ad ad

कारोबार


कोरिया फर्कने श्रमिकको अन्योल हट्यो

कोरिया फर्कने श्रमिकको अन्योल हट्यो

जीवन खत्री
बैशाख २३, २०७७ मंगलबार ११:४६,

कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ। नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो। जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता दिने र बाँकीलाई पालैपालो उडाइनेछ भने चार्टर्ड नै भए पनि नेपाल एयरलाइन्सको विमान पहिलोपटक दक्षिण कोरियामा अवतरण हुनेछ।

लकडाउनका कारण बिदा अवधि समाप्त भए पनि कोरिया फर्कन नसक्दा बिदामा नेपाल पुगेका ८०० बढी नेपालीको रोजगारी नै गुम्ने खतरा बढेपछि यहाँका व्यवसायी, समाजसेवी र एनआरएनए कोरियालगायतले कोरिया फर्कनुपर्ने नेपालीलाई फर्काउन नेपाल सरकारलाई अनुरोध गरेका थिए। अनुरोधअनुरुप नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले कोरिया फर्किनुपर्ने नेपाली श्रमिकलाई श्रमिकको आफ्नै खर्चमा कोरिया फर्कन सक्ने निर्णय गरेको थियो।

लगत्तै एनआरएनए कोरियाले नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरी गत अप्रिल ३० तारिखमै उडाउने तयारी गरेको थियो तर दक्षिण कोरिया सरकारको अनुरोधमा नेपाल सरकारले कोरिया फर्कने सम्पूर्ण नेपालीको स्वास्थ्य परीक्षण (-यापिड टेष्ट) गरेर मात्र फर्कनुपर्ने निर्णय गरेपछि मेडिकलका लागि समय लाग्ने भन्दै उक्त उडान रद्द भएको जनाइएको थियो।

तत्पश्चात नेपाल एयरलाइन्सले पुनः मे १२ तारिखको लागि उडान गर्ने निर्णयसँगै कोरिया आउन चाहने नेपालीको उडान कहिले होला भन्ने अन्योल हटेको छ । यसका लागि एनआरएनए कोरियाले संयोजन गरेको छ। यसका लागि चरणबद्धरूपमा काम भइरहेको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए। उनका अनुसार नेपालमा पुगेर रोकिएका र आउन चाहने नेपाली एक हजार ४०० बढी छन्। जसमध्ये ८०० बढीले फाराम नै भरेका छन्। तीमध्ये सबैको डाटा एचआरडी कोरियालाई बुझाइनेछ। बुझाइएका डाटाबाट अवस्था हेरी एचआरडी कोरियाले कोरिया फर्किन सक्ने नेपाली श्रमिकको निर्णय लिनेछ। यस अवधिमा नेपालमा रहेका नेपालीले शुक्रराज ट्रपिकल टेकु वा नजिकको -यापिड टेष्ट गराउने अस्पतालबाट -यापिड टेष्ट गराउनुपर्नेछ।

टिकटवापत एक लाख १३ हजार ७७५ लाग्ने एनआरएनए कोरियाले जनाएको छ। कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ। फर्किनुअघि कम्पनीसँग कुरा गरी कम्पनीले क्वारेन्टाइनको सुविधा दिन सक्ने वा नसक्ने तथा दिन नसके कोरिया सरकारले सहयोग गर्ने सूचना जारी भएको छ तर क्वारेन्टिनको खर्च लाग्ने वा नलाग्ने खुलाइएको छैन। यसअघि दिनको एक लाख कोरियन वन तिरेर सरकारी क्वारेन्टिनमा बस्न सकिने जनाइएको थियो।

लकडाउनका कारण काठमाडौं बाहिर भएकालाई काठमाडौंसम्म आउन समस्या हुनसक्ने भन्दै एनआरएनए कोरियाले गृहमन्त्रालयसँग समन्वय गरी घर नजिकैको शहरबाट यातयातको व्यवस्थासमेत गर्नेछ। तर, उक्त खर्च भने स्वयंले तिर्नुपर्ने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .