ad ad

कारोबार


लकडाउनको ४ महिनापछि खुल्यो होटल क्षेत्र, व्यवसायी भन्छन् : अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ

लकडाउनको ४ महिनापछि खुल्यो होटल क्षेत्र, व्यवसायी भन्छन् : अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ

नेपालखबर
साउन १५, २०७७ बिहिबार ७:४३,

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन्।

होटल व्यवसाय सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु नहुँदासम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ। हवाइ उडान सुचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन्।

सरकारले साउन ६ गतेबाट औपचारिक रुपमा बन्दाबन्दी नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सुचारु गराएको थियो। त्यस्तै साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको थियो।

त्यसैले आजैदेखि होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आउने भएका छन्।

सरकारले पर्यटन क्षेत्रलाई सुचारु गर्न दिए पनि होटल सञ्चालन गर्न समस्या रहेको होटल व्यवसायीहरुले बताएका छन्। खासगरी तारे होटलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म होटल सञ्चालन गर्नुको कुनै अर्थ नभएको व्यवसायीहरुले बताएका छन्।

बाह्य उडान सञ्चालनमा आएपछि पनि पर्यटक आउने सम्भावना कम भएकाले होटलमा ग्राहक नै नहुने हुन् कि भन्ने चिन्तामा व्यवसायीहरु छन्। व्यवसायीहरुले पर्यटकको संख्या बढाउन अन्तर्राष्ट्रिय बजारमा नेपालमा कोभिड १९ संक्रमणको जोखिम कम रहेको सन्देश सरकारले प्रवाह गर्नुपर्ने बताएका छन्।

व्यवसायीहरुले अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि केही पर्यटकहरु आउनसक्ने भएकाले ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलहरुबीच प्रतिस्पर्धा हुनसक्ने देखिएको बताएका छन्। सीमित ग्राहकलाई आफूतिर तान्न होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहेको पनि होटल व्यवसायीहरु बताउँछन्।

होटल संघकी अध्यक्ष सृजना राणाले पाँचतारे होटलहरुबीच शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना देखिएको बताइन्। होटलको रेटमा अस्वस्थ प्रतिस्पर्धा भए यसले नेपालको होटल क्षेत्रलाई नै बिगार्ने राणाले बताइन्।

उनले ग्राहक तान्नका लागि रेट घटाउने काम भए होटल क्षेत्रलाई लामो समयसम्म असर गर्ने बताइन्। होटलको गुणस्तर र सेवा कमजोर हुनेगरी रेटमा प्रतिस्पर्धा गर्न नहुने राणाले बताइन्।

कोभिड १९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चालन गर्न सक्ने अवस्था पनि छैन। यसबाट होटलको सञ्चालन लागत बढ्नेछ।

त्यसैले खर्च उठाउनका लागि पनि होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएकाले होटलहरुको सुविधा कटौती हुनसक्ने सम्भावना रहेको बताए। त्यसैले सकारले नै न्यूनतम स्टाण्डर्ड तोकेर होटलहरुलाई निर्देशन दिन सके सम्भावित अस्वस्थ प्रतिस्पर्धामा कमि आउन सक्ने चापागाईंले बताए।

पाँचतारे होटलका लागि मूख्य बजार भारत र चीन भएकाले पनि ती दुई देशको स्थिति सामान्य नहुँदा सम्म पर्यटक कम संख्यामा आउने चापागाईंले बताए। त्यसलै सरकारले होटल सञ्चालन गर्न दिएपछि कसरी सर्भाइभ गर्ने भन्ने चुनौती देखा परेको उनले बताए। धेरैजसो होटलहरुको सञ्चालन खर्च ठुलो भएकाले त्यसलाई कभर गर्न चुनौति रहेको उनले बताए। कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पूरा गर्दा कम्तीमा पनि ३० देखि ५० प्रतिशतसम्म सञ्चालन खर्च बढ्न जानेछ।

नेपालमा कोभिड १९ संक्रमण देखिए पनि कोरोनाका कारण मृत्युको केसहरु धेरै नदेखिनु नै सबैभन्दा सकारात्मक पक्ष भएकाले यसैलाई लिएर अन्तराष्ट्रिय बजारमा नेपाल घुम्नकालागि उपयुक्त छ भन्ने सन्देश दिनुपर्ने चापागाईंले बताए।

त्यस्तै होटलका तहहरु धेरै भएकाले तीन तारे होटल सम्मलाई आन्तरिक पर्यटनबाट सर्भाइभ गराउन सक्ने गरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा चापागाईंले जोड दिए। यस्तै होटलको सञ्चालन खर्च कम गराउनका लागि विद्युतमाको डिमाण्ड चार्जेजमा विशेष छुट हुनुपर्ने उनले बताए।

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको र त्यसपछि मात्रै विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण बन्ने भएकाले पाँचतारे होटलको बिजनेस पनि त्यसपछि नै सुचारु हुने व्यवसायीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .