ad ad

कारोबार


सेयरबजारमा २ वर्षपछि फेरि ठूला खेलाडीको सक्रियता, बढाए सेयर धितो कर्जाको आकार

सेयरबजारमा २ वर्षपछि फेरि ठूला खेलाडीको सक्रियता, बढाए सेयर धितो कर्जाको आकार

सम्झना घिमिरे
असार ५, २०८१ बुधबार २१:१७, काठमाडौँ

धितोपत्रको दोस्रो बजारका सेयर कारोबारीहरूले आफूसँग भएको सेयर धितो राखेर लिने कर्जा बढाएका छन्। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म यस्ता कारोबारीले कुल ८५ अर्ब ९५ करोड रुपैयाँ कर्जा लिएका हुन्। 

गत आर्थिक वर्षको सोही अवधिमा ७४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरूले चालू आवको १० महिनामा १२ प्रतिशतले धेरै कर्जा प्रवाह गरेका हुन्। चालू आवमा भने ठूला सेयर कारोबारीहरूले धमाधम सेयरधितो कर्जा लिँदा समग्रमा यस क्षेत्रमा जाने कर्जा बढेको हो। 

जसमा १ करोडभन्दा माथिको कर्जा प्रवाह मात्रै १८ प्रतिशतले बढेको छ। १ करोडभन्दा बढी कर्जा लिने ठूला कारोबारीले गत आवको वैशाख मसान्तसम्म कुल ४४ अर्ब रुपैयाँ कर्जा लिएकामा चालू आवको सोही अवधिमा ५२ अर्ब कर्जा लिएका छन्। तुलनात्मक रूपमा ठूला सेयर लगानीकर्ताले लैजाने कर्जा प्रवाह १८ प्रतिशतले बढेको छ। 

बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको रकमअनुसार सेयर धितो कर्जाका ऋणीहरूलाई तीन प्रकारमा वर्गीकरण गर्छन्। जसमा १ करोडमाथिको ऋण लिने, ५० लाखमाथिको ऋण लिने र २५ लाखमाथिको ऋण लिनेहरू पर्छन्। 

चालू आवमा अन्य दुई वर्गका कर्जा प्रवाह उति बढ्न सकेको देखिँदैन। तर १ करोडमाथिको कर्जा प्रवाह भने १८ प्रतिशतले बढेको देखिन्छ। 

पछिल्लो ५ वर्षको १० महिनामा प्रवाह भएको सेयर धितो कर्जा 
क्र सं. आर्थिक वर्ष कर्जा रकम (रु १० लाखमा)
२०७६/०७७ ४७३६४.७
२०७७/०७८ ९४३४३.५
२०७८/०७९ ९१४१८.३
२०७९/०८० ७४९३५.१
२०८०/०८१ ८५९५३.२

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट कर्जाको ब्याजदर चालू आवमा घट्दा ठूलो प्रकृतिको कर्जामा वृद्धि भएको बताउँछन्। 

‘ब्याजदर गत वर्षभन्दा चालू आवमा घटेको छ भने बैंक तथा वित्तीय संस्थामा तरलता पनि पर्याप्त छ’, उनले भने, ‘यसले कर्जाको प्रवाहलाई बढाएको हो।’ 

बजारमा प्रवाह भएका ठूला प्रकृतिका सेयर कर्जाको अवस्थाअनुसार सेयरका खेलाडीहरूको बजार प्रवेशलाई आकलन गर्न सकिन्छ।

आर्थिक वर्ष २०७७/७८ को भदौमा बजारमा नेप्से सूचकले ३२ सय को विन्दु छुनुभन्दा ३ महिना अगाडि नै ठूला लगानीकर्ताले ऋण बढाएका थिए। 

सो आवको वैशाख मसान्तसम्म कुल ९४ अर्ब ३४ करोड ऋण प्रवाह हुँदा ठूला कारोबारीले मात्रै ६३ अर्ब रुपैयाँ कर्जा लगेका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा सो वर्ष १०२ प्रतिशतले बढी कर्जा लिएको थियो।

२०७८ वैशाख मसान्तसम्म १०२ प्रतिशतले बढेको यस्तो कर्जा भदौपछि नेप्से ओरालो लागेसँगै निरन्तर घटेको हो। 

समग्रमा आव २०७८/७९ को १० महिनामा आइपुग्दा ठूला लगानीकर्ताले बजारबाट कर्जा लिन २५ प्रतिशतले कम गरिसकेका थिए। यो अवधिमा ठूला लगानीकर्ताले ५५ अर्बको सेयरकर्जा लिएको तथ्यांक राष्ट्र बैंकसँग छ। 

१ करोड रुपैयाँमाथिको सेयर धितो कर्जा
क्र.सं. आर्थिक वर्ष कर्जा रकम (रु १० लाखमा)
२०७६/०७७ २९११४.५
२०७७/०७८ ६३९९०.७
२०७८/०७९ ५५०९३.९
२०७९/०८० ४४०६७.०
२०८०/०८१ ५२८१४.६

त्यसयता बैक तथा वित्तीय संस्थाको उच्च ब्याजदर, घट्दो नेप्से सूचक लगायतले प्रभाव पार्दा ठूला लगानीकर्ता कर्जा लिएर लगानी गर्न उति उत्साहित देखिएनन्। यो वर्ष ठूला लगानीकर्ताले कर्जालाई घटाए पनि समग्रमा भने सेयर धितोमा ९१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

बढेको बजारमा साना लगानीकर्ता आकर्षित भई ऋण लिएर सेयरबजारमा पस्दा ठूला लगानीकर्ता भने कर्जालाई घटाएर बजारबाट नाफा निकाल्न व्यस्त देखिन्थे। 

यस्तै आव २०७९/८० मा कुल ७४ अर्ब ९३ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह हुँदा ठूला लगानीकर्ताले ४४ अर्ब ६ करोड रुपैयाँ कर्जा लिएका थिए। यो अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले कम थियो।

लगातार दुई आर्थिक वर्ष ठूला लगानीकर्ताले बैंक तथा वित्तीय क्षेत्रबाट लिने सेयर धितो कर्जालाई खुम्च्याउँदै आएका थिए। चालू आवमा भने लगानीकर्ता पुनः सेयरकर्जा लिएर बजार पस्न थालेको तथ्यांकले देखाउँछ।

चालू आवको १० महिनामा ८५ अर्ब ९५ करोड रुपैयाँ सेयर धितोकर्जा प्रवाह हुँदा ५२ अर्ब ८१ करोड रुपैयाँ १ करोडभन्दा माथिको कर्जामा प्रवाह भएको छ। अर्थात् कुल प्रवाहित सेयर धितोकर्जाको ६१.४४ प्रतिशत कर्जा ठूला लगानीकर्ताले लगेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .