएको छ।

चन्द्रगढी, जनकपुर र दाङ विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिने योजना समेत समेटिएको छ।

अन्य विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको सम्भाव्यता अध्ययन गरिने समेत निगमको नीति तथा कार्यक्रममा उल्लेख छ।

हाल सञ्चालनमा रहेका डिपोहरूमा क्रमशः क्षमता विस्तार गर्दै लगिने निगमले बताएको छ।

थप जग्गा प्राप्त गरी थानकोट डिपोमा पार्किङ्ग लगायतका पूर्वाधार संरचना निर्माण गर्ने योजना रहेको छ।

न्यूनतम मौज्दात राख्नुपर्ने मट्टीतेल भन्दा बढी क्षमताका मट्टीतेल भण्डारण ट्याङ्कलाई पेट्रोल र डिजेलको ट्याङ्कमा रूपान्तरण गरिने समेत बताइएको छ।

निगमको केन्द्रीय कार्यालयलाई व्यवस्थित तथा आधुनिक बनाउन निगमको कर्पाेरेट भवन निर्माण कार्य सुरु गरिनेछ।

११ तल्लाको भवन निर्माणको लागि निगमले प्रक्रिया अघि बढाइसकको जनाकारी गराएको छ।

नीति तथा कार्यक्रमा बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने पनि जनाइएको छ।

त्यसैगरी, भारतको सिलिगुडीदेखि नेपालको झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया चालू आर्थिक वर्षमा नै सुरु गरिने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .