ad ad

कारोबार


कोरोना प्रभावित व्यवसायीलाई सम्बोधन गर्न सरकारले राहत प्याकेज ल्याउँदै

कोरोना प्रभावित व्यवसायीलाई सम्बोधन गर्न सरकारले राहत प्याकेज ल्याउँदै

नेपालखबर
चैत ३, २०७६ सोमबार १०:१४,

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनाको कारण प्रभावित पर्यटन व्यवसायीलाई राहतको प्याकेज ल्याउने प्रतिबद्धता जनाएका छन्। मन्त्री पोखरेलले मन्त्रालयमा पर्यटन व्यवसायीसँग छलफल गर्दै उच्चस्तरीय समितिले प्याकेजका कार्यक्रम ल्याउने बताएका हुन्।

उनले सरकारले गर्न सक्ने सहयोगको लागि व्यवसायीलाई ठोस रुपमा प्रस्तुत हुन आग्रह गरे।

‘हामी निर्णय गर्ने ठाउँमा भए पनि सबै कुरा थाहा हुँदैन’, मन्त्री पोखरेलले व्यवसायीलाई भने, ‘पर्यटन क्षेत्रको वास्तविक समस्या के हो? कुन–कुन व्यवसायलाई ठूलो असर गरेको छ, ठोसरुपमा ल्याउनु।’

मन्त्री पोखरेलले ठोस रुपमा व्यवसायीलाई परेको आर्थिक नोक्सानी र समस्या दुई दिनभित्र पर्यटन मन्त्रालयमा विवरण पेस गर्न भनेका हुन्।

उनले व्यवसायीले भावनाका रुपमा भनेका सबै कुरा सरकारले सम्बोधन गर्न नसक्ने स्पष्ट पारे।

‘भावनामा बगेर हामीलाई समस्या पर्यो भनेर हुँदैन। समस्या विश्वभरि नै परेको छ। कुन क्षेत्रको बढी प्रभावित भएको छ। प्राथमिकताको आधारमा पर्यटन मन्त्रालयमार्फत आउनुहोस्। सरकार सम्बोधन गर्न तयार रहेको छ’, उनले भने।

अर्थमन्त्री समेत पर्यटन व्यवसायीको कुरामा सहमत भएको भन्दै तथ्यांकमा प्रस्तुत भए आफू नेतृत्वको उच्चस्तरीय समितिमार्फत राहतको कार्यक्रम घोषणा गर्ने मन्त्री पोखरेलले आश्वासन दिए।

कार्यक्रममा होटल व्यवसायी, हवाइ व्यवसायी, ट्रेकिङ एजेन्सीहरु नाट्टा, पाट्टा, रेबोनलगायत पर्यटन व्यवसायीको उपस्थिति थियो।

वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ६५ प्रतिशतभन्दा बढीको घाटामा चलिरहेको बताएका थिए।

उनले हेलिकप्टर व्यवसाय ८५–९०, क्षेत्रीय रुपमा चल्ने साना जहाजको ६० प्रतिशत र ट्रक रुट (हब एयरपोर्ट)मा सञ्चालन गर्नेको २० प्रतिशत अकुपेन्सी रहेको बताए।

‘हेलिकप्टर ठप्पै छन्। साना एयरपोर्टमा आधा कम अकुपेन्सी रहेको छ । ट्रक रुटमा ट्राफिक राम्रै देखिन्छ तर यात्रु कम हुँदा भाडा एकदमै घटेको छ’, थापाले मन्त्रीसँग भने, ‘उडान गर्दा पनि व्यवसायीले नाफा कमाउने स्थिति छैन।’

उनले यसको लागि अन्तर्राष्ट्रिय बजारमा घटिरहेको तेलको मूल्य नेपालमा पनि घटाउनुपर्ने माग गरे।

हवाइ व्यवसायीले सबैलाई रिफन्ड दिन नसक्ने उल्लेख गर्दै चार महिनाअघि बुकिङ भएका सबै टिकटको रिफन्ड गर्न थाले एयरलाइन्स नै टाट पल्टिनसक्ने दाबी गरेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले ६० प्रतिशत अन्तर्राष्ट्रिय उडान घटेको जानकारी दिए।

‘करिब ६० प्रतिशत उडान र ७० प्रतिशत यात्रु घटेका छन्’, महानिर्देशक पोखरेलले भने, ‘सरकारले ट्राभल एड्भाइजरी जारी गरेको देशमा मात्रै फुल रिफन्ड गर्न एयरलाइन्सलाई भनेका छौँ।’

सरकारले ट्राभल एडभाइजरी जारी नगरेको तर यात्रु जान नचाहे पूरै रिफन्ड गर्न सकिने अवस्था नहुने बताए।

नेपाल टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईंले सबैभन्दा ठूलो रिफन्डको समस्या भएको बताए। उनले व्यवसायीले ल्याएको ऋण तिर्नसक्ने अवस्था नरहेको भन्दै ऋण तिर्नुपर्ने तालिकामा सार्न पाउनुपर्ने बताए।

ट्रेकिङ एसोसिएसन अफ नेपालका अध्यक्ष खुम बहादुर सुवेदीले बुकिङ रद्द हुँदा अर्बौँ घाटा भएको बताए। उनले ८० प्रतिशत होटल भाडामा भएकाले ६ महिनाको लागि पछि सार्नुपर्ने बताए।

‘व्यवसाय ठप्प भएको छ, घरबेटीलाई ६ महिनापछि भाडा दिन पाउने व्यवस्था हुनुपर्छ’, सुवेदीले भने, ‘सरकारले घरभाडाबापतको कर छुट दिनुपर्छ।’

सरकारले घर भाडाबापत १० प्रतिशत कर उठाउँदै आएको छ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्त लामाले हिमाल आरोहण बन्द भए पनि कर्मचारीलाई हिमाल सफा गर्न तथा उचित तालिमको व्यवस्था गर्न सकिने सरकारलाई सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .