ad ad

कारोबार


सेयरबजारमा आक्रामक देखिए बैंकका सेयर, किन उचालिँदै छ बैंकिङ समूह?

सेयरबजारमा आक्रामक देखिए बैंकका सेयर, किन उचालिँदै छ बैंकिङ समूह?

सम्झना घिमिरे
साउन १३, २०८१ आइतबार २०:११, काठमाडौँ

धितोपत्रको दोसो बजारलाई हाँक्ने क्षमता भएको सेयरका रुपमा बैंकिङ समूहलाई लिइन्छ। सोही कारण वाणिज्य बैंकहरुको सेयर मूल्य पछाडि पर्दा प्रायः बजार नै सुस्ताउने गरेको छ।

लगानी सुरक्षित हुने भए पनि प्रतिफल र नाफा हेर्ने लगानीकर्ता कम मूल्यकै कारण यसप्रति आकर्षित हुनसकेका थिएनन्। १९ मध्ये ११ वाणिज्य बैंकहरुको मूल्य ३ सयभन्दा तल हुनु यसैको उदाहरण हो।

धितोपत्र बजारमा पछिल्लो तीन वर्षदेखि यही प्रवृत्ति देखिँदै आएको छ। तर आइतबार यस्तो देखिएन। वाणिज्य बैंकका सबैजसो सेयर आक्रामक देखिए। यस दिन सबैभन्दा धेरै मूल्य बढ्नेको सूचीमा यो समूह अग्रपंक्तिमै आयो।

कम पुँजी भएका कम्पनीहरुको सेयर मूल्य आकाशिँदा पनि सुस्त बैंकहरुको सेयरमा पछिल्लो ९ दिनयता लगानीकर्ता तानिनथालेका हुन्। 

माग र सप्लाई बढ्न थालेपछि दैनिक कारोबार नै अर्बभन्दा माथि हुनथालेको छ। एक वर्षअगाडि २०८० साउन २१ गते १ अर्बको कारोबार भएको बैंकिङ समूहले त्यसयता अर्बमा कारोबार गर्नसकेको थिएन। तर यही साउन २ गतेबाट भने लगानीकर्ताले वाणिज्य बैंकहरुको सेयरमा दैनिक १ देखि २ अर्बको हाराहारीमा कारोबार गर्नथालेका छन्। आइतबार मात्रै लगानीकर्ताले यस समूहको करिब ४ अर्बको कारोबार गरे।

सरकारले चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछिको पहिलो कारोबार आइतबार नै ३ अर्ब ९६ करोड रुपैयाँकोे भयो। कारोबारका हिसाबले चलायमान बन्नथालेको यो समूहको सेयर आइतबार सर्किट लेभल (मूल्यमा १० प्रतिशतको वृद्धि)मै बढेको हो। 

दोस्रो बजारमै सकारात्मक प्रभाव 
वाणिज्य बैंकहरुको सेयर जुर्मुराउन थालेपछि त्यसको असर समग्र धितोपत्रको दोस्रो बजारमा परेको छ। 

बजारमा सूचीकृत ११ वटा (म्युअुचल फन्ड, डिबेन्चर र प्रमोटरबाहेकका) कम्पनीमध्ये तुलनात्मक रुपमा सबैभन्दा धेरै सेयर वाणिज्य बैंककै छन्।

सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको मात्रै ४३ प्रतिशत सेयर हिस्सा छ। यो हिसाबले पनि सेयरबजारमा वाणिज्य बैंकहरुलाई नेतृत्वकर्ताको रुपमा लिइन्छ। 

यसो भन्नुको अर्थ बजारलाई बढाउने वा घटाउने भन्ने कुरामा बैंकको भूमिका महत्त्वपूर्ण रहन्छ भन्नु हो। तर यसअघि देखिएका नेप्सेका बुल (बढेको सेयरबजार ट्रेण्ड) हरुमा छिटपुटबाहेकका बैंकहरुको सेयर मूल्य उति बढ्न नसक्दा आकार ठूलो देखिए पनि मूल्यगत हिसाबमा बैंक सधैँ पछाडि पर्दै आएको थियो। 

तर यो पटकको बढाइमा भने सेयरबजारका जानकारहरु पनि फरक हुने सम्भावना देख्छन्। बजार बढ्न सुरु गर्दैगर्दा वाणिज्य बैंकहरुको जुर्मुराइलाई मौद्रिक नीतिको टेवा मिलेको उनीहरुको भनाइ छ। 

हुन पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुलाई थुप्रै सुविधाहरु दिइएको छ। यसकै कारण बैंकहरुले तुलनात्मक रुपमा यस वर्ष नाफामा सुधार गर्ने देखिएको र त्यही नाफाबाट लाभांश पाउने भएकाले लगानीकर्ताको भरोसा बैंकहरुमाथि बढेको छ। 

यसले बैंकहरुप्रति लगानीकर्ताको विश्वास बलियो बनाउनुका साथै दोस्रो बजारलाई पनि बढाउन मद्दत गर्ने देखिन्छ। गएका वर्षहरुमा लाभांश नपाउने कारणले लगानीकर्ताको रोजाइमा नपर्ने वाणिज्य बैंकहरु यो वर्ष लाभांश दिनसक्ने अवस्थामा पुग्ने आकलन लगानीकर्ताले गरेका छन्।

बदलिएको अवस्थाले देखाएको नाफाको सम्भावना 
आर्थिक वर्ष २०७९/८० मा पनि अधिकांश बैंकले लाभांश दिएका थिएनन्। उक्त वर्ष ८ वटा बैंकले कर्जा नोक्सानी बढेर प्रोभिजनिङ गर्नुपर्ने तथा पुँजीकोष अनुपात सीमामा पुर्‍याउन नसकेकाले लगानीकर्तालाई नगद लाभांश दिएका थिएनन्। १२ बैंकमध्ये २ बैंकले नगद लाभांश लगानीकर्तालाई दिए पनि अन्यले कर प्रयोजनका लागि मात्रै नगद लाभांश छुट्याएका थिए। 

त्यस्तै आव २०८०/८१ मा पनि लगानीकर्ताले सीमित बैंकबाट मात्रै लाभांश पाउने अवस्था थियो। चैत मसान्तको वित्तीय विवरणअनुसार प्राथमिक पुँजीकोष अनुपात (सीसीएआर) ९ प्रतिशतभन्दा तल भएका कारण ५ बैंक लाभांश दिन नसक्ने अवस्थामा थिए। अन्यले पनि पुँजीकोष दबाब खेप्नुपर्दा नगद लाभांश नबाँड्ने सम्भावना रहन्थ्यो। यस्ता कारणले दोस्रोबजारमा दीर्घकालीन लगानीकर्ताको आकर्षण कम देखिन्छ भने अन्य समूहको तुलनामा सेयर संख्या धेरै हुँदा मूल्यको वृद्धिदर समेत कम हुन्थ्यो। जसले लगानीकर्ताको आकर्षण खस्काउन सक्थ्यो। 

यी यावत् कारणले पछाडि परेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत राहत दिएको छ। केन्द्रीय बैंकले असल पुँजीकोष दबाबमा रहेका बैंकहरुको पुँजीकोष बढाउन ससाना प्रयास गरेको छ। जसमा असल कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थालाई १.२० प्रतिशतबाट १.१० प्रतिशतमात्रै गराए हुने, ७५ प्रतिशत मात्रै जोखिमभार कायम गर्नुपर्ने रेगुलेटरी रिटेल पोर्टफोलियो (कृषि, साना, घरेलु तथा मझौला उद्योगमा दिइने कर्जा) को सीमालाई २ करोडबाट २ करोड ५० लाखमा पुर्‍याउँदा हुने र साउन महिनासम्मको ब्याज आम्दानीलाई बैंकले गत आवको नाफाको रुपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ। यसले पुँजीकोषको दबाब घटाउने तथा नाफामा आएको कमीलाई केही हदसम्म बढाउन भूमिका खेल्न सक्नेछ र लगानीकर्तालाई नाफा समेत दिन सक्नेछ।

यस्तो व्यवस्थाले बैंकर मात्रै खुसी देखिएका छैनन्, सेयरबजारका लगानीकर्ता समेत पुलकित छन्। आइतबारको कारोबारमा आएको वृद्धिले लगानीकर्ता मौद्रिक नीतिलाई लिएर सेयर कारोबारमा खुसी देखिएको प्रस्ट हुने विज्ञ बताउँछन्।

‘मौद्रिक राहतले बैंकहरु २० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमतामा देखिए’
त्रिभुवन विश्वविद्यालयका वित्तशास्त्रका उपप्राध्यापक तथा सेयरबजार अध्येता डा. भरत सिंह थापा मौद्रिक नीतिले दिएका राहतका कारण बैंकहरुले गत आवको नाफाबाट लगानीकर्तालाई १५ देखि २० प्रतिशतसम्मको लाभांश दिन सक्ने क्षमता राख्ने बताउँछन्। 

‘बैंकहरुलाई मौद्रिक नीतिले दिएको सहुलियतबाटै लगानीकर्ताले नाफा पाउने हुन्, यस हिसाबमा पनि लाभांश पाउने कुराले बैंकहरुप्रति लगानीकर्ताको मनोविज्ञान बलियो बनेको होे’, उनले नेपालखबरसँग भने।   

सस्तो मूल्यमा कम जोखिम भएका कम्पनीहरु खोज्ने लगानीकर्ताका लागि वाणिज्य बैंकहरुलाई उपयुक्त मानिन्छ। नेप्से सूचकले एक महिनाको अन्तरालमा ६ सय अंक पार गरिसकेकोले नयाँ लगानीकर्ता भित्रिने क्रम बढ्न थाल्ने उनको भनाइ छ। 

यस्तो अवस्थामा सस्तो मूल्य भएका बैंकहरु लगानीकर्ताको रोजाइमा पर्ने आकलनका बीच ठूला लगानीकर्ता सस्ता सेयर उठाउन लागिपरेका छन्। फलस्वरुप आइतबारकै बजारमा पनि सर्किट लाग्ने १० वटा बैंकहरुको मूल्य ४ सयभन्दा तल नै छ।  

आइतबार नेपाल इन्भेष्टमेन्ट बैंकको कित्तामा २१ रुपैयाँले बढेर २४० रुपैयाँ पुग्यो भने नेपाल एसबीआई बैंक ४१ रुपैयाँको वृद्धिसहित ४५१ रुपैयाँमा पुग्यो। यसरी आज १० वटा बैंकको १० प्रतिशतले मूल्य बढ्यो भने बाँकी ९ वटा बैंकको ९ प्रतिशतले मूल्य बढ्यो।

कुल १४ अर्बको कारोबार गर्दा बैंकको मात्रै करिब ४ अर्बको सेयर कारोबार गर्ने लगानीकर्ताले सबैभन्दा धेरै कुमारी, एनआईसी एसियालगायतका बैंकको गरेका छन्।

मौद्रिक नीतिले बैंकप्रतिको माहोल सकारात्मक बनाएको मौका छोपेर सेयर बढाउने प्रयत्नमा लाग्दा बजारमा बैंकहरुको सेयरको माग बढेको डा. थापाको बुझाइ छ।

यसकारण नेप्सेले पार गर्नसक्छ ०७८ भदौ ३ को विन्दु 
त्यसो त यसपटक अघिल्लो पटकको बुल ब्रेक (२०७८ भदौ ३ गते ३२ सय अंकमा पुगेको नेप्से) लाई पनि तोडेर नेप्से माथि जाने आकलन अधिकांश लगानीकर्ताको छ। 

बैंकसँग ९ खर्ब बढीको तरलता (ऋण दिन मिल्ने पैसा) हुनु, ब्याजदरमा क्रमशः कमी आउनु तथा मौद्रिक नीतिले संस्थागत लगानीकर्ताले लिन पाउने सेयरधितो कर्जाको २० करोडको अधिकतम सीमालाई खारेज गरेर जति पनि लिन पाउने व्यवस्था गर्नुले यसपटकको बजार ३२ सयमाथि उक्लिन सहयोग पुग्ने देखिन्छ। 

सेयरबजार जानकारहरु बैंकहरुमा पैसा फालाफालको अवस्थामा बजार बढ्न थालेकै कारण ३२ सयको विन्दु पार गरेर नयाँ उचाइ लिनेमा ढुक्क देखिन्छन्। 

पछिल्लो एक महिनामा ६ सय अंक र २ हप्तामा ४ सय अंकले नेप्से बढिसकेको छ। यो बढाइमा अघिल्लो पटकको पछाडि परेको बैंकिङ क्षेत्र अहिले सबैभन्दा अगाडि छ। 

यो एक महिनामा मात्र बैंकिङ समूहको उपसूचक करिब २ सय अंकले बढिसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .