ad ad

कारोबार


२५ गते पछि सबै उद्योग खुलाउने तयारी, यस्तो छ सञ्चालन कार्यविधि

२५ गते पछि सबै उद्योग खुलाउने तयारी, यस्तो छ सञ्चालन कार्यविधि

दीपक भट्ट
बैशाख २१, २०७७ आइतबार १४:४४,

सरकारले यही वैशाख २५ गतेपछि उत्पादनमूलक सबै उद्योगहरु सञ्चालन गर्न दिने भएको छ। २५ गते पछि लक डाउनलाई विस्तारै खुकुलो गर्ने क्रममा उत्पादनमुलक उद्योगलाई सञ्चालन गर्न दिने तयारी गरिएकाे छ।

सरकारले कार्यविधि नै बनाएर उद्योग सञ्चालनको तयारी गरेको हो। यो भन्दा पहिले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णय भएकोमा सरकारले सामाजिक दूरी कायम हुने गरि सम्पूर्ण उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको जनाएकाे छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सञ्चालन गर्दा कोरोना संक्रमणबाट बच्ने सुरक्षाका उपायहरु अपनाउनु पर्ने कार्यविधि बनाएको छ। सामाजिक दूरी कायम हुने गरी कामदारहरु उद्योगमा उपस्थिति हुने, मास्क, स्यानिटाइजरको प्रयोग गरेर सावधानीको उपायहरु अपनाउनु पर्ने मन्त्रालयले बनाएको कार्यविधिमा उल्लेख गरेको छ।

यो कार्यविधि उद्योगीहरुको छाता संगठनमार्फत सम्बन्धित सबैलाई जानकारीसमेत गराइसकेको उद्योग राज्यमन्त्री मोतिलाल दुगडले बताए।

‘उद्योगीहरु सबैलाई जानकारी गराइएको छ। सबै उद्योगहरु सञ्चालन हुनपर्छ भन्ने सरकारको धारणा छ’ उनले भने, ‘तर त्यसमा सावधानी अपनाउनुपर्यो, उद्योग सञ्चालन गर्दा कोरोना संकमण हुनु हुँदैन भन्ने मात्रै सरकारको धारणा हो।’

सरकारले बनाएको कार्यविधिअनुसार उद्योग सञ्चालन गरे नगरेको स्थानीय तहको समन्वयमा सुरक्षा निकायले अनुगमन समेत गर्ने छ।

योजना आयोगले पनि अर्थतन्त्र धेरै नै कमजोर भैसकेको भन्दै सुरक्षाको विधि अपनाएको उद्योग सञ्चालन गर्न सुझाव दिएको थियो। आयोगले स्थानीय ल्यावहरुमा मजदुरको स्वास्थ्य चेकजाँच गर्ने गरी उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारलाई भनेको छ।

तर अहिले नै उद्योग सञ्चालनको लागि भने समस्या रहेको उद्योगीको भनाई छ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग बन्द भए पछि कैयौं मजदुर आ आफ्नो घर पुगेका र कतिपय मजदुर भारतीय समेत भएकोले सरकारले भने जसरी उद्योग सञ्चालन गर्न नसकिने बताइन्।

उद्योगहरु आफैँ घाटामा रहेको अवस्थामा मजदुर उपलब्ध भएसम्म सञ्चालन हुनु राम्रो भएको उनको भनाई छ।

लक डाउनको समयमा कति उद्योग सञ्चालनमा छन्?
सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने तथा निर्माण क्षेत्रससँग सम्बन्धित कामलाई निरन्तरता दिने निर्णय गरे बमोजिम त्यस प्रकारका ५० प्रतिशत उद्योग सञ्चालनमा रहेको पाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकालेको तथ्यांक अनुसार औद्योगीक करिडोरमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने १५० मध्ये ५० प्रतिशत उद्योग सञ्चालनमा रहेको पाइएको छ।

धरानमा ५० वटा अत्यावश्यक उद्योग रहेकामा ९ वटा सञ्चालनमा छन्। सप्तरीमा ७० वटा उद्योग मध्ये २ वटा सञ्चालनमा छन्। हेटौंडामा ४३ वटामा २२ वटा, नेपालगञ्जमा ४३ मा १० वटा, बुटवलमा ६० वटामा ३ वटा मात्रै सञ्चालनमा रहेका छन्।

यस्तै, विरेन्द्रनगरमा ५५ वटा रहेकोमा ९ वटा सञ्चालनमा छन्। पोखरामा २१ वटा रहेकोमा ३४ वटा, पाटन औद्यागीक क्षेत्रमा ३३ वटामा २९ वटा, बालाजुमा ७३ वटा रहेकोमा २७ वटा, भक्तपुरमा ४५ वटा रहेकोमा ५ वटा उद्योगहरु सञ्चालन भइरहेको मन्त्रालयको तथ्यांक छ।

क्षेत्रगत आधारमा पोल्ट्री उद्योगहरु ३० प्रतिशत सञ्चालनमा रहेका छन्। इट्टा उद्योग २५ प्रतिशत, औषधि उद्योग पनि २५ प्रतिशत र खाद्यान्न उद्योगहरु ५० प्रतिशत सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .