ad ad

कारोबार


घाटामात्रै थप्ने चिनियाँ जहाज निगमले नचलाउने, वार्षिक ५० करोड जोगिने

घाटामात्रै थप्ने चिनियाँ जहाज निगमले नचलाउने, वार्षिक ५० करोड जोगिने

वसन्त अर्याल
साउन ४, २०७७ आइतबार ११:५९,

नेपाल वायुसेवा निगमलाई ‘घाँडो’ भएका ६ वटा जहाज नचलाउने भएको छ। निगम बोर्डले जहाज सञ्चालन गर्दा वार्षिक करिब ५० करोड घाटा भएको भन्दै सञ्चालन नगर्ने निर्णय गरेको हो।

साउन १५ देखि चिनियाँ जहाज नचलाउने तयारी गरेको निगमले तिनीहरु सञ्चालन गर्दा बीमाशुल्क, क्रु खर्च तथा मर्मत (पिरियोडिक मेन्टिनेन्स फर एयर वर्थिनेस) खर्च मात्र वार्षिक ५० करोडभन्दा बढी खुद घाटा भइरहेको दाबी गरेको छ।

चिनियाँ जहाजको कारण निगमलाई आर्थिक वर्ष २०७१/०७२ देखि २०७६/०७७ सम्म करिब २ अर्ब ३३ करोड घाटा भएको देखिएको छ। ६ चिनियाँ जहाजको कारण गत आर्थिक वर्षमा मात्रै ४३ करोड घाटा व्यहोरेको प्रारम्भिक रिपोर्टले देखाएको छ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार पनि निगमले आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा मात्रै ९१ करोड ४५ लाख खुद नोक्सानी व्यहोर्नुपरेकाले मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनुपर्ने उल्लेख छ।

निगमले चिनियाँ जहाजको व्यावसायिक उडान गरी कहिल्यै खर्च उठाउन नसक्ने निष्कर्ष निकालेको छ। निगमलाई जहाज चलाउनभन्दा नचलाउँदा नै फाइदा हुने देखिएको बोर्डको निष्कर्ष रहेको एक सदस्यले जानकारी दिए।

निगमसँग चीन सरकारको सहयोगमा प्राप्त भएका एमए६० र वाई१२ई गरी दुईवटा विमान छन् भने सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका एक एमए ६० र ३ वटा वाई१२ई चार जहाज रहेका छन्।

छवटा जहाजमध्ये चारवटा ग्राउन्डेड अवस्थामा छन्। दुईवटा एमए ६० मध्ये एक ग्राउन्डेन्ड र ४ वटा वाई१२ई मध्ये तीनवटा ग्राउन्डेड छन्। जसमध्ये एउटा नेपालगञ्जमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

यसकारण घाटा थप्छन् चिनियाँ जहाजले
चिनियाँ जहाजको बीमा रकम अन्य जहाजहरुभन्दा करिब ३५ प्रतिशतले बढी छ। उक्त जहाज चलाउने पाइलटहरु उपलब्ध नहुने भएकोले आफैँले उत्पादन गर्नुपरेको निगमले जनाएको छ।

निगमलाई पाइलट उत्पादन एयरबस ३२० (न्यारोबडी)भन्दा पनि महंगो पर्ने गरेको छ।

निगमका ती बोर्ड सदस्यले चिनियाँ जहाज सञ्चालन गर्न नसक्नुको कारणबारे नेपालखबरसँग भने, ‘यी जहाजहरुको स्पेयर पार्ट्स समेत अन्य जहाजभन्दा करिब ७५ प्रतिशतले महंगो छ।’

जहाज ग्राउण्डेड भइसकेपछि स्पेयर पार्टस अर्डर गर्दा अत्यधिक समय लाग्ने गरेको र कतिपय अवस्थामा अर्डर गरेको पार्टस २ महिनासम्म पनि प्राप्त गर्न नसकिएको उनले बताए।

त्यस्तै दुवै जहाजको प्रशिक्षक पाइलट अभाव रहेको तथा प्रशिक्षण खर्च अन्य समान जहाजको तुलनामा ४ गुणासम्म बढी रहेको बताइएको छ।

‘एमए६० को सिमुलेटर तालिम खर्च अन्य जहाजभन्दा ७८ प्रतिशत बढी तथा टाइप रेटिङ तालिम खर्च ३० प्रतिशतले बढी छ’, बोर्ड सदस्यले भने, ‘एमए ६०को इन्धन खर्च अन्य समान प्रकृतिको जहाजभन्दा दोब्बर र वाई १२ ई को ५० प्रतिशतभन्दा बढी छ।’

निगमले चिनियाँ जहाजहरुको मुनाफामा सञ्चालन गर्न मोडालिटी तयार गर्न तथा उपयुक्त व्यवस्था गर्न ७/८ वटा उपसमिति गठन र सञ्चालन समितिका २० वटा बैठकहरुमा छलफल भए पनि जहाज सञ्चालन गरेर मुनाफा गर्न नसकिने निष्कर्ष निकालिएको बताएको छ।

साउन १५ गते सञ्चालनमा नल्याएसँगै चिनियाँ जहाजमात्र मर्मत गर्ने लाइसेन्स भएका इन्जिनियरहरुलाई सोबापतको भत्ता उपलब्ध नगराउन, पाइलटहरुको करार नवीकरण नगर्ने सञ्चालक समितिले निर्णय गरेको छ।

१७ जना पाइलटसहिट ६३ जना कर्मचारी चिनियाँ जहाजमा सञ्चालनमा संग्लन छन्।

‘यी चिनियाँ जहाज निजी क्षेत्रले पनि व्यावसायिक उडान गरेर नाफा कमाउन सक्दैनन्। उद्धार उडान वा आर्मीले स्काई ट्रक बनाएर सञ्चालन गर्न सक्छ’, ती बोर्ड सदस्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .