ad ad

कारोबार


सेयर कारोबारमा बढ्दै छ लगानीकर्ताको उत्साह, यी कम्पनी परे रोजाइमा

सेयर कारोबारमा बढ्दै छ लगानीकर्ताको उत्साह, यी कम्पनी परे रोजाइमा

नेपालखबर
जेठ २८, २०८१ सोमबार १६:८, काठमाडौँ

लगातार तीन कारोबार दिन राताम्मे बनेको बजार सोमबार भने हरियाली बन्यो। 

सामान्य अंकको वृद्धिले हरियो बनेको बजारमा लगानीकर्ताको सक्रियता भने अन्य दिनभन्दा फरक देखिएको हो। 

गत साताको बिहीबार १.९३ अंकले सूचक घट्दा पनि ४ अर्ब ३८ करोडको कारोबार गरेका लगानीकर्ताले यस साताको आइतबार पनि सूचकको बेवास्ता गर्दै कारोबारमा सक्रिय बन्न पुगे। 

फलतः आइतबार ४.५९ अंकले नेप्से सूचक घट्दा पनि लगानीकर्ताले ५ अर्ब १८ करोडको सेयर कारोबार गरे। सोमबार भने बढेको बजारमा उत्साहित बनेका लगानीकर्ताले थप ३१ करोडको कारोबार गरेका छन्। 

सोमबार ८.९० अंकले बढेको बजारमा लगानीकर्ताले ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका हुन्। 

दिनभरको उतारचढावका बीच .९० अंकको वृद्धिसँगै नेप्से सूचक २०८२.०९ अंकमा रोकिँदा ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६ सय १ कित्ता सेयर ७१ हजार ९ सय ४८ पटक खरिदबिक्री भएको छ। 

समग्रमा आज लगानीकर्ताले ५ अर्ब ४९ करोड ६ लाख  ९ हजार ७ सय ८२ रुपैयाँको कारोबार गरेका हुन्। 

तुलनात्मक रुपमा आइतबारभन्दा सोमबार लगानीकर्ताले ३१ करोड रुपैयाँ बढीको सेयर कारोबार गरेका छन्। योसहित गएको तीन कारोबार दिनमा कारोबार रकम भने निरन्तर उकालो लागेको हो।

मौद्रिक नीति सार्वजनिक हुने दिन नजिकिँदै गर्दा नियामक नेपाल राष्ट्र बैंक नीति बनाउनमा व्यस्त हुनथालेको छ। लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको सेयरकर्जाको सीमालाई हटाउनुपर्ने, सेयरकर्जामा लाग्दै आएको जोखिमभारलाई कमगर्ने लगायतका माग सम्बोधन हुने अपेक्षासहित लगानीकर्ता फेरि सेयरबजारमा सक्रिय बन्न थालेका छन्। 

त्यसो त बजेटमार्फत सरकारले जलविद्युत क्षेत्रका प्रसारणलाइन क्षेत्रका पीडितलाई पनि सेयर दिनुपर्ने व्यवस्था गरेपछि जलविद्युत क्षेत्रका लगानीकर्ता बजेटलाई लिएर उत्साहित बन्न पुगेका थिए। 

त्यसयता जलविद्युत कम्पनीहरुको कारोबारमा पनि बढोत्तरी देखिदै आएको छ। सोमबार पनि जलविद्युत क्षेत्रमा सर्वाधिक मूल्य बढाउने कम्पनीहरुमा देखिए। 

सोमबार कारोबारमा आएका कम्पनीमध्ये कुथेली बुखारी सानो जलविद्युत आयोजना र त्रिशूली जलविद्युत कमपनीकोको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो भने पिपुल्स पावर कम्पनी,मैलुंग जलविद्युत कम्पनीको ९.९९ प्रतिशतले सेयरमूल्य बढ्न पुग्यो। 

मूल्यगत रुपमा बजार बढ्नेमा जलविद्युत क्षेत्र अगाडि आए पनि सेयर किन्ने लगानीकर्ताको चाप जलविद्युत कम्पनीसँगै एनआरएन इन्फ्राइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकमा पनि देखियो। लगानीकर्ताले आज एनआरएन इन्फ्राइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकमा ४१ करोड ८७ लाख रुपैयाँको सेयरकारोबार गर्दा माउन्टेन इनर्जीमा २४ करोड ४७ लाख रुपैयाँको कारोबार गरेका हुन्। 

योसँगै कारोबार धेरै हुनेमा तेस्रो नम्बरमा जानकी फाइनान्स छ भने सीईडीबी हाइड्रो चौथो नम्बरमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .