कुवेतबाट त्रिभुवन विमानस्थल आइपुगेका नेपालीलाई साझा यातायातले होल्डिङ सेन्टरमा लैजाने भएको छ। आज फर्किएका ३०० नेपालीलाई ८ वटा साझा यातायातका बसले सेन्टर सम्म लैजान लागेका हुन्।
साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले ८ वटा बस पठाएको बताएका छन्। ‘सीसीएमसीको आग्रहमा हामीले ८ वटा बस पठाएका छौं’, पाण्डेले भने, ‘सुरक्षाको जिम्मा पनि उसैले पाएको छ।’
उनका अनुसार विदेशबाट आउने सबैलाई साझाले होल्डिङ सेन्टरसम्म बोक्ने छलफल भए पनि सीसीएमसीसँग सम्झौता भने हुन बाँकी रहेको छ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रले विदेशबाट विमानस्थल आउनेलाई नेपाली सेनालाई व्यवस्थित रूपमा होल्डिङ सेन्टर पुर्याउने जिम्मा दिएको छ।
नेपाली सेनाका सेनानी शिव प्रसाद पौडेलले साझासँगै नेपाली सेनाका बस पनि प्रयोग हुने जानकारी दिएका। ‘गत शुक्रबार म्यानमार र युएईबाट आएकालाई सेनाकै बसले होल्डिङ सेन्टरसम्म ल्याएको हो’, पौडेलले भने, ‘आज साझाका धेरै बस प्रयोगमा आएका छन्।’
विमानस्थलमा हाल ९ वटा बस यात्रु लिन गएकोमा ८ वटा साझा र १ वटा सेनाको बस रहेको छ।
नेपाली सेनाले सामाजिक दुरी कायम गर्दै बसमा बस्ने व्यवस्था मिलाएको छ । ‘प्रदेशअनुसारको गाडी छन्। जो जुन प्रदेशको हो, त्यसैमा चढ्छन्’, उनले भने, ‘हामीले होल्डिङ सेन्टरसम्म ल्याउँछौं। त्यसपछि उहाँहरू आफ्नो गन्तव्यमा जानुहुन्छ।’
सरकारले गत शुक्रबारबाट विदेशमा रहेका नेपाली ल्याउन अनुमति दिएको हो । युएईबाट १६८ र म्यानमारबाट २६ नेपाली फर्किएका थिए भने आज कुवेतबाट ३०० नेपाली फर्किएका हुन्। जेठ ३२ बाट दैनिकरूपमा नेपालीको उद्धार गर्ने समयतालिका सार्वजनिक गरेको छ।
सरकारले प्रदेश अनुसार होल्डिङ सेन्टर बनाएको छ। विदेशबाट फर्किएकालाई छोटो समय त्यहाँ राखिन्छ र प्रदेश वा स्थानीय तहाको समन्वयमा पालिकामा पठाइन्छ। उनीहरू आफ्नो पालिकामा १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्छ।
विदेशबाट आएकाले होटलमा बस्न चाहे आफ्नो खर्चमा १४ दिन सरकारले क्वारेन्टिनको लागि तोकिएको होटलमा बस्न सक्छन्।
प्रतिक्रिया