ललितपुरको लगनखेल क्षेत्रमा संयुक्त बजार अनुगमन टोली पुग्नेबित्तिकै लगनखेल प्रयागमार्गका व्यापारीहरुले पसल बन्द गराएका छन्।
कम तौलका ढक तराजुबाट आलु र प्याजलगायत बिक्रीवितरण गरेको सूचना पाएपछि बुधबार जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकाय अनुगमनका लागि लगनटोल पुगेको थियो।
केही पसल अनुगमन गर्दा कम परिमाणमा बेचेको पाइएपछि जरिवाना गरिएको उद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सञ्जय थापाले जानकारी दिए।
‘हामीले केही पसल अनुगमन गर्दा कम तौलमा आलु प्याज बेचेको पायौँ, केहीलाई कारबाही र केहीलाई सचेत गराउँदै थियौँ’, थापाले भने, ‘तर, अन्य पसल सटर लगाएर हिँडे।’
अहिले व्यापारीको भागाभाग भएको उनले बताए।
अनुगमन समितिले मंगलबार ललितपुरकै जावालाखेलमा रहेको रायल एलिनाज बेकरी क्याफेलाई फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्र्याइँ गरेको भन्दै २० हजार जरिवाना तिराएको थियो।
यस्तै, मानभवनमा रहेको जोइन्ट बार एन्ड ग्रिललाई पनि १० हजार जरिवाना तिराएर मदिरा पसल सिल गरेको थियो।
दशैँ नजिकिएपछि व्यापारीले बजार मूल्यभन्दा चर्काे मूल्य लिएपछि संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गरिरहेको छ।
Shares
प्रतिक्रिया