ad ad

कारोबार


सेयरबजारमा के भइरहेको छ?

सेयरबजारमा के भइरहेको छ?

सम्झना घिमिरे
भदौ १२, २०८१ बुधबार १२:१०, काठमाडौँ

नेप्से परिसूचकले ३८ दिनमा १ हजारमाथिको छलाङ मारेसँगै नयाँ ‘रेकर्ड’ बनाउनेमा सेयरबजारका लगानीकर्ता ढुक्क थिए। तर अघिल्लो बुलको रेकर्डनजिकै पुगेर सूचक फर्किएपछि उनीहरु सशंकित बन्नथालेका छन्।

सेयरबजार बढ्छ भन्ने बलियो मनस्थितिसहित नयाँ लगानीकर्ता बजार पसे पनि बजारको गतिले अलमलमा पर्नथालेका हुन्।  

आइतबार ७९ अंकले नेप्से घटेपछि बजारले ‘करेक्सन’ सकेको अनुमान थियो। तर अर्को कारोबार दिन मंगलबार पनि १११ अंकले नेप्से घट्यो। यसले लगानीकर्तालाई सशंकित बनाएको हो। 

यी दुवै दिन लगानीकर्ताले सेयर होल्डको रणनीति लिएर बसेका छन्। २९ अर्बसम्मको कारोबार गरेका लगानीकर्ताले यो दुवै दिन क्रमशः १९ अर्ब र १८ अर्बको मात्रै कारोबार गरेका छन्।

असार १७ गते २०५३ को विन्दुमा रहेको नेप्से सूचकले भदौ ५ गते ३०८१ को विन्दुलाई छोएपछि लगानीकर्ता अघिल्लो पटकको बुल ३२ नाघ्ने अनुमानमा थिए। साउन ३१, भदौ २ र भदौ ५ गतेको ३ कारोबार दिन निरन्तर ३ हजारमै नेप्से टिकेपछि बजार बढ्ने मनोविज्ञान बलियो बन्न पुगेको थियो। 

यसलाई बैंक तथा वित्तीय संस्थाहरुले सेयरबजारमा ऋण बढाएको सूचनाले थप बलियो बनाउँदा बजारले ३२ सय उचाइ तोड्दै माथि जान्छ भन्नेमा उनीहरु ढुक्क थिए। तर लगानीकर्ताको अनुमानविपरीत नेप्सेमा ठूलो अंकको गिरावट देखिएपछि सेयरबजारमा के भइरहेको छ भन्ने प्रश्न उब्जिएको हो।  

बजार बढ्ने देखेरै साना ठूला लगानीकर्ताले सेयरमा गर्ने लगानीलाई थप बढाएका मात्र थिएनन्, ३ हजारको सूचकमा पुग्दा पनि बजार प्रवेश गर्ने लगानीकर्ता धेरै थिए। ३ हजारमाथि पुगेको कारोबार दिनहरु साउन ३१, भदौ २ र भदौ ५ गते नै क्रमशः २९, २८ र १८ अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। 

भदौ ६ गतेपछि भने बजारले ओरालो बाटो तय गर्‍यो। भदौ ७ मा ३४ अंकको गिरावटपछि ‘करेक्सन’ सकिएर बजार बढ्छ भन्नेमा ढुक्क लगानीकर्ताले कारोबारलाई नघटाई २८ अर्बसम्मको सेयर किनबेच गरेका थिए। तर नेप्से सूचक भदौ ८ मा २ अंकले, भदौ ९ मा ६ अंकले बढेपछि भदौ ९ मा ७९ अंकले र भदौ ११ मा १११ अंकले घट्न पुग्यो। ३८ दिनमा १ हजार अंकले बढेको नेप्से पछिल्लो दुई दिनमा २० प्रतिशतले घटेको हो।

बजारले ३ हजारमा टिक्ने कोशिस गरे पनि त्यसपछिको गिरावट थेग्न नसक्दा दुई दिनमै १९० अंकले सूचक घटेपछि लगानीकर्ता सशंकित बनेका हुन्। इन्भेस्टर फोरमका उपाध्यक्ष राजन लम्साल बजार करेक्सनमा (सूचक निरन्तर बढेपछि लगानीकर्ताले नाफा निकाल्न थाल्दा सूचकमा देखिने गिरावट) गएकोमा स्पष्ट छन्। 

‘२ हजारबाट २८ सय पुग्दा ८ सय अंकको वृद्धिपछि बजारले एकदेखि डेढ सयसम्मको करेक्सन लिनुपथ्र्यो तर त्यसो भएन’, उनी थप्छन्, ‘३ हजार पुगेपछि लगानीकर्ताले नाफा बुक गर्दा २८ सय देखिने करेक्सन बल्ल देखिन थालेको हो।’

बजार बढ्छ भन्ने मनोविज्ञानका बीच नेप्से सूचकसँगै कम्पनीको मूल्य धमाधम घट्न थालेपछि लगानीकर्ताले कारोबारलाई खुम्च्याउँदै स्टपलस (घट्दो बजारको अनुमान गरेर लिने नाफा) गर्न थालेका हुन्। लम्सालका अनुसार यस्तो समयमा बजार बजार बढ्छ भन्ने मनोविज्ञानले र घट्छ भन्ने मनोविज्ञान दुवै लगानीकर्तामा देखिने हुँदा बजारमा प्रवेश गर्ने र बजारबाट निस्किने दुवैखालका लगानीकर्ता देखिन्छन्। 

‘प्रोफिट बुकपछि करेक्सन सकिएर पुनः बजार उकालो लाग्ने सम्भावना रहन्छ। यसले यो समय बजारबाट नाफा निकालेर फेरि प्रवेश गर्ने समय हो’, उनले थपे। 

बलियो ‘मास साइकोलोजी’का कारण बजारमा देखिएको गिरावट छोटो हुने एक मर्चेन्ट बैंकरको बुझाइ छ। 

बजारमा २९ अर्बसम्मको कारोबार भइसकेको अवस्थामा १११ अंकको गिरावटमा पनि लगानीकर्ताले १८ अर्बको कारोबार गर्नुले बजारलाई लिएर मास साइकोलोजी बलियो रहेको मान्न सकिने उनको धारणा छ। 

ती मर्चेन्ट बैंकर भन्छन्, ‘बजार घट्दा पनि १८ अर्बमाथिको कारोबार भएको छ। यसमा बेचेर निस्किने मात्रै भए भन्न मिलेन, यहाँ नाफा बुक गर्नेसँगै लगानीको मौका देखेर लगानी गर्ने दुवै लगानीकर्ता छन्। यसरी कारोबारका आधारमा पनि बजार बढ्ने नै देखिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .