ad ad

कारोबार


विदेशबाट नेपालीको उद्धारमा प्रयोग गर्ने जहाजबारे सरकारले निर्णय लिनै सकेन

विदेशबाट नेपालीको उद्धारमा प्रयोग गर्ने जहाजबारे सरकारले निर्णय लिनै सकेन

वसन्त अर्याल
जेठ २८, २०७७ बुधबार ८:२४,

विदेशमा रहेका नेपाली उद्धार गर्न कुन जहाज प्रयोग गर्ने भन्ने विषय सरकार अलमलिएको छ।

नेपाली जहाजलाई उडानमा प्रयोग गर्ने बताए पनि सरकारको व्यवस्थापकीय कौशल र कूटनीतिक चातुर्य नदेखिँदा विदेशी जहाजले समेत उडान भर्ने निश्चित देखिएको छ।

कोरोनाका कारण जारी लकडाउनले ठूलो नोक्सानी व्यहोरिरहेका नेपाली एयरलाइन्सलाई उद्धार गर्न दिँदा कम्पनीहरुलाई केही राहत हुने आशा गरिएको थियो। तर सरकारी कमजोर कूटनीतिका कारण नेपाली जहाज उडानमा कठिनाइ भइरहेको हवाइ व्यवसायीहरुले बताएका छन्।

विदेशमा रहेका नेपाली ल्याउन त्यहाँकै एयरलाइन्स कम्पनी अग्रसर देखिएका छन्। कम्पनीकै खर्च र त्यहाँको सरकारी खर्चमा आउने नेपालीलाई उनीहरुकै जहाज प्रयोग गरी नेपाली फर्काउने प्रस्ताव नेपाल सरकारलाई गरेका छन्।

यसअघि शुक्रबार नेपाल फर्किएकालाई युएईको कम्पनीले युएईकै जहाज प्रयोग गरी १ सय ६८ जना नेपाली ल्याएको थियो भने म्यान्मारले सरकारी खर्चमै उसैको जहाज प्रयोग गरी २६ नेपाली ल्याइदिएको थियो।

त्यसरी आफ्नै खर्चमा युएईले नेपाल पठाउँदा त्यहाँ दुःख पाएका नेपाली भने आउन सकेनन्। युएईले आफ्नै जहाज प्रयोग गरी नेपाली फर्काउने प्रस्ताव नेपाललाई गरेको छ।

कुवेतले बिहीबार आफ्नो जहाजबाट नेपाली फर्काउँदै छ। ३ हजार बढी नागरिकलाई उनीहरुकै खर्चमा पठाउने नेपाल सरकारलाई प्रस्ताव कुवेतले गरेको छ।

ती देशहरुले आफ्ना एयरलाइन्सहरुको व्यापार बढाउन उनीहरुकै जहाज प्रयोग गर्ने प्रस्ताव गरेका हुन्।

सबै देशमा नेपाली जहाज उडान सम्भव नभएको भन्दै विदेशस्थित विभिन्न दूतावासले चार्टर्ड उडान गरी नेपाली पठाउँदा मंहगो हुने हुँदा नियमित उडान खुल्ला गर्नुपर्ने परराष्ट्र मन्त्रालयलाई सुझाव दिएका छन्। तर केही समयको लागि नियमित उडान गर्दा नेपालमा व्यवस्थापन गर्न नसकिने चिन्ता पनि छ।

विदेशमा दुःख पाइरहेका नेपालीलाई कुन जहाजमा ल्याउने भन्ने विषयमा लामो छलफल गर्दा पनि अझै टुंगोमा नपुगेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आक्रोश पोखेको छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले नेपालीको उद्धार गर्ने निणर्य गरे पनि कुन जहाज प्रयोग गर्नेमै अलमलमा रहेको भन्दै मंगलबार आक्रोश पोखेका थिए।

‘विदेशमा नेपालीले दुःख पाइरहेका छन् । सरकारले उद्धार गर्ने निणर्य गर्छ तर कुन जहाज प्रयोग गर्ने भन्नेमा निर्णय गर्न सक्दैन’, उनले भने।

सरकार वा यात्रु आफैँले खर्च गरी ल्याउँदा नेपाली जहाज नै प्रयोग हुने
नेपाल सरकार वा यात्रु आफैँले खर्च गरी आउनेको लागि नेपाली एयरलाइन्स नै प्रयोग हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाबी गरेको छ।

नेपालीहरुको उद्धारको लागि विदेशी एयरलाइन्सलाई पनि खुल्ला गरिने विषयमा चर्चामा आएपछि मन्त्रालयले वायुसेवा निगम र हिमालय एयरलाइन्स नै प्रयोग गर्ने तयारी रहेको बताएको छ।

‘नेपाल वायुसेवा निगमसँग उपलब्ध ४ वटा र हिमालय एयरलाइन्ससँग उपलब्ध ४ वटा जहाजले उडान गर्ने भनेर सीएमसीमा प्रस्ताव गरेका छौं’, संस्कृति मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, ‘ती जहाजहरुको प्रयोग गर्दै ती जहाजले उडान गर्न सक्ने दूरीसम्म यी ८ वटा जहाजको प्रयोग गर्ने भन्ने छलफल भई समयतालिका अन्तिमरुपमा पुगेको छ।’

लामोदूरीको यात्राको लागि ६ वटा न्यारोबडी र २ वटा वाइडबडी जहाज छन्। नेपाल एयरलाइन्ससँग २ सय ७४ क्षमताका दुईवटा वाइडबडी र १ सय ५८ क्षमताका २ न्यारोबडी जहाज छन् भने हिमालय एयरलाइन्ससँग ४ वटा न्यारोबडी जहाज छन्।

सरकारले नेपाल एयरलाइन्स मात्रै प्रयोग गरे एकपटकमा ४ जहाजले ८ सय ६४ जनालाई नेपाल ल्याउन सकिन्छ। चारवटा जहाज प्रयोग गर्दा एकपटकमा ६ सय जना बोक्न सकिन्छ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले मन्त्रालयमा बुझाएको प्रस्तावमा दैनिक दुई उडान गर्न सकिने उल्लेख गरेका छन्। यसको मतलब नेपाली दुई हवाइ कम्पनीले मात्रै दैनिक २८ सय बढी मानिस ल्याउन सक्छन्।

‘सम्भवतः आजै टुंगिन्छ’
मन्त्रालयमा नागरिक उड्डयन क्षेत्र हेर्ने आचार्यले मंगलबार परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच समयतालिका तथा जहाज क्षमताको विषयमा छलफल भएको बताए।

‘कुन जहाज कहाँ पठाउने भन्ने टुंगो सम्भवतः आज (बुधबार) टुंगिने सम्भावना छ’, आचार्यले नेपालखबरसँग भने, ‘जहाज टुंगो लागिसकेपछि विदेशस्थित कूटनीतिक नियोगमा खबर दिइन्छ । त्यसपछि नेपालीको उद्धार सुरु हुन्छ।’

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले कुन जहाज प्रयोग गर्ने निष्कर्षमा नपुगिएको बताए।

‘कुन जहाज प्रयोग गर्ने भन्ने कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा छलफल भइरहेको छ’, हाल केन्द्रमै कार्यरत लामिछानेले भने, ‘छिट्टै टुंगो लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .