लकडाउनको कारण बैंकहरुमा अधिक तरलता अर्थात् धेरै रकम थुप्रिन पुगेको छ। अहिले बैंकहरुमा अनिवार्य नगद मौज्दातबाहेक ४५ अर्ब ७८ करोड रुपैयाँ तरलता रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो।
नेपालको सीडीसी रेसियोअनुसार २० प्रतिशत रकम अनिवार्य मौज्दात राख्नुपर्ने हुन्छ। उक्त २० प्रतिशतबाहेक नै ४५ अर्ब ७८ करोड रुपैयाँ बैंकमा जम्मा भएको छ।
यति रकम रहे पनि कर्जामा माग भने यो समयमा ठप्पप्रायः छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकार भट्टका अनुसार कोरोना संकमणपछि लगानीकर्ताहरुले थप पैसा लगानी गर्न नसक्दा बैंकहरुमा उच्च तरलता देखिएको हो।
तर लकडाउन खुले पनि सामान्य कर्जा बढ्ने आँकलन राष्ट्र बैंकले गरेको उनले जानकारी गराए।
चालू आर्थिक वर्षको पछिल्लो केही महिनामा कर्जा प्रवाह यसै पनि कमजोर रहेको थियो। कोरोना संक्रमण तथा लकडाउनपछि झन् ठप्पजसतै भएपछि रकम थुप्रिनपुगेको राष्ट्र बैंकले जनाएको छ।
नेपालमा लगानीको उच्च आवश्यकता रहेकोले कर्जाको माग हरेक वर्ष बढ्नुपर्ने राष्ट्र बैंकको धारणा छ। चालू आर्थिक वर्षको फागुनसम्म ४ दशमलव ८ प्रतिशतले मात्रै कर्जा माग बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा माग १३ प्रतिशतले बढेको थियो।
मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १५ दशमलव ७ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रमाथिको दाबी २०७६ फागुन मसान्तमा १४ दशमलव ६ प्रतिशतले बढेको छ।
चैत मसान्तसम्ममा भने निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ११ दशमलव ९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा २ दशमलव ३ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०७६/०७७ को नौ महिनासम्म वाणिज्य बैंकहरूले १२ खर्ब ६२ अर्ब २७ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीचबाहेक)ले १ खर्ब १६ अर्ब ५३ करोडको अन्तर–बैंक कारोबार गरेका छन्।
आर्थिक वर्ष २०७६/०७७ को नौ महिनासम्ममा यस बैंकले रिपोमार्पmत १ खर्ब १३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधामार्फत ७३ अर्ब ६ करोड गरी कुल १ खर्ब ८६ अर्ब ८३ करोड तरलता प्रवाह गरेको छ।
यसकारण थुप्रियो रकम
बैंकमा निक्षेप संकलनसँगै राष्ट्र बैंकको पैसा पनि बैंकहरुमा पुगेपछि अधिक तरलता देखिएको हो। साथै, यस अवधिमा नेपाल राष्ट्र बैंकले पटक–पटक गरी ५८ अर्ब तरलता प्रशोचन गरिसकेको छ। यस्तो प्रशोचन निक्षेप बोलकबोलमार्फत ३० अर्ब र रिभर्स रिपोमार्फत २८ अर्ब रहेको छ।
आर्थिक वर्ष २०७६/०७७ को नौ महिनासम्ममा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर २ अर्ब ६७ करोड खुद खरिद गरी ३ खर्ब ५ अर्ब ८६ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ।
त्यसैगरी, समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्री गरी ३ खर्ब ५० अर्ब ९ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ।
९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २०७५ चैतमा ४ दशमलव ४४ प्रतिशत रहेकोमा २०७६ चैतमा २.१३ प्रतिशत रहेको छ। त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको ५.२८ प्रतिशतको तुलनामा २०७६ चैतमा २.१३ प्रतिशत रहेको छ।
अन्य वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको ५.०६ प्रतिशतको तुलनामा २०७६ चैतमा ३.५२ प्रतिशत कायम भएको छ।
यस्तो छ बैंकहरुको ब्याजदर
२०७६ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ७७ प्रतिशत रहेका कारण कर्जा र निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५ दशमलव ०३ प्रतिशत रहेको छ। २०७५ फागुनमा यस्तो अन्तर ५ दशमलव ७१ प्रतिशत रहेको थियो।
तर यो अवधिमा भने बैंकहरु कर्जाको ब्याजदर घटाउने क्रममा छन्। कृषि विकास बैंकले गत हप्तासम्म ११ प्रतिशत रहेको कर्जाको ब्याजदर ९ प्रतिशतमा झारिसकेको छ।
अन्य बैंकहरु पनि कर्जाको ब्याजदर झारेर लगानीकर्ताहरुलाई आकर्षित गर्ने तयारीमा रहेका छन्।
प्रतिक्रिया