ad ad

कारोबार


९० अर्ब ऋण लिएर सेयरबजारमा लगानी, ठूला खेलाडीको मात्रै ५५ अर्ब

९० अर्ब ऋण लिएर सेयरबजारमा लगानी, ठूला खेलाडीको मात्रै ५५ अर्ब

सम्झना घिमिरे
भदौ २, २०८१ आइतबार २२:४०, काठमाडौँ

तीन वर्षपछि धितोपत्रको दोस्रो बजारको वृद्धिलाई लिएर यतिबेला लगानीकर्ताहरु नाफा निकाल्न व्यस्त देखिएका छन्।

सूचक उकालो चढ्दै गर्दा साना र ठूला दुवै प्रकृतिका लगानीकर्ताले सेयरबजारको दोस्रो बजारमा लगानी तीव्र पारेका हुन्।

नेप्से सूचकले २२ सय विन्दुमाथिको यात्रा गरेसँगै दैनिक औसतमा २२ अर्बको कारोबार गर्दै आएको छ भने सेयरबजारमा एकैदिन अधिकतम ३० अर्ब रुपैयाँसम्मको कारोबार हुन थालिसकेको छ। 

यति धेरै रकम कारोबारमा देखिनुको पछाडि ठूला लगानीकर्ताको बजार प्रवेशलाई प्रमुख कारण मानिएको छ। उनीहरु धमाधम बजार प्रवेश गर्न थालेपछि सूचकले अघिल्लो बुल (२०७८ भदौ ३ गतेको अलटाइम हाई ३१२२) नछुँदै कारोबारमा नयाँ रेकर्ड राख्न थालिसकेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ९० अर्ब ९ करोड रुपैयाँ ऋण लिएर लगानी गरेका छन्। अघिल्लो पटकको बुलमा (२०७८ भदौ ३ गतेको अलटाइम हाई ३१२२) लगानीकर्ताले १ खर्ब ६ अर्ब रुपैयाँ ऋण लगेका थिए। 

गत आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जामा व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमा राखेको थियो भने सूचकले आर्थिक वर्ष सकिनै लाग्दा समेत बढ्ने छाँट देखाएको थिएन। अन्ततः बजारमा ऋण कम प्रवाह भएको थियो। 

यही कारण पनि अघिल्लो बुलमा आइसक्दा समेत सो वर्षजति ऋण प्रवाह भएको छैन। यद्यपि पछिल्लो दुई वर्षको सेयर धितो कर्जालाई हेर्ने हो भने यो वर्ष धेरै कर्जा प्रवाह भएको देखिन्छ। यसले बढ्दो बजारमा लगानीकर्ता ऋण लिएर लगानी गर्न व्यस्त रहेको देखाउँछ। 

ठूला लगानीकर्ताले नै लिए ५५ अर्बमाथिको कर्जा 
बैंक तथा वित्तीय संस्थाहरुबाट ठूला लगानीकर्ताले नै ५५ अर्ब रुपैयाँमाथिको ऋण लिएका छन्। कुल ९० अर्बको कर्जा प्रवाह भएकोमा ५५ अर्बको कर्जा ठूला लगानीकर्ताले लगेका छन्। राष्ट्र बैंकका अनुसार १ करोडमाथि नै ५५ अर्ब ९३ करोड रुपैयाँको कर्जा प्रवाह भएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जाको हकमा रकमअनुसार ऋणीलाई तीन तहमा वर्गीकरण गर्ने गर्छन्। पहिलो १ अर्बमाथिको ऋण लिने ऋणी (जसलाई ठूला लगानीकर्ताका रुपमा लिइन्छ), दोस्रो ५० लाखमाथिको ऋण लिने लगानीकर्ता र तेस्रोमा २५ लाखमाथिको ऋण लिनेहरु पर्दछन्। 

यसअन्तर्गत चालू आवको असार मसान्तसम्म कुल कर्जाको ६२ प्रतिशत हिस्सा ठूला लगानीकर्ताले ओगटेका छन्। यसले असार मसान्तसम्म ठूला लगानीकर्ताले ऋण लिएर धितोपत्रको दोस्रोबजारमा गर्ने लगानी बढाएको देखाउँछ। 

योबाहेक बैंक तथा वित्तीय संस्थाहरुले ५० लाखदेखि १ करोडसम्मको ऋणअन्तर्गत १२ अर्ब ४२ करोड रुपैयाँको ऋण प्रवाह गर्दा २५ लाखमाथिको ऋणमा १४ अर्ब ४२ करोड रुपैयाँको कर्जा प्रवाह गरेका हुन्। 

सबैभन्दा थोरै २५ लाखभन्दा तलको कर्जा शीर्षकमा पनि बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

समग्रमा अघिल्लो वर्षको तुलनामा भने यो वर्ष १ करोडमाथिको कर्जामा २५.१ प्रतिशत, ५० लाखमाथिको कर्जामा ५.५ प्रतिशत, २५ लाखमाथिको कर्जामा १२.८ प्रतिशत र २५ लाखभन्दा कमको कर्जामा ३.९ प्रतिशतले कर्जा प्रवाह बढेको छ।  

लगानीकर्ताले ऋण बढाउँदा बजारमा ३० अर्बसम्मको कारोबार 
लगानीकर्ताले सेयर धितो कर्जा लिएरै पनि सेयरबजारमा कारोबार गरिरहेका छन्। ठूला र साना सबै लगानीकर्ता कर्जा बढाएर कारोबारमा होमिएको राष्ट्र बैंककै तथ्यांकले देखाउँछ। 

पछिल्लो एक महिनामै सेयर कारोबारले ऐतिहासिक कीर्तिमान बनाएको छ। असार मसान्तसम्म ८ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएकोमा साउन लागेसँगै कारोबार रकम बढेर ३० अर्बमा पुगेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार असार ३१ गते नेप्से सूचक २२७७ अंकमा पुग्दा सो दिन ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो।

त्यसयता निरन्तर बजारमा सूचकसँगै कारोबार रकम बढेको छ। सेयर धितो कर्जा लिएर लगानी पर्खिरहेका लगानीकर्तालाई अर्थमन्त्रीमा विष्णु पौडेलको सोही दिनको ‘इन्ट्री’ले थप हौस्याएको थियो। सोही दिन ८ अर्बको कारोबार भएको बजारमा त्यसको भोलि र पर्सिपल्टै १५ अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो।

त्यसयता साउन २ गते नेप्से सूचक २४२४ मा पुग्दा कारोबार रकम बढेर १५ अर्ब ५४ करोड रुपैयाँमा पुगेको छ। त्यसपछि साउन १३ गते १५ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको संस्थागत सीमा खारेज गरेर ११ गते मौद्रिक नीति ल्याएको थियो। त्यसपछिको पहिलो कारोबारमा उक्त कारोबार भएको हो। मौद्रिक नीतिले थप हौस्याएका लगानीकर्ताले साउन १४ मा १९ अर्ब ६० करोडको सेयर कारोबार गरेका छन्।

त्यसपछि क्रमशः साउन २२ मा २३ अर्ब ७१ करोड, साउन २७ मा २५ अर्ब ७७ करोड, साउन २८ मा २७ अर्ब २४ करोड र साउन २९ गते २९ अर्ब ९५ करोडको कारोबार भएको छ। २९ अर्बको कारोबारसँगै सेयर कारोबारले नयाँ उचाइको कीर्तिमान बनाएको छ। 

बढ्न सक्छ अझै सेयर धितो कर्जा  
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको लगाम अर्थात् लाग्दै आएको संस्थागत कर्जाको सीमालाई खारेज गरेको छ। 

यसले सेयर धितो कर्जामा २० करोडको सीमाभित्र बाँधिएका संस्थागत लगानीकर्तालाई स्वच्छन्द बनाएको छ। अर्थात् उनीहरु फुक्काफाल भएर ऋण लिनसक्ने वातावरण बनेको छ। 

यसअघि संस्थागत लगानीकर्ताले वार्षिक २० करोडसम्मको सेयर धितो कर्जा मात्र लिन पाउने व्यवस्था थियो भने व्यक्तिगततर्फका लगानीकर्ता १५ करोडमै खुम्चिनुपरेको थियो। 

चालू आवको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताको सीमालाई खारेज गरेसँगै सेयर नै धितो राखेर लिन सकिने कर्जा थप बढ्न सक्ने आकलन बैंकरको छ। 

नबिल बैंकका उपप्रमुख कार्यकारी (डेपुटी सीईओ) मनोज ज्ञवाली संस्थागत सेयर धितो कर्जाको सीमा खारेजीपछि कर्जाको माग बढेको स्वीकार्छन्।

उनी भन्छन्, ‘सेयर बढेको र संस्थागत सेयर धितो कर्जाको सीमा खारेज गरेका कारण लगानीकर्ताको कर्जा माग थामेर नसक्नु छ।’ 

सेयरबजार बढिरहेकै समयमा अर्थमन्त्रीको रुपमा लगानीकर्ताले रुचाएका व्यक्ति (विष्णु पौडेल) आउनु, मौद्रिक नीतिले संस्थागत सेयर धितो कर्जाको सीमा खारेज गर्नु, निक्षेपको ब्याजदर घटेर औसतमा ५ प्रतिशतमा आउनु जस्ता कुराहरुले पनि बजारमा कारोबार बढाउने देखिएको उनी बताउँछन्। 

ज्ञवालीका अनुसार यसले पनि आगामी महिनामा लगानीकर्ता थप कर्जा लिएर बजारमा भित्रिन सक्ने वातावरण बनाएको छ।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .